नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको दोस्रो दिन सुरू भएको बन्द सत्रमा देशभरबाट भेला भएका प्रतिनिधिहरूबीच अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेस गर्न व्यस्त थिए।
सोमबार नेकपा माओवादी केन्द्रको महाधिवेशनस्थल प्रज्ञा प्रतिष्ठानबाहिर अध्यक्ष दाहालले पेस गरेको प्रतिवेदन सुनेर ८२ वर्षीय जेष्ठ प्रतिनिधि टेकनाथ न्यौपाने भन्दै थिए, ‘जनवादी केन्द्रीयताको आधारमा चल्नुपर्ने माओवादी पार्टीले बीचमा सही गति लिन सकेन। जनवादी केन्द्रीयताको आधारमा पार्टी चलेन भने यो पार्टी कहिल्यै सुध्रिन सक्दैन। यो महाधिवेशनले गल्तीहरू सुधारेर बाटो बिराएका वैद्य र विप्लवजस्तालाई नेतालाई समेत समेटेर अघि बढ्ने स्थितिको सिर्जना गर्न सक्नुपर्छ। तबमात्र यो बृहत् पार्टीको पुरानो अवस्थामा फर्कन सक्छ।’
महाधिवेशनस्थल अध्यक्ष दाहालमय भइरहेको अवस्थामा उनलाई संगठन कस्तो होला भन्ने चिन्ताले सताएको प्रष्ट देखिन्छ। ‘नयाँ नेतृत्वले सबै वर्गलाई समावेश गर्नेमा आशावादी छु,’ उनले भने।
महाधिवेशनस्थलमा उभिएर प्रतिनिधि र कार्यकर्ताहरू फोटो खिच्न हतारिँदै गरिरहँदा सप्तरीबाट आएकी प्रतिनिधि रुवी कर्ण संगठनभित्र विचारको बहस हुन छाडेको अवस्थामा क्रान्तिका नारा लगाउनुको अर्थ नहुने गुनासो गरिरहेकी थिइन्। ‘यस महाधिवेनले नेतृत्व पुस्तान्तरणका लागि दबाब सिर्जना गर्नुपर्छ,’ उनले भनिन्, ‘कारण अहिले माओवादीको संगठनले सर्वहारा र श्रमजीवी वर्गको हितमा काम गर्ने हैसियत राख्दैन। पार्टीभित्र विचारको बहस हुन छाडेको अवस्थामा क्रान्तिका नारा लगाउनुको अर्थ हुन्छ ? समाजवाद स्थापित गर्नसक्ने नेतृत्व आवश्यक परेको छ।’
०४२ सालदेखि कम्युनिस्ट आन्दोलनमा लागेका काठमाडौंका प्रतिनिधि कृष्णराज सुवेदी यतिखेर माओवादी संगठनको केन्द्रीय सदस्यको दाबेदारी दिन दौडधुप गरिरहेका छन्। ‘०६० सालताका यस संगठनलाई लिएर जनतामा जुन किसिमको अपेक्षा थियो। संसदीय फाँटमा प्रवेश गरेपछि संगठनको छवि त्योभन्दा भिन्न देखियो।
फलस्वरूप जनताको अपेक्षामा ठेग पुगेको जस्तो अनुभव हुनु स्वभाविक हो,’ उनले स्मरण गरे, ‘संसदीय अभ्यासमा निखारता ल्याउन संगठन जसरी लागिपरेको छ। अहिले त्यो निखारता आइसकेको अनुभव गर्न सकिन्छ।
समाजवादी आन्दोलन र राज्य व्यवस्थाको निम्ति यस महाधिवेशनबाट ठोस नीति तय गर्दै नेतृत्व चयन गरेर अघि बढ्ने संगठनको लक्ष्य रहेको छ। पछिल्लो परिस्थितिका कारण पार्टीभित्र अन्योल सिर्जना भएको थियो। अहिले त्यसलाई चिर्दै हार्मी अघि बढ्नुपर्छ।’
डोल्पाकी प्रतिनिधि गोमा विश्वकर्मा सक्षम युवा वर्गको संगठनमा नलागेसम्म पुरानो अवस्थामा माओवादी फर्कन नसक्ने दाबी गर्छिन्। ‘जनयुद्धबाट महिला, दलित र सर्वहारा वर्गको विरासत बोकेर आएको यो पार्टी शान्ति प्रक्रिया हुँदै ०६४ सालसम्म आइपुग्दा ठूलो पार्टीको रूपमा स्थापित भएको थियो, ’ उनले भनिन्, ‘१० वर्षको जनयुद्धलाई संस्थागत विकासको रूपमा स्थापित गर्न नसक्दा संगठन कमजोर हुँदै गएको कुरा स्वीकार्नुपर्छ।
विभिन्न तहमा पुराना अनुहार दोहोरिरहँदा कार्यकर्तालाई दिशानिर्देश गर्न नसकेको अनुभव हामीले गरेका हौं। यो महाधिवेशनबाट ०६४ सालको अवस्था दोहोरिन्छ भन्ने आशा जगाएको छ।’ माओवादी संगठनभित्र पुरुषको तुलनामा महिलाको सहभागिता बराबरी हुनसकेमात्र पाटी मजबुत हुने तर्क उनले गरिन्। ‘संगठन बलियो बनाउन महिला र पुरुषको समान सहभागिता हुनुपर्छ,’ उनले भनिन् , ‘अहिले संगठनमा लागेका सबैले मेहेनत गर्नुपर्नेछ। फेरि कर्णालीको विकासको निम्ति यस संगठनले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। हाम्रो पार्टी, राम्रो पार्टी बनाउनको लागि विगतको सिकाइलाई भुल्नु हुन्न सक्षम युवाहरू यस पार्टीभित्र आवश्यक परिसकेको छ।’
दाङका प्रतिनिधि तुल्सीराम पुनले संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रतिनिधित्व जस्ता राजनीतिक परिवर्तनका मूल कार्यसूची स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको माओवादी संगठन पछिल्लो समय सत्ताको भागबन्डामा खुम्चिएर गुनासो गरे।
‘संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रतिनिधित्वजस्ता राजनीतिक परिवर्तनका मूल कार्यसूची स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको हाम्रो संगठन सत्ताको भागबन्डामा खुम्चिदा कार्यकर्ता र जनतामा निराशा सिर्जना भएको हो,’ उनले भने, ‘यो महाधिवेशनले संविधानलाई दिगो गराउने र देशलाई स्थिरता र दिगो गराउने गतिशील नेतृत्वको अपेक्षा गरेका छौं। पार्टीभित्र सिर्जना भएको अस्थिरताले गर्दा नेतृत्व हाँक्ने व्यक्तिहरू संगठन छाड्न बाध्य पारिएका थिए। उनीहरूलाई फेरि संगठनमा फर्काउने स्थिति सिर्जना गर्न सक्नुपर्छ।’
अर्का प्रतिनिधि वीरेन्द्र बस्नेत ‘संगठन विगठन वा नयाँ विचारसहितको नयाँ पार्टी’ को भावसहित अघि बढ्नुपर्ने तर्क गरे। ‘संगठन विगठन वा नयाँ विचारसहितको नयाँ पार्टीको भावसहित अघि बढ्नुपर्ने स्थिति आएको छ, ’ उनले भने, ‘यो महाधिवेशन माओवादी संगठनका हिसाबले अत्यन्त महत्वपूर्ण रहेको छ।
माओवादी पार्टीका केन्द्रीय नेताहरूले आत्मसमीक्षा गर्नुपर्ने स्थिति आइसकेको छ। अहिले पार्टीले आफ्नो आदर्श, मूल्य, मान्यताका एजेण्डा, जग र कार्यकर्ताका भावनालाई बिर्सिनुहुन्न। संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रतिनिधित्व जस्ता राजनीतिक परिवर्तनका मूल कार्यसूची स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको यो पार्टी पछिल्लो समय सत्ताको भागबन्डामा खुम्चिएर बसेको छ।
आठौं महाधिवेशनमार्फत देश हाँक्ने र जनतालाई लाभ हुने रणनीति र सिद्धान्त तय गरेर माओवादी अघि आउनु जरुरी छ। अरूको सहयोगी शक्तिका रूपमा नभएर एउटा स्वतन्त्र पार्टीको माओवादी जुजारु हुनेमा आशावादी छु।’
रोल्पाका प्रतिनिधि वीरबहादुर खत्री महाधिवेशन आन्तरिक संगठन मजबुत गराउनका साथै राष्ट्रिय राजनीतिका विषयवस्तु, संविधान कार्यान्वयन, जनसरोकारका विषयमा केन्द्रित हुन जरुरी रहेको बताउँछन्। ‘एउटा कालखण्ड र पृष्ठभूमिबाट स्थापित भएकाले माओवादीका अजेन्डा केही क्रान्तिकारी हुनसक्ने भए पनि देशको धरातल र राष्ट्रिय राजनीतिले खोजेको स्पष्ट दिशानिर्देश समात्न सक्नुपर्छ,’ उनले भने, ‘यथार्थभन्दा बढी रूपान्तरणकारी र क्रान्तिकारी देखाउन खोज्दा समाजसँग मेल नखान सक्ने पक्षलाई संगठनका सबैजना सचेत हुनु जरुरी छ।
पार्टीले आफूलाई विचार, राजनीतिक कार्यदिशामा सम्मेलनपछि नयाँ उचाइमा पुर्याउने र भरपर्दो कम्युुनिस्ट शक्तिका रूपमा स्थापित गर्न सकेपनि आगामी दिन राजनीतिक परिवेशलाई छिचोल्न सक्ने र सबै वर्गको नेतृत्वगर्न सक्ने नेतृत्वको खोजी गर्नुपर्ने अवस्था आएको छ।’
काठमाडौंकी प्रतिनिधि अंकिता कंडेल माओवादी संगठनले लामो यात्रा तय गरिरहँदा अलमलिएको गुनासो गरिन्। ‘१० वर्षे जनयुद्धबाट अहिलेको अवस्थामा आउँदासम्म संगठनले आफ्नो विचार संस्थागत गर्न सकेको छैन,’ उनले भनिन्, ‘पितृसत्ता सोच भएकाहरूविरुद्ध संघर्ष गर्दै हाम्रोले पार्टीभित्र र बाहिर महिला अधिकारदेखि विभिन्न जातीय र वर्गका निम्ति लड्दै यहाँसम्म आएका छौं। संगठित भएर अबका दिनमा फेरि जनताको घरदैलोमा पुग्नु जरुरी छ। तत्काल त केही बिग्रिसकेको स्थिति छैन। माओवादीले जनताको विचारको कदर गर्नुपर्छ।’ जुम्लाका प्रतिनिधि डिपी विश्वकर्मा क्रान्तिकारी विचार र नयाँ पार्टी निर्माणको निम्ति अपरिहार्य नेतृत्वको आवश्यक रहेको तर्क गर्छन्।
माओवादी केन्द्र उपत्यका विशेष प्रदेश समिति सदस्य जिपी मैनालीले पार्टीले युवा पुस्तालाई विश्वास गर्नुपर्ने बताउँछन्। नेपाली कांग्रेस, एमालेसहितका राजनीतिक दलमा युवाहरूको प्रतिनिधित्व र सहभागिताले नयाँ आशा र विश्वासको सञ्चार गरेको जनाउँदै मैनालीले पार्टी परम्परागतरूपमा अघि बढ्न नहुने बताउँछन्। ‘युवाहरूको सहभागितालाई पार्टीमा व्यापक गराउन सके त्यसले जनतामा पनि नयाँ आशा र भरोसा जगाउँछ,’ उनले भने,‘यो महाधिवेशनले त्यसतर्फ पहलकदमी लिने विश्वास गरेको छु।’
काठमाडौंकी प्रतिनिधि देवकी पौडेल संगठनभित्र विचारको बहस नहुँदा अलमलका स्थितिबाट पार्टी गुज्रिरहेको बताउँछिन्। ‘पछिल्लो समय पार्टीभित्र अस्थिरताको परिस्थिति सिर्जना भयो,’ उनले भनिन्, ‘जसका कारण संगठन कमजोर हुँदै गएको छ। पार्टीको अजेन्डा र मुद्दाहरूलाई कार्याव्यन गर्नुपर्ने समय आएको छ। संगठनलाई मजबुत बनाउने वा कमजोर भन्ने निर्णय नेतृत्वले गर्ने हुँदा सक्षम नेतृत्व खोज्ने काम हामीले गर्ने हो।
संघीयताको मर्म र विगतका राजनीतिक उपलब्धि संस्थागत गर्न सक्ने नेतृत्व चाहिएको छ।’ पोखराका प्रतिनिधि दीपक तिमिल्सिनाले जनयुद्धको पृष्ठभूमिबाट शान्ति प्रक्रियामा आएलगत्तै पार्टीभित्र संगठनात्मक संरचना र कार्यदिशामा अन्यौलता र अस्पष्टताको स्थिति सिर्जना भएको तर्क गर्छन्।
‘संगठनात्मक संरचना र कार्यदिशामा अन्योलका कारण अहिलेसम्मपनि संगठनभित्र आन्तरिक द्वन्द्व देखिएको छ,’ उनले भनिन्, ‘जनताको हक र हितको संरक्षण गर्छ भनेर लागि परेको यस पार्टीभित्र पछिल्लो समय गल्ती भएका छन्। अबचाँहि जनताको समृद्ध नेपाल, सुखी नेपालीका बनाउने विचारसहित माओवादी संगठन अघि बढ्नुपर्छ।’
प्रकाशित: १३ पुस २०७८ ००:३८ मंगलबार