राजनीति

एमसीसी पास हुनुपर्छ, गठबन्धनमा छलफल गरेरै हुन्छः गृहमन्त्री खाँण

उद्योग बाणिज्य संघ गोरखाको कार्यक्रममा बोल्दै गृहमन्त्री खाँण। तस्बिरः नागरिक

गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी नेपालले प्रस्ताव गरेको बिकास परियोजना भएकाले सदनबाट पास गर्नुपर्ने बताएका छन्।  

‘यो कुनै सैन्य गठबन्धन होईन, नेपालमा खास गरेर विद्युत ट्रान्समिसन र सडक निर्माण, गरिबी निवारण र रोजगारी वृद्धिका लागि एमसीसी नेपाल सरकारले प्रस्ताव गरेको हो’, गृहमन्त्री खाँणले भने। उद्योग बाणिज्य संघ गोरखाको ४६ औँ वार्षिक साधारण सभा एवं १६ औँ अधिवेशन उद्घाटन गर्न शनिबार गोरखा आएका उनले भने, ‘एमसीसी अनुदान हो ऋण होईन, नेपालले सदनबाट पास गर्ने प्रावधान राखेकाले त्यही अनुसार पास गर्नुपर्छ।’  

एमसीसीको बारेमा अमेरिकाले आफूले दिएको सहयोगको सहि सदुपयोग होस् भन्ने चाहेको उनले बताए। एमसीसी अनुमोदनका लागि संसदमा लैजाँदा सरकारमा रहेका गठबन्धन दलहरु बीच भने छलफल हुने उनले बताए।

राष्ट्रिय सभाको निर्वाचनको मिति तोकिएको समयमै गर्न सरकार तयार रहेको बताउँदै उनले भने, ‘स्थानीय तह र आम निर्वाचनका लागि निर्वाचन आयोगले बनाएको कार्यतालिका अनुसार सरकारले समुचित तयारी र प्रबन्ध गर्दै जान्छ।’ स्थानीय तह र आम निर्वाचनको समय भने अझै निर्क्यौल हुन बाँकी रहेको उनले बताए।

गृहमन्त्री  खाँणले नेपालकै पहिलो एक मात्र गोरखकाली रबर उद्योग चलाउन पहल गर्नुपर्ने बताएका छन्। उनले भने, ‘बन्द गोरखकाली रबर उद्योग चलाउनुपर्छ, कसरी यसलाई संचालन गर्न सकिन्छ म विभागीय मन्त्रीहरुसँग सल्लाह गर्छु।’ रबर उद्योग संचालन हुँदा गोरखा जिल्लाको र राज्यको पनि कल्याण हुने उनले बताए। गोरखाको रबर उद्योग २०७२ यता पूर्ण रुपमा बन्द छ। कर्मचारीलाई अनिवार्य अवकास दिएको उद्योग कसरी संचालन गर्ने भन्ने मोडालिटी सरकारसँग छैन।

सरकारले उद्योग धन्दा कलकारखाना चलाउँदा भन्दा ब्यवशायीले चलाउनुपर्नेमा उनले जोड दिए। ‘राज्यले वातावरण बनाउने हो, उद्योग धन्दा कलकारखाना ब्यवशायीले संचालन गर्ने हो’, उनले भने ‘उद्योग ब्यवसायीलाई सुरक्षा दिन राज्य तयार छ।’

उद्योगी ब्यवसायीलाईआर्जन गरेको रकमबाट सामाजिक काममा पनि सहभागी हुन उनले अनुरोध गरे। ‘उद्योग धन्दा र नयाँ ब्यवसाय गर्दै सरकारलाई पनि सहयोग गर्नुहोस्’, उनले भने। कतिपय ठाउँमा प्रशासनले उद्योगी ब्यवसायीलाई सताएको गुनासो आउने गरेको भन्दै उनले उद्योगी ब्यवसायीको सहयोगी बन्न प्रशासनलाई सुझाव दिए। सुरक्षा निकायमा लामो समयै एकै दर्जामा रहेको काम गर्नुपर्दा समस्या भएको बताउँदै उनले सरकारले नयाँ थप सेवा सुविधा ल्याएको र त्यो छिट्टै कार्यान्वयन हुने बताए।

कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष जिवन ज्योती श्रेष्ठले गोरखाको संभावना समस्या र चुनौतिका बारेमा जानकारी गराएका थिए। कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले गोरखामा उद्योगधन्दा कलकारखाना, ब्यापार ब्यवसाय प्रवर्द्धन गर्न राज्यले सघाउने बताए। उद्योग बाणिज्य महासंघका पदाधिकारीसँग उनले भने, ‘गोरखामा पनि ठूला उद्योग ब्यापार ब्यवसाय संचालनका लागि लगानीकर्ता भित्र्याउन पहल गरिदिनुहोस, के सहयोग गर्नुपर्छ हामी तयार छौँ।’ उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल लगायतको उपस्थिती रहेको थियो।

कार्यक्रममा सहभागी हुन हेलिकप्टरबाट गृहमन्त्री खाँड गोरखा पुगेका थिए। उनले नेपाली कांग्रेस गोरखाको पार्टी कार्यालयमा कार्यकर्तासँग पनि भेटघाट गरेका जिल्ला सचिव किशोरजंग थापाले बताए।

प्रकाशित: १० पुस २०७८ ०९:४४ शनिबार