राजनीति

प्रधानमन्त्रीमाथि नैतिक प्रश्न उठाएका महासमिति सदस्य बजगाइँद्वारा निवेदन फिर्ताको घोषणा

प्रधानमन्त्री शेरबहादुर देउवामाथि नैतिक प्रश्न उठाएका नेपाली काँग्रेसका महासमिति सदस्य राजेन्द्र बजगाइँले निवेदन फिर्ताको घोषणा गरेका छन्।

२०७५ चैतमा लिखित रुपमा सभापति देउवामाथि नैतिक प्रश्न उठाएका गोरखा क्षेत्र नं. १ का महासमिति सदस्य बजगाइँले आफूले उठाएको लिखित प्रश्नको निवेदन फिर्ता लिएको घोषणा गरेका हुन्।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई पत्र लेखेर उनले आफ्नो निवेदन फिर्ता लिएको जानकारी दिए। उनले बदलिएको परिस्थितिसँगै आफ्नो निवेदनको औचित्यसमेत सकिएको मनन गर्दै निवेदन फिर्ता लिएको जनाएका हुन्।

‘बदलिँदो परिस्थितिमा हामीले विघटित संसददेखि पुनर्स्थापित संसदमात्र नभएर संवैधानिक पुनर्व्याख्यामा परमादेशबाटै प्रधानमन्त्री पाइसक्यौं जसले आफ्नो नेतृत्वमा भारी पार्टी अभिमत प्राप्त गरिसक्नु भएको छ, यसकारण पनि मैले मेरो निवेदनको औचित्य समाप्त भएको महसुस गरेँ’, उनले निवेदन फिर्ता लिन बुझाएको पत्रमा भनिएको छ, ‘श्रद्धेय सभापति तथा सम्माननीय प्रधानमन्त्रीको पुनरागमनलाई पार्टीका साथीहरुले परिपक्व नेतृत्वको आवश्यकता ठान्नु भएको भन्ने बुझ्दै उहाँहरुसँग विगत २५ वर्ष राजनीतिक सहकार्य व्यतित गरेको स्मरण गर्दै उक्त निवेदन फिर्ता लिने घोषणा गर्दछु।’

प्रकाशित: ९ पुस २०७८ ११:५४ शुक्रबार

प्रधानमन्त्री शेरबहादुर देउवा निवेदन फिर्ताको घोषणा