राजनीति

एमसिसीको बारेमा केपी ओलीले सबै कुरा बिगारेः नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमसिसीको बारेमा केपी ओलीले सबै कुरा बिगारेको बताएका छन्।

नेता नेपालले बिना कुनै सल्लाह केपी ओलीले अनेक प्रस्ताव ल्याएकाले अहिले समस्या भइरहेको आरोप समेत लगाए। पूर्व प्रधानमन्त्री केपी ओलीले भ्रम सिर्जना गरेको आरोप लगाउँदै उनले केपी ओलीको सरकारमा हुँदा धेरै कुरा बिगारिसकेकाले सपार्न पनि समय लागिरहेको बताए।

रौतहटको वृन्दावन नगरपालिका ५ नरकटिमा नवनिर्मित स्वास्थ्य चौकी भवनको बुधबार उद्घाटनको क्रममा नेता नेपालले उक्त कुरा बताउँदै नेपाल कुनै पनि सैन्य गठबन्धनमा लाग्न नहुने स्पष्ट पारे।  

देशमा एमसिसिलाई पारित गर्ने र नगर्ने भन्ने सन्दर्भमा बहस चलिरहेको समयमा नेता नेपालले कुनै पनि किसिमको सैन्य गठबन्धनमा नेपाल सहभागी नहुने, कुनै किसिमको सुरक्षा रणनीतिको कुनै केन्द्रमा नेपाल सहभागी नहुने र नेपाल आफ्नो कुनै पनि छिमेकी विरुद्धमा हुने गतिविधिमा सहभागी नहुने स्पष्ट शब्दमा उल्लेख गरेका छन्।

नेपालको निर्माण, रोजगारी र अन्य अधिकारमा नेपालको स्वयं अधिकार हुने भएकोले नेपालीहरुले नै निर्णय गर्न सक्ने हुनाले एमसिसिको बारेमा पार्टी र सरकारमा छलफल भइरहेको उनको भनाइ छ।

भारत, चीन, युरोप र अमेरिकालाई चित्त बुझ्ने गरी काम गर्नु परिरहेको बताउँदै नेता नेपालले सबैभन्दा बढी नेपालीलाई चित्त बुझ्ने किसिमले काम गर्नुपर्नेमा जोड दिए। रौतहटको स्थानीय बज्जिका मातृभाषामा बोल्दै नेता नेपालले पाँच पार्टीको गठबन्धनको सरकार रहेको र पाँच पार्टीको सरसल्लाहमा काम भइरहेको बताए। 

प्रकाशित: ७ पुस २०७८ १३:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App