जनस्तरबाटै व्यापक विरोध भईरहँदा पनि मुख्य राजनीतिक दलहरुले पारित गर्न खोजेको भन्दै उदयपुरमा अमेरिकन परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)’ विरुद्ध मंगलबार बृहत प्रदर्शन भएको छ। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लगायत ६ वटा राजनीतिक दलहरुको संयुक्त आयोजनामा विरोध प्रदर्शन भएको हो।
विप्लव नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल) मोहन वैद्य (किरण) नेतृत्वको नेकपा (क्रान्तिकारी), विश्वभक्त दुलाल (आहुति) नेतृत्वको नेपाल कम्युनिष्ट वैज्ञानिक समाजवादी र सिपी मैनाली नेतृत्वको नेकपा (माले) को संयुक्त आयोजनामा विरोध कार्यक्रम भएको हो। दिउँसो १ः०० बजे गाईघाट लोकतान्त्रिक चोकबाट निस्केको विरोध र्यालीले एमसीसी खारेजीको बिभिन्न नारा लगाउँदै बजार परिक्रमा गरी पुनः लोकतान्त्रिक चोकमै पुगेर कोणसभामा परिणत भएको थियो।
कोणसभामा बोल्दै विप्लव नेकपाका जिल्ला सेक्रेटरी लक्ष्मण पौड्यालले एमसीसी राष्ट्रघाती परियोजना भएकाले कुनै हालतमा पारित हुन नहुने बताए। त्यसका लागि देशव्यापी जनमत तयार गर्ने अभियानमा राजनीतिक दलहरु लाग्नुपर्नेमा जोड दिँदै एमसीसी अमेरिकी साम्राज्यवादको ज्युँदो नमूना भएको बताए। पौड्यालले एमसीसी परियोजना सम्झौता भए नेपालको संविधान अमेरिकाको नियन्त्रणमा पुग्ने खतरा रहेको बताए।
साम्राज्यवादी अमेरिकाले एमसीसी सम्झौता लागू गरेर नेपालमा समानान्तर सरकार सञ्चालन गर्न खोजेको खतरा औंल्याउँदै अमेरिकाको नाममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रणनीति बमोजिम परियोजना अघि सारिएको आशंका गरे। जनताले देशव्यापी विरोध गर्नुका बाबजुद पनि काँग्रेस र एमालेले संसदबाट यो सम्झौता पारित गराएरै छाड्ने षड्यन्त्र गरिरहेको भन्दै उनले त्यसको भण्डाफोर गर्न देशभर सचेतना अभियान आयोजना गरिरहेको बताए।
कार्यक्रममा नेकपा (क्रान्तिकारी) का केन्द्रीय सदस्य मोहनसिंह तामाङ, वैज्ञानिक समाजवादीका केन्द्रीय सदस्य गोकुल चामलिङ, जनगणतान्त्रिक मोर्चाका संयोजक लिलबहादुर विश्वकर्मालगायतले एमसीसी खारेज गर्नुको बिकल्प नभएको प्रष्ट्याए। उनीहरुले एमसीसीको अलसी नियत देश र जनताप्रति गम्भीर धोका भएकाले त्यसविरुद्धमा आफूहरुले देशव्यापी आन्दोलनको ज्वारभाटा फैलाउने चेतावनी दिएका थिए।
कार्यक्रमका वक्ताहरुले एमसीसी पास हुन नदिन आयोजित राष्ट्रिय स्वाधीनताको आन्दोलनमा एकताबद्ध हुन सम्पूर्ण देशभक्त, प्रगतिशील, शिक्षक, बुद्धिजीवि, विद्यार्थी, महिला र श्रमजीवि स्वाधिन नेपाली जनतालाई आव्हान गरेका थिए। कार्यक्रममा पार्टी कार्यकर्ता, युवा, महिला, मजदुर, अधिकारकर्मी र नागरिक समाजको उल्लेख्य सहभागिता रहेको थियो।
प्रकाशित: ६ पुस २०७८ १४:४१ मंगलबार