सङ्घीय सरकारले कोभिड–१९ विरुद्धको खोप प्रदान गर्न राखेको प्रतिबद्धतालाई लक्षित वर्गसमक्ष पुर्याउन प्रदेश सरकारका मुख्यमन्त्रीहरूले खोप अभियानलाई प्रभावकारीरूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
कोभिड–१९ विरुद्धको विशेष खोप अभियानबारे प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज सिंहदरबारमा भएको प्रदेश सरकारका मुख्यमन्त्रीसँगको भर्चुअल अन्तरक्रियामा मुख्यमन्त्रीले आवश्यकताअनुसार सङ्घीय सरकारले प्रदेशमा खोप पर्याप्त मात्रामा पठाएको र त्यसका लागि चाहिने जनशक्तिको चाँजोपाजो पनि गरिएकाले चैत मसान्तभित्र सबै नागरिकलाई खोप लगाउने घोषित लक्ष्यलाई पूरा गर्न सक्रियतापूर्वक लाग्ने विश्वास दिलाए।
साथै उनीहरुले खोप अभियानलाई आवश्यक खोप तथा अपुग जनशक्ति र स्रोत साधनको व्यवस्थापनमा सहजीकरण गरिदिन पनि सङ्घीय सरकारलाई अनुरोध गरे।
प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले खोप अभियानलाई सार्थक बनाउन प्रदेश सरकारले आवश्यक जनशक्ति र स्रोत साधन जुटाएर पूर्णक्षमताका साथ दैनिक खोप लगाइरहेको बताए। उनले प्रदेश नं १ मा ५३ प्रतिशत पहिलो मात्रा र ४८ प्रतिशतलाई पूर्णमात्राको खोप लगाइएको जानकारी दिए।
मुख्यमन्त्री राईले खुला सीमा भएकाले प्रदेशमा महामारी बढ्नसक्ने जोखिमलाई मध्यनजर गरी आवश्यक जनशक्ति तैनाथ गरी सङ्घीय सरकारले राखेको लक्ष्यलाई पूरा गर्न सम्पूर्ण जनशक्ति तदारुकताका साथ लाग्ने विश्वास दिलाए।
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले बृहत्रूपमा खोप कार्यक्रमलाई कसरी अघि बढाउन सकिन्छ भनेर प्रदेश–२ प्रभावकारीरूपमा लागेको बताए। उनले प्रदेश–२ मा ४१.५ प्रतिशतले पहिलो मात्रा र ३३.५ प्रतिशतले पूर्ण मात्राको खोप लगाएको जानकारी दिए।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले सङ्घीय सरकारले सहज तरिकाले कोभिड विरुद्धको खोप उपलब्धता गराएकाले घोषित लक्ष्यमा पुग्न थप खोप लगाउने कार्यलाई तीव्रताका साथ अघि बढाइने बताए। उनले गण्डकी प्रदेशमा हालसम्म ८८.४ प्रतिशतले पहिलो मात्रा र ६६.२ प्रतिशतले पूर्णमात्रामा खोप लगाइसकेको जानकारी दिए।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो प्रदेशमा कूल जनसङख्याको ७७ प्रतिशतले कोभिड विरुद्धको पहिलो मात्रा र ४० प्रतिशतले पूर्ण मात्रामा खोप लगाएको जानकारी दिए। उनले अहिले दैनिक ४५ हजारले खोप लगाइरहेको र आगामी दिनमा थप ३४ लाख मात्रा खोप आवश्यक भएको बताए। प्रदेशमा पर्याप्त मात्रामा खोप आइरहेकाले चैतसम्मको लक्ष्यमा पुग्न कुनै समस्या नहुने बताए।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री प्रदीपकुमार कटुवालले बागमती प्रदेशमा ६० प्रतिशत मात्रा पूर्णखोप लगाइसकेको जानकारी दिए। उनले खोप अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीलाई प्रोत्साहन र जोखिम भत्ता उपलब्ध गराउने कार्यक्रम ल्याउन जरुरी भएको बताए।
सङ्घीय सरकारले पुस मसान्तसम्म ६६ प्रतिशत र चैत मसान्तभित्र शतप्रतिशत जनसङ्ख्यालाई खोप लगाइसक्ने लक्ष्य लिएको छ।
मुख्यसचिव शङ्करदास बैरागीले कोभिड महामारी नियन्त्रण गर्ने एक मात्र उपाय कोभिड विरुद्धको खोप भएकाले आम नागरिकलाई पूर्णमात्रामा खोप लगाउने कार्यमा सक्रियतापूर्वक लाग्न सरोकारवाला निकायलाई आग्रह गरे। उनले कोभिडको नयाँ भेरियन्ट देखा परेकाले यसबाट बच्न खोप अभियानलाई प्रभावकारी बनाइनुको विकल्प नभएको बताए।
हाल मुलुकमा ९३ लाख खोप मौज्दात रहेको छ। कूल जनसङ्ख्याको ६० प्रतिशतले पहिलो र ४५ प्रतिशतले पूर्णमात्रामा खोप लगाइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले जनाएको छ। मन्त्रालयका सचिव रोशन पोखरेलले असोजसम्म ३३ र पुस मसान्तसम्म ६६ प्रतिशत लक्ष्यमा पुग्नेगरी खोप अभियान सञ्चालन भइरहेको तथा चैत मसान्तसम्म सबै नागरिकलाई खोप लगाइसक्ने सरकारी लक्ष्यलाई सार्थक तुल्याउन सरोकारवाला निकाय सक्रियपूर्वक लाग्नुपर्नेमा जोड दिए।
उनले औसत दैनिक दुई लाख १४ हजारलाई खोप लगाउने लक्ष्य रहेकामा अहिले दैनिक दुई लाख पाँच हजारलाई खोप लगाइरहेको जानकारी दिए।
प्रकाशित: ५ पुस २०७८ १४:५१ सोमबार