राजनीति

कांग्रेस उपसभापतिको मतगणनाः १३०० मत गन्दा खड्का र गुरुङको अग्रता

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानअन्तर्गत उपसभापति पदको मतगणना जारी छ। मतगणना पार्टी केन्द्रीय कार्यालयमा आज साँझ ६ः१५ बजेदेखि सुरु भएको हो।

राति केहीबेर अघिसम्म एक हजार ३०० मत गन्दा उपसभापतिका उम्मेदवार पूर्णबहादुर खड्काले ५७८, धनराज गुरुङले ५६२, विजयकुमार गच्छदारले ५१३, डा चन्द्र भण्डारीले ५०४, सुजाता कोइरालाले १८०, महेश आचार्यले १२३ र दिव्येश्वरी शाहले ३५ मत प्राप्त गरेको पार्टीको केन्द्रीय निर्वाचन समिति सदस्य सीताराम केसीले जानकारी दिए। मतगणना तीन स्थानमा गरिएको छ।

सोमबार भएको मतदानमा उपसभापति दुई (२) पदका लागि पार्टीका नेता गच्छदार, खड्का, आचार्य, कोइराला, भण्डारी, गुरुङ र शाहले उम्मेदवारी दिएका थिए। जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए।

प्रकाशित: २९ मंसिर २०७८ १५:५५ बुधबार

नेपाली काँग्रेस