राजनीति

प्रचण्ड र माधव नेपाल अस्थिरताका संवाहकः ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई अस्थिरताको संवाहकको संज्ञा दिएका छन्।

अध्यक्ष ओलीले प्रचण्ड र नेपालकै कारण मुलुक स्थिरता र स्थायित्वतर्फ केन्द्रित हुन नसकेको दावी समेत गरे। ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा बुधबार आयोजित पार्टीका मनोनित केन्द्रित सदस्यहरुको सपथग्रहण कार्यक्रममा बोल्दै उनले कतिपय बाह्य शक्तिले मुलुकमा नियन्त्रित अस्थिरता मच्चाउन क्रियाशील रहेको र त्यसको संवाहक शक्तिको रुपमा भने प्रचण्ड र नेपालले काम गरिरहेको आरोप लगाए।  

अध्यक्ष ओलीले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने यस्ता तत्वहरुसँग एकता गरेर जाने अवस्था नरहेको पनि बताए। उनले उनीहरुको कनेक्सन कहाँ छ? भन्ने कुरा पनि आफूहरुलाई थाहा भएको बताए।  

अध्यक्ष ओलीले माओवादीले जनयुद्ध भनेर मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम विगतमा पनि गरेको जिकिर गरे। उनले भने, ‘अहिले राष्ट्र दुई ध्रुवमा विभाजित हुँदै गएको छ। यसलाई अलि समन्वयात्मक ढंगले सुव्यवस्था, सुशासन र समृद्धि तर्फका हाम्रा प्रयासहरुमा सिंगो देश केन्द्रित हुनु पर्दथ्यो। स्थिरता र स्थायित्वतर्फ सिंगो देश केन्द्रित हुनु पर्दथ्यो। किनभने अस्थिरता मच्चाउने खोज्ने शक्तिहरु क्रियाशील छन्।’

अध्यक्ष ओलीले प्रचण्डले सेयर बजार ध्वस्त बनाउने गरी अभिव्यक्ति दिँदा पनि कोही नबोलेको भन्दै आपत्ति जनाए। उनले सेयरवालाहरुले चन्दा नदिएपछि उनीहरुलाई ध्वस्त बनाउने गरी प्रचण्डले सो अभिव्यक्ति दिएको अध्यक्ष ओलीको गम्भिर आरोप छ। सेयर लगानीकर्ता र सामान्य जनताको लगानी जे सुकैहोस् तर देशलाई बर्बाद पार्ने काममा प्रचण्डहरु लगातार लागि रहँदा पनि कसैले विरोध समेत नगरेको उनले बताए। 

प्रकाशित: २९ मंसिर २०७८ ०८:३० बुधबार

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)