राजनीति

संसद् अवरोध हटाउन माओवादीले पहल गर्ने

नेकपा (माओवादी केन्द्र)ले सङ्घीय संसद्को गत्यावरोध हटाउन विशेष पहल गर्ने भएको छ। सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले संसद्मा लामो समयसम्म अवरोध हुँदा महत्वपूर्ण विधेयकलगायत जनजीविकासँग जोडिएका विषय अगाडि बढ्न नसकेकाले निकासका लागि सकारात्मक पहल गर्ने निर्णय गरेको हो।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसद्को अघिल्लो बैठक लगातार अवरोध गरेका कारण महत्वपूर्ण विधेयक अगाडि बढ्न सकेको थिएन। बैठकमा पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समसामयिक राजनीतिक अवस्था र सङ्घीय संसद्को बैठकमा पार्टीका तर्फबाट खेल्नुपर्ने भूमिकाको बारेमा निर्देशन दिएका थिए।

अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार बैठकमा अध्यक्ष दाहालले सङ्घीय संसद्को बैठकमा प्रभावकारी भूमिका खेल्न र जनताको पक्षमा दह्रोसँग उभिन निर्देशन दिए। यस्तै बैठकले राष्ट्रियसभा दलको प्रमुख सचेतकमा गोपी अछामीलाई चयन गरेको छ। त्यस्तै, सचेतकमा गंगा बेल्वासे र सचिवमा रामनारायण बिडारीलाई चयन गरेको छ। बैठकले अध्यक्ष प्रचण्डको नेतृत्वमा २१ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। बोर्डमा प्रतिनिधिसभा र राष्ट्रियसभाका प्रमुख सचेतक, सचेतकलगायत रहेका छन्।

प्रकाशित: २८ मंसिर २०७८ ०८:०८ मंगलबार

नेकपा (माओवादी केन्द्र)