राजनीति

एमालेको केन्द्रीय कमिटी बैठक १ बजे बस्दै

नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आज भक्तपुरमा बस्ने भएको छ। एमालेको दशौँ महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक आज दिउँसो १ बजे जर्मन हाउस हस्पिटालिटी गठ्ठाघर भक्तपुरमा बस्ने भएको हो।

बैठकमा १५ वटा कार्यसूचीमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

बैठकमा बाँकी केन्द्रीय सदस्यको शपथग्रहण, महाधिवेशनको समीक्षा,केन्द्रीय कमिटीमा सदस्यको मनोनयन, पोलिटब्युरो गठन, स्थायी कमिटीको गठन,केन्द्रीय सल्लाहकार परिषद् गठन,कार्य विभाजन र प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन हुने उनले जानकारी दिए।

एमालेको जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण,विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि,केन्द्रीय कार्यालय व्यवस्थापन,महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरियताक्रम निर्धारण र जनसङ्गठनको सुदृढीकरण अभियान पनि बैठकका एजेण्डा रहेका छन्।

आज बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बस्ने कार्यतालिका रहे पनि त्यसलाई १ बजेका लागि सारेर त्यसअघि ११ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सचिवालय बैठक बस्ने भएको तामाङले जानकारी दिए।

सचिवालय बैठकले केन्द्रीय कमिटीमा लैजाने एजेण्डाको बारेमा छलफल गर्ने भएको छ। बैठक भोलिसम्म बस्ने कार्यतालिका रहेको छ।

प्रकाशित: २५ मंसिर २०७८ ०३:५७ शनिबार

केन्द्रीय कमिटीको बैठक एमालेको दशौँ महाधिवेशनपछि दोस्रो केन्द्रीय कमिटी बैठक