राजनीति

कांग्रेस महाधिवेशनः केन्द्रीय सदस्यमा पोखरेलको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका युवा नेता सुवासकुमार पोखरेलले १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

कांग्रेस महासमिति सदस्यसमेत रहेका पोखरेलले केन्द्रीय सदस्य पदमा आफूलाई मतदान गर्न महाधिवेशन प्रतिनिधिहरूसँग अनुरोध गरेका छन्।

पोखरेल संस्थापनइतर शेखर कोइराला निकट मानिन्छन्। नेपाली कांग्रेस खोटाङको पूर्व पार्टी सभापतिसमेत रहेका पोखरेल वाकशक्ति, प्रखर र प्रष्ट वक्ता हुन्।

२०२७ सालमा खोटाङको खार्पा (हाल रावावेंसी गाउँपालिका) मा जन्मिएका पोखरेल १४ औँ महाधिवेशअन्तर्गत भर्खरै सम्पन्न सातौं जिल्ला अधिवेशनबाट अत्यधिक मतसहित महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन्।

नेपालको आर्थिक सामाजिक रूपान्तरणको लागि लोकतान्त्रिक समाजवादी चिन्तक विश्वेश्वरप्रसाद कोइरालाकै नेपाली सामाजिक आर्थिक विकासको मोडेल नै पोखरेलको विकासको खाका हो।

‘म परिवर्तन र विकासको संवाहक हुन चाहन्छु,' नागरिकसँगको कुराकानीमा पोखरेलले भने, 'हामीलाई सुदृढ, दूरदर्शी र जनताको भावना बुझ्ने विकासप्रेमी नेतृत्व चाहिएको छ। जसले राजनीतिलाई कहिल्यै पेशा नबनाओस्। म राजनीति गर्नेहरुले नै थुपारेका अपूरा वाचाले गर्दा राजनीति फोहोरी खेल हो भन्ने द्वेषवादी सोचाइलाई हटाउन चाहन्छु।’

'म समाजवादी कार्यक्रमले मात्र अधिक नेपालीको हीत गर्दछ भन्ने कुरामा दृढ छु। केही धनाड्यले मात्र लाभ पाउने पक्षको नितिको म घोर विरोध गर्दछु। राज्यको भूमिका भनेकै संपूर्ण जनतालाई बराबरी अवसर प्रदान गर्नु हो,' उनले भने।

प्रकाशित: २३ मंसिर २०७८ ०५:५४ बिहीबार