राजनीति

‘म ठूलो हुँ’ भन्ने भावना नराख्न नवनिर्वाचित नेतृत्वलाई आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले ‘म ठूलो हुँ’ भन्ने भाव नराख्न पार्टीका नवनिर्वाचित नेतृत्वलाई आग्रह गरेका छन्।

आइतबार राजेन्द्र लिङदेन नेतृत्वको नवनिर्वाचित केन्द्रीय सदस्यहरुको सपथ तथा प्रमाणपत्र वितरण समारोहमा बोल्दै निवर्तमान अध्यक्ष लोहनीले नेता हुने बित्तिकै ‘म ठूलो भएँ’ भन्ने भावना पाल्न नहुने बताएका हुन्।उनले पार्टीको विधि, पद्धति, दृष्टिकोण र दर्शनमा बाँधिएर पार्टीलाई मुलुक हाँक्न सक्ने बनाउन पार्टीभित्र सबैले हातेमालो गएर अघि बढनुपर्ने आवश्यक्ता समेत औंल्याए।

निवर्तमान अध्यक्ष लोहनीले एक वर्षभित्र आवधिक निर्वाचन हुने र त्यसमा आफ्नो पार्टीले सकेसम्म सरकार बनाउने, नभएपनि सशक्त प्रतिपक्षको रुपमा उपस्थिति जनाउने गरी देशव्यापी रुपमा जागरण अभियान संचालन गर्न पनि पार्टीको नयाँ नेतृत्वलाई सुझाव दिए। उनले नयाँ नेतृत्वले पार्टीका अग्रजहरुको सम्मान गर्दै अघि बढने विश्वास समेत व्यक्त गरे।

निवर्तमान अध्यक्ष लोहनीले भने, ‘हाम्रो उद्देश्य भनेको यो पार्टीलाई बनाउनु हो। यो पार्टीलाई राष्ट्रको एउटा अग्रणी शक्तिको रुपमा नेपालको रुपान्तरण गर्ने शक्तिको रुपमा स्थापित गर्नु हो। त्यो काम गर्नका लागि हामीहरु सबैले अव हातमा हात मिलाएर एक भएर हामीहरु सबैले नयाँ नेतृत्वलाई बल दिने, नयाँ नेतृत्वलाई साथ दिने र नयाँ नेतृत्वलाई यो काममा सदासर्वदा शुभेच्छा दिने काम हामीहरुले गर्नु पर्दछ।’

निवर्तमान अध्यक्ष लोहनीले राप्रपालाई मुलुकको भरपर्दो प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित गराउँदै अघि बढनुपर्ने आवश्यकतामा पनि जोड दिए।

प्रकाशित: १९ मंसिर २०७८ ११:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App