राजनीति

कांग्रेस प्रदेश १ नेतृत्व चयनका लागि मतदान सुरू

मतदानमा ढिलाई भएपछि निर्वाचन स्थलमा लागेको भीड। तस्बिरः विनोद/नागरिक

नेपाली कांग्रेस प्रदेश १ समितिको पदाधिकारी चयनका लागि मतदान सुरू भएको छ। विराटनगर–२ स्थित शंकरपुरको मैदानमा शनिबार दिउँसो २ बजेदेखि मतदान सुरू भएको हो। शनिबार विहानैदेखि मतदान हुने भनेर प्रतिनिधिहरू मतदान स्थलमा जम्मा भए पनि मतदान दिउँसोदेखि मात्रै सुरू भएको हो।

मतपत्रमा उम्मेदवारको नाम छुटेपछि मतदानमा ढिलाई भएको हो। मतपत्रमा इलामबाट सदस्यमा उठेका श्याम खड्की, शान्तिकला तामाङ र जीवन नेपालीको नाम छुटेको थियो। छुटेको नाम समावेश गरेपछि दिउँसोबाट मतदान सुरू भएको हो।

नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा डा शेखर कोइराला पक्षका गुरुराज घिमिरे र कृष्ण सिटौला पक्षका उद्वव थापा चुनावी प्रतिस्पर्धामा छन्। यस्तै उपसभापतिमा गोविन्द ढुंगाना, टंक राई, विश्वनाथ रिजाल र रमेशजंग रायमाझी प्रतिस्पर्धामा छन्। यस्तै महामन्त्रीमा दिपेन श्रेष्ठ, भूपेन्द्र राई, उमेश थापा र  पदमसुन्दर पालुङ्गा छन्। सह महामन्त्रीमा प्रमिला गच्छदार, मानबहादुर लिम्बु, अन्जना ताम्ली, रोहित साह, सुभचन्द्र राई, सीता कार्की, वीरकाजी राई, विनोदकुमार बस्नेत, खड्गबहादुर फागो र इन्दीरा थापा छिन्।

नेपाली कांग्रेसको प्रदेश अधिवेशनमा कृष्णप्रसाद सिटौला समूहका उद्वव थापालाई संस्थापन पक्षको सहयोग रहेको छ। यता घिमिरेलाई भने संस्थापन इतर रामचन्द्र पौडेल र डा शेखर कोइरालाको समर्थन छ। प्रदेश १ मा संस्थापन पक्ष भन्दा संस्थापन इतर पक्ष नै सवल देखिएको छ। त्यसो त प्रदेश १ मा जिल्लागत रुपमा हेर्ने हो भने संस्थापन पक्ष नै अगाडि देखिएको छ।

संस्थापन पक्षले प्रदेशका ७ वटा जिल्लामा सभापति जित्न सफल भएको छ। पौडेल कोइराला पक्षले ६ वटा र सिटौला पक्षले एउटा जिल्लामा सभापति जितेको छ। संस्थापन पक्षले ताप्लेजुङ, पाँचथर, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, इलाम र धनकुटा जिल्लामा सभापति जितेको छ। यस्तै पौडेल कोइराला पक्षले तेह्रथुम, भोजपुर, संखुवासभा, खोटाङ, सुनसरी र मोरङमा जिल्ला सभापति जितेको छ।

यस्तै सिटौला पक्षले झापामा जिल्ला सभापति जितेको छ। सभापतिमा देउवा पक्षको अधिकाँश पहाडी जिल्ला रहेका कारण ती जिल्लामा प्रदेश र केन्द्रीय प्रतिनिधि थोरै रहेको नेताहरूको विश्लेषण छ। यता प्रदेश १ को झापा, मोरङ र सुनसरीमा पौडेल–कोइराला पक्षले धेरै प्रतिनिधि जितेका कारण पौडेल कोइराला पक्षले नै प्रदेशको सभापतिमा बाजी मार्ने नेताहरूको दाबी छ।

नेताहरूका अनुसार प्रदेश १ मा करिब १ हजार ७ सय ७० प्रतिनिधिहरू रहेकोमा पौडेल कोइराला पक्षसँग १ हजार हाराहारी र पौडेल सिटौला पक्षसँग ८ सय हाराहारी प्रतिनिधि छन्। नेपाली कांग्रेस प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालाले दुबै पक्ष प्रतिस्पर्धात्मक अवस्थामा रहेको बताए। उनले भने, ‘कुन पक्षमा कति प्रतिनिधि छन् भन्ने स्पष्ट लेखाजोखा नभए पनि दुबै पक्षबीच कडा प्रतिस्पर्धा हुने निश्चित छ।’

नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनमा प्रदेश नम्बर १ का १४ जिल्लाका २८ संघीय निर्वाचन क्षेत्रका क्षेत्रीय अध्यक्ष र संघीय महाधिवेशन प्रतिनिधिसहित २५ जनाका दारले ७ सयजना महाधिवेशन प्रतिनिधि, ५६ प्रदेश निर्वाचन क्षेत्रबाट १७ जनाका दरले प्रदेश क्षेत्रका क्षेत्रीय अध्यक्षसहितका प्रदेश अधिवेशन प्रतिनिधि गरी जम्मा ९५२ जना र यस प्रदेशका १९ जना कांग्रेसका केन्द्रीय सदस्यहरुका साथै भातृ संस्था र सुभेच्छुक संस्थाबाट समेत प्रतिनिधित्व हुने गरी प्रदेश अधिवेशनका लागि मतदाता छन्।

प्रकाशित: १८ मंसिर २०७८ ०९:२१ शनिबार

प्रदेश १ नेपाली कांग्रेस पदाधिकारी चयन