राजनीति

देशको समृद्धिका लागि हामी चिन्तित छौंः कृषिमन्त्री यादव

कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्र राय यादवले कृषि क्षेत्रको उत्पादनबाट मुलुकलाई आत्मनिर्भर बनाउने संकल्प पूरा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। कृषि पत्रकार महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले मुलुकलाई कृषि क्षेत्रको उत्पादनमा बढावा गरी समृद्ध बनाउने अभियानमा योगदान पुर्याउन सम्बन्धित सबै पक्षलाई आग्रह समेत गरे।

‘हामी चिन्तित छौं। हामीहरु यो देशको समृद्धिका लागि, उत्पादन वृद्धिका लागि र आत्म निर्भर बनाउनका लागि सरकारको जुन संकल्प छ।’ मन्त्री यादवले भने, ‘त्यसलाई पूरा गराउनका लागि हामी अगाडि बढाउँछौं  त्यसमा सबैको सहयोगको आवश्यक्ता छ।’

मन्त्री यादवले कृषिमा उत्पादन बढाउनका लागि सरकारले सबै प्रदेशमा माटो परीक्षणको लागि आवश्यक व्यवस्था मिलाउने कामलाई अघि बढाएको पनि स्मरण गराए। उनले कृषि उत्पादन बढाउनका लागि सरकारले प्राङगारिक मलको उत्पादन बढाउन चाहेको स्पष्ट पारे।

मन्त्री यादवले कृषि क्षेत्र नै मुलुकको समृद्धिको आधार भएको भन्दै यसको विकासका लागि युवाहरुलाई आकर्षित गर्न सरकार विभिन्न कार्यक्रम अगाडि बढाउन लागि परेको बताए। उनले नेपालमा नयाँ विऊविजनको आवश्यक व्यवस्था मिलाउने अवस्था अझै बनिनसकेको स्विकार गरे।

प्रकाशित: १५ मंसिर २०७८ ११:५४ बुधबार

कृषि तथा पशुपंक्षी विकासमन्त्री