राजनीति

मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन्। तीन दलीय गठवन्धनमार्फत कात्तिक १६ गते मुख्यमन्त्री बनेका शाहीले विश्वासको मत लिँदा चार दलको समर्थन पाए। बुधबार भएको मत विभाजनमा मुख्यमन्त्री शाहीले २२ सांसदको समर्थन प्राप्त गरे। उनको विपक्षमा शून्य मत खस्यो। 

गत बैशाख २ गते भएको सहमति अनुसार कात्तिक १५ गते तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएपछि नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थनमा शाही मुख्यमन्त्री नियुक्त भएका थिए।

४० सदस्यीय कर्णाली प्रदेशसभामा हाल ३५ जना सांसद छन्। माओवादी केन्द्रका १२, कांग्रेसका ६ जना र समाजवादीका ३ सांसदसहित मुख्यमन्त्री नियुक्त भएका शाही विश्वासको मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि समर्थन प्राप्त गरे।

सभामुख राजबहादुर शाहीका अनुसार विश्वासको मत लिँदा संसदमा २२ जना सांसद उपस्थित थिए। मत विभाजनका क्रममा २२ वटै सांसदले विश्वासको पक्षमा मतदान गरे। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने बुधबारको संसद बैठकमा उपस्थित भएन्। सभामुखसहित प्रदेशसभामा एमालेका १३ सांसद छन्।

विश्वासको मत प्राप्त गरेपछि मुख्यमन्त्री शाहीले संसदमा कोही पनि सत्ता र प्रतिपक्षी नभएको बताए। ‘हामीले विगतदेखि नै कर्णालीको प्रतिपक्षी रोग, भोक, गरिवी र अशिक्षा हो भन्दै आएका छौं,’ मुख्यमन्त्री शाहीले भने, ‘त्यसको पुष्टी विश्वासको मत लिँदाको समयले गर्यो।’ मुख्यमन्त्री शाहीले विगत सरकारले गरेका राम्रा कामहरुलाई निरन्तरता दिँदै छोटो समयमै जनताले अनुभूति गर्ने गरेर काममा लाग्ने बताए। ‘मुख्यमन्त्री नियुक्त हुँदाको बखतभन्दा अहिले विश्वासको मत लिँदा थप संख्या बढेको छ,’ उनले भने, ‘तपाईँहरुको विश्वासलाई देखिने गरेर कार्यान्वयन गर्छु।’

प्रकाशित: १५ मंसिर २०७८ ११:२६ बुधबार

कर्णाली प्रदेश मुख्यमन्त्री