राजनीति

लोकतन्त्रको रक्षा काँग्रेसले मात्रै गर्न सक्छः गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले संविधानको कार्यान्वयन, नागरिक अधिकार र लोकतान्त्रिक गणतन्त्रको रक्षा नेपाली काँग्रेसले मात्रै गर्न सक्ने बताएका छन्।

नेपाली काँग्रेस रुपन्देहीले भैरहवामा आयोजना गरेको नवनिर्वाचित जिल्ला, क्षेत्र, नगरको नेतृत्व तथा महासमिति, महाधिवेशन र प्रदेश प्रतिनिधिबीच शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले सो कुरा बताएका हुन।

गृहमन्त्री खाँणले काँग्रेस कमजोर हुँदा लोकतन्त्र र आम नेपाली नागरिक कमजोर हुने भएकाले अपसी सहमति र एकताबाट पार्टीलाई मजबुत बनाउनु पर्नेमा जोड दिए। आपसी एकतालाई टुट्न नदिई राष्ट्र र जनताको समृद्धिमा पार्टीलाई गतिशील बनाउनु नै वर्तमान नेतृत्वको महत्वपूर्ण उपलब्धि भएको बताए।

गृहमन्त्री खाँणले देशभित्र र बाहिरका अलोकतान्त्रिक शक्तिहरुले पटकपटक प्रहार गरिरहँदा पनि पार्टीलाई एकताबद्द कायम राख्नु नै काँग्रेस नेतृत्वको ठूलो उपलब्धि भएको दाबी गरे।

सार्वजनिक लेखा समिति सभापति तथा काँग्रेस नेता भरत शाहले शिक्षा र स्वास्थ्य नागरिकको नैसर्गिक अधिकार भएकाले त्यसलाई निःशुल्क गर्नेतर्फ काँग्रेसले ठोस कदम चाल्नुपर्ने बताए।

रुपन्देही जिल्लासहित देशैभरी रहेको सुकुम्बासी समस्या समाधानका लागि तत्काल पहल कदम चाल्न गृहमन्त्री खाँणमार्फत उनले सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित: १५ मंसिर २०७८ १०:१० बुधबार

गृहमन्त्री बालकृष्ण खाँण