राजनीति

कांग्रेस चितवनको अधिवेशन अन्योलमा

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत चितवन जिल्लाको अधिवेशन अन्योलमा परेको छ। नेपाली कांग्रेस चितवनका निर्वाचन अधिकृत कमलमोहन पोख्रेलले राजीनामा दिएसँगै अधिवेशन अन्योलमा परेको हो।

कांग्रेस चितवनको अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पाएका पोख्रेलले निर्वाचन अधिकृतबाट राजीनामा दिएसँगै निर्वाचन कहिले हुने टुङ्गो लाग्न सकेको छैन। पोख्रेलले स्वास्थ्य अवस्था प्रतिकूल रहेको भन्दै केन्द्रिय निर्वाचन समितिलाई राजीनामापत्र बुझाएका छन्।

कांग्रेसको वडा, पालिका, प्रदेशसभा,प्रतिनिधिसभा क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको अवस्थामा पोख्रेलले राजिनामा दिएसँगै जिल्लाको अधिवेशनमा अन्योलता छाएको हो। राजीनामा गर्नुअघि निर्वाचन समितिले आज मनोनयन दर्ता र १९ गते मतदान गर्न केन्द्रिय निर्वाचन समितिलाई सिफारिस गरेको थियो। 

कार्यतालिकाअनुसार कामअघि बढ्नुपर्ने समयमा निर्वाचन अधिकृतको राजीनामाले अन्योल छाएको नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले बताए। एक विज्ञप्ति जारी गर्दै उनले अचानक निर्वाचन अधिकृत पोख्रेलको राजीनामा आउनुले अचम्मित् र गम्भीर बनाएको बताए।

प्रकाशित: १५ मंसिर २०७८ ०७:३५ बुधबार

नेपाली कांग्रेसको १४औँ महाधिवेश चितवन जिल्लाको अधिवेशन अन्योलमा