राजनीति

एमाले अध्यक्षमा ओली र रावलको उम्मेदवारी दर्ता

नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र डा.भीम रावलले उम्मेदवारी दर्ता गराएका छन्। उनिहरु दुईबीच अध्यक्ष पदका लागि निर्वाचन हुने निश्चित भएको हो ।

नेकपा एमालेको चितवनको सौराहामा जारी १० औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि अध्यक्षको उम्मेदवारी दिएका डा.रावलले उम्मेदवारी फिर्ता नलिने बताएका छन् ।

यस्तै उपाध्यक्षमा राति घोषणा गरेको पदाधिकारी सूचीमा नपरेका घनश्याम भुसाल र सचिवमा भीम आचार्यले पनि उम्मेदवारी दिएका छन्। यसबाहेक सबै पदमा यसअघि घोषणा भए बमोजिम उम्मेदवारी परिरहेको छ ।

बन्दसत्रमा घोषणा गरिएका पदाधिकारीमा अध्यक्ष ओली र  वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छन्। यसैगरी  उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, सुवास नेम्वाङ  र  विष्णु पौडेललाई प्रस्ताव गरिएको छ। महासचिवमा शङ्कर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल तथा सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्यमा अर्याल छन्।  

केन्द्रीय निर्वाचन आयोगले मनोनयन दर्ताका लागि आधा घण्टा थप गरेर १० बजेसम्म पु¥याएको छ। यसअघि ८ बजेदेखि ९ः३० बजेसम्मको समय तोकिएको थियो। बिहान १०ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले जानकारी दिए। बिहान १०ः३० देखि १०ः४५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ भने १०ः५० बजे उजुरीउपर छानबिन र निर्णय हुनेछ।

यस्तै बिहान ११ः५५ देखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय दिइनेछ। दिँउसो १२ः०५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र साँझ ९ बजेदेखि मात्रै मतदान सुरु हुनेछ। मतदानको समय मङ्गलबार बिहान ३ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि मतगणना हुनेछ।

एमालेमा केन्द्रीय समितिदेखि पदाधिकारीसम्म नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास गर्ने जिम्मा ओलीलाई दिइएको थियो। उनले आइतबार राति प्रस्तावित पदाधिकारी र केन्द्रीय कमिटीको नाम पेश गरेका थिए। उनले १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यको नाम पढेर सुनाएका थिए। विगतको केन्द्रीय कमिटीका अधिकांशलाई समेट्दै ओलीले केन्द्रीय सदस्य थप गरेका छन्। रासस

प्रकाशित: १३ मंसिर २०७८ ०५:२३ सोमबार

नेकपा एमालेका नेता डा.भीम रावल एमालेको १० औं महाधिवेशन केपी शर्मा ओली