राजनीति

दाङमा कांग्रेसको नेतृत्वका लागि चारजनाबीच प्रतिस्पर्धा

दाङमा कांग्रेसको नेतृत्वका लागि चारजना चुनावी प्रतिस्पर्धामा होमिएका छन्। दाङमा शनिबार चुनाव भैरहेको छ। सभापति पदका लागि संस्थापन पक्षका ३ र संस्थापन ईतर पक्षका एकजनाबीच प्रतिस्पर्धा भैरहेको छ।

सभापतिका लागि संस्थापन ईतरका वर्तमान सचिव शंकर डाँगी, संस्थापन पक्षीय निवर्तमान सचिव कमलकिशोर घिमिरे, गत प्रदेशसभा उम्मेदवार जानकीलाल बस्नेत र निवर्तमान क्षेत्रीय सभापति भुपबहादुर डाँगीबीच प्रतिस्पर्धा भएको हो।

दाङ कांग्रेसको अधिवेशनमा २ हजार १ सय ९२ मतदाता छन्। चारजना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेकाले पहिलो चरणको चुनावबाटै नेतृत्व चुनिने सम्भावना कम रहेको छ।

सभापति निर्वाचित हुनका लागि कूल मतदाताको ५१ प्रतिशत मत चाहिन्छ। तर चारजना उम्मेदवार चुनावमा भिडेकाले एकजना उम्मेदवारको पक्षमा त्यो मत प्रतिशत आउने सम्भावना कम देखिन्छ। एकजनाको पक्षमा ५१ प्रतिशत मत नआए पहिलो र दोस्रो हुनेहरुबीच पुनः मतदान हुने प्रावधान रहेको छ।  

प्रकाशित: ११ मंसिर २०७८ ०९:११ शनिबार

कांग्रेसको नेतृत्व चुनाव