राजनीति

चुनावमा एमालेले बहुमत ल्याउँछ:ओली

नेकपा एमालेको दसौं महाधिवेशन रिमोटबाट उद्घाटन गर्दै अध्यक्ष केपी शर्मा ओली। तस्बिरः रासस

एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनपछि पार्टी निर्वाचनको तयारीमा लाग्ने बताएका छन्। चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा शुक्रबार पार्र्टीको १०औं राष्ट्रिय महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई चुनाव लागेको र आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने बताएका हुन्। ‘निकट भविष्यमा हुने चुनावमा एमालेले बहुमत ल्याउनेछ’,ओलीले भने।

ओलीले विगतमा आफू नेतृत्वको सरकार जनताबीच जान चाहे पनि त्यसमा विभिन्न पक्षबाट कुठाराघात भएको बताए। ‘हामीले जनताबीच जाने बाटो चाहेका थियौं, त्यसलाई रोकेर परमादेश ल्याइयो’,ओलीले भने, ‘एमालेका लागि होइन,यो देशको रक्षाका लागि पनि एमालेले अब हुने चुनावमा बहुमत ल्याउनुपर्छ, ल्याउँछ।’ उनले तीनवटै तहको चुनाव जित्ने मात्र नभई बहुमत ल्याउने हिसाबले एमालेले तयारी गरिरहेको बताए। विगतमा आफू नेतृत्वको सरकारले गरेका र सुरु गरेका कामबारे जनतालाई बुझ्ने गरी बताउनु आवश्यक रहेको औंल्याउँदै उनले अब निर्वाचनमा यही तयारीका साथ लाग्ने बताए।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति निकै आक्रामक देखिएका ओलीले पहिला माओवादी नेतृत्वको सरकारले पूर्वलडाकुको माग सम्बोधन नगरेको र उनीहरूका समस्या समाधानमा चासो नदिएको आरोप लगाए।

उनले अहिले पनि माओवादी सरकारमा छ तर त्यसका अध्यक्ष दाहालले घाइते अपांग,पूर्वलडाकुका लागि केही काम नगरेको बताए। ‘समय हुँदा लडाकुको व्यवस्थापन भएन, १० हजार दिएर टारिएको यो समस्यामा प्रचण्ड(दाहाल) किन मौन बसे, अब यसको व्यवस्थापन र समस्याको समाधन पनि एमालेले गर्छ’,ओलीले भने।

ओलीले नेपालको नयाँ नक्सामा समेटिएको लिम्पियाधुरा,लिपुलेक र कालापानीको जमिन भारतसँग संवादका माध्यमबाट फिर्ता लिनुपर्ने बताए। सबै छिमेकी राष्ट्रहरूसँग सहकार्य गरेर, समदूरी कायम राखेर अघि बढ्नुपर्नेमा उनले जोड दिए। ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीको हाम्रो भूगोल हामीले नेपालको नक्सामा समेटेका छौं। त्यसलाई संविधानको अंग बनाएका छौं’,उनले भने, ‘त्यो जमिन हामीले फिर्ता लिनुपर्नेछ।’

प्रधानमन्त्रीलाई नै कार्यक्रममा बोलाएकाले अहिलेको सरकारका बारेमा केही टिप्पणी गर्न नचाहेको उनले बताए। ‘मेरो खुट्टा तान्नेहरूले अहिले उहाँको खुट्टा समाइरहेका छन्’, ओलीले भने, ‘उहाँले पनि काम गर्न सक्नुभएको छैन होला।’

ओलीले अब विश्वका सबै मुलुकसँग सहकार्यका साथ अघि बढ्नुपर्ने बताए। एमालेले कसैलाई पनि शत्रु र मित्रुका रूपमा नलिएको र आपसी समझदारी तथा सहकार्यबाट अघि बढ्न चाहेको उनले बताए। ‘सबैसँग मित्रता भन्ने हाम्रो मूल नीति हो, हाम्रा छिमेकीहरूसँग कतिपय कुरा छलफल गरेर टुंग्याउनुपर्नेछ’,उनले भने।

उनले एमाले सधैं सहअस्तित्व र सहकार्य, सामाजिक न्याय र समानताको पक्षमा रहेको र त्यसैका माध्यमबाट राष्ट्रिय एकता कायम राख्नुपर्ने बताए। एमालेले राष्ट्रिय स्वाधीनता र एकता चाहेको उनले बताए। आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुनुपर्नेमा ओलीले जोड दिए।

ओलीले १० औं महाधिवेशनले सहमति वा लोकतान्त्रिक विधि जसरी भए पनि पार्टीमा उच्चस्तरको समझदारी र एकता गरी नेतृत्व चयन गर्ने बताए। अर्को पाँच वर्ष देशलाई दिशानिर्देश गर्ने, देश हाँक्ने एकताबद्ध नेतृत्व निर्माण गरेर महाधिवेशन हलबाट आफूहरू निस्कने विश्वास उनले दिलाए।  

अबको पुस्ताले दुःख भोग्न नपरोस्: देउवा

महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वाधीनता तथा अखण्डतालाई जोगाउन मुलुकका सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताए। शुभकामना मन्तव्य व्यक्त गर्दै देउवाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वाधीनता तथा अखण्डतालाई जोगाउन सबै राजनीतिक दल एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताएका हुन्।

पञ्चायत कालमा केपी शर्मा ओली र आफू ‘जेलमेट’ भएको स्मरण गर्दै देउवाले प्रजातन्त्रका लागि आफूहरूले पाएजस्तो दुःख अब अरूले पाउन नहुने र मुलुकका लागि सबै नेताहरूले एकताबद्ध भएर काम गर्नुपर्ने बताए।

‘केपी ओलीजीलगायत धेरै वामपन्थी साथीहरू र हामी सँगै जेलमा थियौं। हामी जेलमेट पनि हौं। हामीले सँगै दुःख भोगेका हौं। हामीले भोगेका दुःख भोलिका दिनमा कुनै नेपालीले नपाऊन् भन्नेमा हामी सचेत हुनुपर्छ,त्यतातिर ध्यान दिनुपर्छ, यो सबैले सोचौं’,देउवाले भने। उनले नेपालका राजनीतिक दलहरूले मिलेरै संविधानसभाबाट संविधान जारी गरेको स्मरणसमेत गरे।

देउवाले राजनीतिक असहमतिको समाधान संविधानभित्र र विधिबाट खोजिनुपर्ने बताए। ‘असहमतिहरू छन्। ती असहमतिलाई संविधानभित्रै बसेर समाधान खोजौं र विधिबाटै समस्याहरू टुंग्याऔं’,देउवाले भने।

उनले वमापन्थीहरू भन्दा कांग्रेस भिन्न विचार बोकेको पार्टी भएको बताए। दलहरूबीच वैचारिक भिन्नता भए पनि राष्ट्र र जनताको हितका विषयमा भने सहमति र सहकार्य हुनुपर्नेमा जोड दिए। ‘नीतिगत विषयमा रहेका विमतिहरूलाई संविधानले निर्धारण गरेको विधिमार्फत टुंगो लगाउने र त्यसलाई हामीले स्वीकार गर्ने पद्धति बसाल्नुपर्छ,’ देउवाले भने।

देउवाले नेपालको लोकतान्त्रिक आन्दोलन वामपन्थी र लोकतान्त्रिक शक्ति मिलेर सफल पारेको स्मरण गरे। अहिलेको अवस्थामा लोकतान्त्रिक मूल्य र मान्यतालाई संस्थागत गर्ने जिम्मेवारी सबै राजनीतिक दलहरूको रहेको र सरकारले पनि विधिसंगत ढंगले काम गर्ने बताए। ‘नयाँ संविधानमार्फत लोकतान्त्रिक मूल्य र मान्यता संस्थागत गर्ने जिम्मेवारी राजनीतिक दलको हो र यो भूमिका निर्वाह गर्न एमालेलाई पनि आग्रह गर्छु’, देउवाले भने।

उनले संविधानको रक्षाका लागि अहिलेको सरकार लागिरहेको बताए। ‘सबै मिलेर संविधान ल्याएका हौं, जनतासँग जोडिएका मुद्दामा निरन्तर छलफल गरौं, संसद्भित्र र बाहिर रहेका दलहरूसँग पनि छलफल गरौं, समस्या भएका विषय टुंगो लगाऔं’, देउवाले भने।

कम्युनिस्टबीच एकता आवश्यकः पोखरेल

माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले नेपालको कम्युनिस्ट आन्दोलन एकीकृत हुनुपर्ने बताए। उनले समाजवादी समाज निर्माणका लागि कम्युनिस्ट पार्टीहरूबीच एकता र ध्रुवीकरण आवश्यक रहेको बताए। उनले सबैको साझा प्रयास भएमात्र मुलुकले नयाँ कोल्टे फेर्न सक्ने धारणा राखे। 

‘कोही कसैको एक्लो यात्राले मात्रै नेपालको राष्ट्रिय स्वाधीनता र जनताको आकांक्षाअनुसारको विकास र समृद्धि हासिल गर्न कठिन छ। तर एउटा सत्य के हो भने हामी माउ खाने माकुरा बनेर प्राणविहीन माक्र्सवादको मलामी बन्न चाहँदैनौं,’ उनले भने। एकता, संघर्ष र सहकार्य संस्कृतिले मात्र मुलुकले विकासमा नयाँ कोल्टे फेर्न सक्ने उनको भनाइ थियो ।

नेता पोखरेलले मुलुकलाई नयाँ यात्रामा हिँडाउन सक्ने नेतृत्व एमाले महाधिवेशनले चयन गर्ने विश्वास व्यक्त गरे। ‘हामीले आज नयाँ चुनौतीको सामना गरिरहेका छौं र नयाँ सम्भावनाको प्रतीक्षा पनि गरिरहेका छौं। यो महाधिवेशनले कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा दिन भूमिका खेल्नेछ, शुभकामना,’ पोखरेलले भने।

संविधान संशोधन हुनुपर्छः ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले अहिलेको आवश्यकता संविधान संशोधन रहेको बताए। महाधिवेशनलाई सम्बोधन गर्दै नेता ठाकुरले अहिले आवश्यकता संविधान संशोधन भएको बताएका हुन्।

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई संकेत गर्दै भने, ‘हामीले यो संविधान संशोधनको माग गरेका छौं। केही प्रावधान संशोधन भए तर धेरै त्रुटि रहे, त्यसपछि फेरि सद्भाव त आयो तर संशोधन हुन सकेन। अहिलेसम्म त्यसले पूर्णता पाउन सकेन।’ उनले आफ्ना कतिपय सांसद अहिले पनि जेलमा रहेको भन्दै उनीहरूको रिहाइको माग गरे। ‘प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु,राजबन्दीलाई छोड्ने,संविधान संशोधन गर्ने,लाल आयोग सार्वजनिक गर्ने काम भएन। हामीमाथि लगाइएका मुद्दा फिर्ता गर्न आग्रह गर्न चाहन्छु,’ठाकुरले भने।

महाधिवेशन ऐतिहासिक बनोस्ः यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न महाधिवेशनबाट ऊर्जा मिलोस् भन्दै सफलताको शुभकामना दिए।‘लोकतान्त्रिक संविधानको अभावले शान्ति,सुरक्षा,आर्थिक विकास र समाजवाद्ले फड्को मार्न सकेको छैन,’ उनले भने। नेपालको संविधानमा केही विषय थप समेट्नुपर्नेतर्फ लक्षित गर्दै उनले आर्थिक विकास र समाजवादको लक्ष्य टाढिँदै गएको बताए। यस्तो अवस्थामा एमाले महाधिवेशन ऐतिहासिक साबित हुनेमा आफू आशावादी रहेको उनले बताए।

मुलुकमा विदेशी शक्ति हाबीः थापा

राप्रपाका अध्यक्ष कमल थापाले महाधिवेशन सफलताका लागि शुभकामना मन्तव्य दिने क्रममा नेपालमा बाह्य शक्तिको चलखेल बढेकाले रोक्नुपर्ने बताए। उनले भने, ‘२०६३ सालको आन्दोलनमा हामी कहाँ जान भनेर हिँडेका थियौँ,आज हामी कहाँ आइपुग्यौं।’ एमालेले महाधिवेशनमा यो विषयको समीक्षा गर्नुपर्नेमा उनले जोड दिए। नेपालका राजनीतिक दलहरूकै कारण विदेशी शक्ति हाबी भई चलखेल गरेको उनको भनाइ थियो।

मधेस आन्दोलन र विप्लव नेतृत्वको माओवादीलाई राजनीतिको मूल धारमा ल्याउन सक्नु केपी ओली नेतृत्वको तत्कालीन सरकारको राम्रो काम भएको उनले बताए। उनले भने, ‘योभन्दा महŒवपूर्ण काम चुच्चे नक्शा जारी गर्नुभएको छ।’ राष्ट्रियताको सबालमा ओली नेतृत्वको सरकारले राम्रो काम गरेको भन्दै थापाले प्रशंसा गरे।

थापाले अहिले देश संकटको भुमरीमा परेको पनि बताए। उनले भने, ‘लोकतन्त्रको आवरणमा देशमा सर्वसत्तावाद लाद्ने प्रयास भएको छ।’ थापाले एमाले महाधिवेशनलाई देश भित्र र बाहिरका शक्तिले हेरिरहेको र यसबाट आउने सन्देश अर्थपूर्ण हुने बताए। देशमा भ्रष्टाचार व्याप्त भएको, ४० लाख युवा विदेश जानुपर्ने अवस्था रहेकाले यस्ता विषयमा सरकारले, राजनीतिक दलले ध्यान दिनुपर्ने उनले बताए।

प्रकाशित: ११ मंसिर २०७८ ०१:०६ शनिबार

एमाले अध्यक्ष केपी शर्मा ओली १०औं राष्ट्रिय महाधिवेशन