राजनीति

बाँके कांग्रेसको सभापतिमा नेता कुर्मीको उम्मेदवारी घोषणा

कांग्रेस बाँके सभापतिको उम्मेदवारी घोषणा कार्यक्रममा नेता बादशाह कुर्मी लगायत। तस्बिरः नागरिक

नेपाली कांग्रेसका नेता एवम् पूर्वसभासद बादशाह कुर्मीले पार्टीको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा हुन लागेको जिल्ला निर्वाचनमा सभापति पदमा उठ्ने घोषणा गरेका छन्। नेता कुर्मीले शुक्रबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी औपचारिक रुपमा घोषणा गरेका हुन्।

उनी शुक्रबार नै बाँके क्षेत्र नम्बर ३ बाट सबैभन्दा बढी मत ल्याएर महाधिवेशन प्रतिनिधि(खुल्ला)मा निर्वाचित भएका थिए। कांग्रेसको जिल्ला सभापति हुनका लागि महाधिवेशन प्रतिनिधि अनिवार्य र कम्तिमा १० वर्ष क्रियाशील सदस्य भएको हुनुपर्ने व्यवस्था छ।

सभापति पदका लागि आफू संस्थापन पक्षबाट सर्वसम्मत रुपमा उम्मेदवार बन्ने ठोकुवा गरे। ‘कांग्रेस बाँकेको संगठनलाई बलियो बनाउन र आसन्न स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसलाई जिताउन मैले नेतृत्व गर्नेछु, यस पटक पार्टीको जिल्ला निर्वाचनमा हाम्रो टिम(संस्थापन पक्ष) बाट एक जना मात्र उम्मेदवार हुन्छ, त्यो उम्मेदवार भनेको म नै हो,’ उनले भने।

आफू पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको टिमबाट सभापतिमा लड्न लागेको बताए। संस्थापन इतर पक्षबाट पनि कोही साथीहरु उम्मेदवार बन्नु हुन्छ होला, त्यो उहाँहरुको कुरा हो,’ कुर्मीले भने, ‘हाम्रो टिमबाट सभापतिको उम्मेदवारका सन्र्दभमा विवाद छैन।’ पार्टीमा लामो समयदेखि राजनीति गर्दै आएका कुर्मी २०६४ र २०७० सालमा तत्कालीन संविधान सभामा समानुपातिक सभासद भएका थिए।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा क्षेत्र नम्बर ३ बाट चुनाव लडेका उनी तत्कालीन बाम गठबन्धनका नन्दलाल रोकायसँग थोरै मतले पराजित भएका थिए। नेता कुर्मीले उम्मेदवारी घोषणा गर्ने क्रममा बाँकेस्थित नेपाली कांग्रेस बाँकेका सचिव कपिलदेव शर्मासहित नेता, कार्यकर्ताको उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो।

प्रकाशित: १० मंसिर २०७८ १३:१५ शुक्रबार

बाँके कांग्रेस