राजनीति

बाँके क्षेत्र नम्बर १ को सभापतिमा पोषण केसी निर्वाचित

नवनिर्वाचित क्षेत्रीय सभापति पोषण केसी।

नेपाली कांग्रेस बाँकेको क्षेत्रीय सभापतिमा पोषण केसी निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी संस्थापन(देउवा)पक्षका माधवराम खत्री(ढकाल)लाई ४७ मतले हराउँदै संस्थापन इतर(कोइराला पौडेल) पक्षका केसी निर्वाचित भएका हुन्।

कुल ६ सय १ मत खसेकोमा केसीले ३ सय १६ र खत्रीले २ सय ६९ मत प्राप्त गरेको मतदान अधिकृत मेहरसिंह खत्रीले जानकारी दिए।

यस्तै सचिवमा निर्वाचित भएका संस्थापन इतर पक्षका खुमबहादुर बस्नेतले ३ सय १ र संस्थापन पक्षका जयश्वर पौडेलले २ सय ९० मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी बजारु थारु र लालबहादुर रानाले समान २ सय ८० मत ल्याए। यसैगरी सह–सचिवमा निर्वाचित भएका संस्थापन पक्षका दिपेन्द्र उप्रेतीले ३ सय १२ र संस्थापन इतर पक्षका रामबहादुर रावतले २ सय ९० मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी देवनारायण काफ्लेले २ सय ८३ र हरिशंकर पाण्डेले २ सय ७० मत प्राप्त गरेका छन्। क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधीको मत गणना चलिरहेको मतदान अधिकृत खत्रीले नागरिकलाई जानकारी दिए।

नवनिर्वाचित क्षेत्री सभापति केसीले नेपाल विद्यार्थी संघमा रहेर केही समय राजनीति गरेका थिए। उनी २०५० सालमा नेपाल विद्यार्थी संघ बाँकेको जिल्ला सदस्य भए। त्यसपछि उनले पत्रकारिता पेशा अंगाले। करिव दुई दशक रेडियो नेपालमा कार्यरत रहेर पत्रकारिता गरेका उनी नेपाल पत्रकार महासंघको पूर्वमहासचिवको जिम्मेवारीमा पुगेका थिए।

नेपाल प्रेस युनियनले केसीलाई पत्रकार महासंघमा दुई पटक केन्द्रीय अध्यक्षको उम्मेदवार बनाएको थियो। उनी तत्कालीन सुशिल कोइरालाको पालामा पत्रकारको न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष समेत भएका थिए। करिव ३ वर्षअघि रेडियो नेपालको जागिर छाडेर पार्टीको सक्रिय राजनीतिमा होमिएका हुन्।

उनी बाँकेको राप्तीसोनारी गाउँपालिका १ कुसुमस्थित लौकीका स्थायी बासिन्दा हुन्। केसी २०३२ सालमा जन्मिएका हुन्।

प्रकाशित: १० मंसिर २०७८ १०:४४ शुक्रबार

बाँके क्षेत्र नम्बर १ नवनिर्वाचित क्षेत्रीय सभापति पोषण केसी