राजनीति

ओलीले भनेः मलाई अप्ठ्यारो पार्ने, मेरो खुट्टा तान्नेहरु आज प्रधानमन्त्रीको खुट्टा समाइरहेका छन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवालाई अतिथि बनाएर राखेर सरकारबाट टिप्पणी गर्नु राम्रो नहुने बताएका छन्।

उनले भने, ‘अहिलेको सरकारको सम्बन्धमा म केही भन्न चाहन्न, ‘सम्माननीय प्रधानमन्त्रीजीलाई हामीले आमन्त्रण गरेका छौं। प्रधानमन्त्रीजीलाई मञ्चमा अतिथि बनाएर राखेर टिप्पणी गर्नु बान्छनीय हुँदैन।’

सोही क्रममा ओलीले भने, ‘प्रधानमन्त्रीजी शायद काम गर्न चाहनुहुन्थ्यो कि? प्रधानमन्त्रीजीलाई काम गर्न पनि गाह्रो छ कि? मलाई अप्ठ्यारो पार्ने, मेरो खुट्टा तान्नेहरु आज उहाँको खुट्टा समातिरहेका छन्। त्यसरकाण उहाँलाई पनि अप्ठ्यारा छन् कि?’

यस्तै, उनले समृद्ध नेपाल र सुखी नेपाली नै अहिलेको आवश्यकता रहेको बताएका छन्। उनले एमालेले नेपाल निर्माण गर्ने कुरा मात्र नभई नेपाल निर्माणको अवधारणा ल्याएको र देशलाई भूपरिवेष्ठितबाट वेष्ठित राज्यमा रुपान्तरण गरेको बताए।

ओलीले आगामी चुनावमा आफूहरुले बहुमत ल्याउने दावी समेत गरे।

'हामीलाई नयाँ जनमतमा जान रोकियो तर अब चुनाव त हुन्छ नै। चुनाव नजिकै आउँदैछ। अब हामी बहुमतका लागि काम गर्छौँ', उनले भने, 'देश बनाउनका लागि अब नयाँ जनमतबाट बहुमत ल्याउँछ एमालेले। देशमा विकासको लहर ल्याउन पनि एमालेले बहुमत ल्याउँछ।'

प्रकाशित: १० मंसिर २०७८ १०:१५ शुक्रबार

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली