राजनीति

नेपाली काँग्रेस महाधिवेशनः रुपन्देहीमा संस्थापन कमजोर

गृहमन्त्री बालकृष्ण खाँणको गृह जिल्ला रुपन्देहीमा तुलनात्मक रुपमा संंस्थापन पक्ष कमजोर देखिएको छ। जिल्लाका पाँच वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये तीन वटामा संस्थापन इतर पक्षको नेतृत्व आएको छ। दुईवटा क्षेत्रमा संस्थापन पक्षको नेतृत्व आएको छ। महाधिवेशन प्रतिनिधिमा पनि संस्थापन इतर पक्षको संख्या धेरै देखिएको छ।

जिल्लाका दुईवटा निर्वाचन क्षेत्रमा संस्थापन इतर समुहबाट सर्वसम्मत नेतृत्व चयन भएको छ। निर्वाचन भएका तीन वटा क्षेत्रमध्ये दुईवटामा संस्थापन पक्ष र एउटामा संस्थापन इतर पक्षको नेतृत्व आएको छ।

रुपन्देहीको क्षेत्र नं. १ मा हिरा केसी पुनः क्षेत्रीय समितिमा निर्वाचित भएका छन्। केसी यसअघि पनि क्षेत्रीय सभापति थिए। उनी देवदह नगरपालिकाका निर्वाचित मेयर पनि हुन्। संंस्थापन पक्षका केसीले ३९६ मत ल्याइ विजयी भए। उनका प्रतिस्पर्धी पौडेल पक्षका विश्वनाथ यादवले २९५ मत ल्याए। केसीकै प्यानलबाट सचिवमा बैजनाथ शाहनी र विजय गुरुङ, सहसचिवमा नरबहादुर थापा र मेहम्मद रजा पठान निर्वाचित भए। महाधिवेशन प्रतिनिधिमा भने मिश्रीत परिणाम आएको छ।

क्षेत्र नं. २ को क्षेत्रीय सभापतीमा हरि लम्साल निर्वाचित भएका छन्। लम्साल यसअघि पनि क्षेत्रीय सभापति थिए। संस्थापन इतर पक्षका लम्सालले १६० मतको अन्तरले देउवा पक्षका काजिमान श्रेष्ठलाई पराजित गर्दै विजयी भएका हुन्।

सभापति लम्सालले ४०२ मत ल्याउदा अर्का प्रतिस्पर्धी काजिमान श्रेष्ठले २४२ मत ल्याए। सचिवमा भने देउवा समूहका प्रजापाल गिरीले ४२९ र पौडेल पक्षका बिमलराज भट्टराईले ३६८ मत ल्याई विजयी भए। सहसचिवमा पौडेल पक्षकै मिलन थापाले ३५१ र राजबहादुर क्षेत्रीले ३४० मत ल्याई विजयी भए। महाधिवेशन प्रतिनिधिमा पनि अधिकांस पौडेल पक्षकै उम्मेदवार विजयी भएका छन्।

क्षेत्र नं. ३ मा संस्थापन पक्षका सुशील गुरुङ प्यानलसहित निर्वाचित भएका छन्। सभापतिमा गुरुङले ३७७ मत ल्याइ विजयी भएका हुन्। उनका प्रतिस्पर्धी पौडेल समूहका सभापतिका उम्मेदवार मातृका प्रसाद यादवले २४२ मत प्राप्त गरे। यो क्षेत्रमा महाधिवेशन प्रतिनिधिमा पनि संस्थापन पक्षकै विजयी भएका छन्। सभापतिका अर्का उम्मेदवार महेन्द्रप्रसाद यादवले ४ मत पाए। सचिवमा भवानीप्रसाद शर्माले ३७६ मत र लेखनाथ भट्टराईले ३६२ मत ल्याइ विजयी भए। सहसचिवमा कुलप्रसाद न्यौपानेले ३७२ र प्रेमसागर थारुले ३८२ मत ल्याइ विजयी भए। सदस्य र महाधिवेशन प्रतिनिधिमा देउवा समूहकै प्यानलका उम्मेदवारले जितेका छन्। यो क्षेत्र गृहमन्त्री बालकृष्ण खाँणको पकड क्षेत्र हो।

क्षेत्र नं. ४ मा  पौडेल पक्षबाट सर्वसम्मत नेतृत्व चयन भएको छ। क्षेत्र नं. ४ मा  मुकेश यादवको नेतृत्वमा क्षेत्रीय समिति सर्वसम्मत चयन भएको हो। यादव पौडेल समूहका हुन्। उनी यसअघि पनि क्षेत्रीय सभापति थिए। क्षेत्रीय सचिवमा राजमन हरिजन र गणेश चौधरी,सहसचिवमा राजेन्द्र यादव र गणेश गौतम निर्विरोध निर्वाचित भएका छन्। यो क्षेत्रमा महाधिवेशन प्रतिनिधि पनि अधिकांस पौडेल पक्षका छन्।

क्षेत्र नं. ५ मा पनि पौडेल पक्षलाई बल पुग्ने गरी सर्वसम्मत नेतृत्व चयन भएको छ। पाँचको क्षेत्रीय सभापतिमा वसिउल्लाह मुसलमान निर्विरोध निर्वाचित भएका हुन्। सचिवमा अशोककुमार गोश्वामी र कृष्ण शर्मा चयन भएका छन्।

त्यस्तै सहसचिवमा हरि घिमिरे र चिरञ्जीवी खनाल निर्विरोध चयन भएको मतदान अधिकृत नुरजंग केसीले बताए। महाधिवेशन प्रतिनिधि र क्षेत्रीय सदस्य सबै सर्वसम्मत चयन भएको केसीले बताए। यो क्षेत्र प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सभापति समेत रहेका काँग्रेस नेता भरत शाहको पकड क्षेत्र हो। शाह देउवा गुटका भए पनि जिल्लामा भने नेता खाँण र शाहका छुट्टाछुट्टै गुट रहेको नेता कार्यकर्ताहरु नै दाबी गर्छन्।

प्रकाशित: ९ मंसिर २०७८ १३:२२ बिहीबार

गृहमन्त्री बालकृष्ण खाँण कार्यकर्ता