राजनीति

कांग्रेस महाधिवेशनः ‘गगनहरु’का भाषणले जन्मिएकी ‘कान्छी नेतृ’

बाबु राजु सापकोटा नेपाल विद्यार्थी संघको पूर्वजिल्ला अध्यक्ष। कांग्रेसको महाधिवेशन केन्द्रीत चहलपहलले राजुलाई छोइसकेको थियो। क्षेत्रीय प्रतिनिधि बनेर पार्टी राजनीतिमा आउने उनको अभिलाषासँगै अधिवेशनले १८ वर्षीया छोरी उषाको ‘नेता’ बन्ने उपद्रो रहर जगाइरहेकै थियो। त्यसो त, बागलुङ क्षेत्र नम्बर १ की उषालाई कांग्रेस युवा नेताहरु गगन थापा, विश्वप्रकाश शर्माहरुका विगतका भाषणले राजनीतिमा आउन प्रेरित गरिरहेकै थिए। अनि वडा अधिवेशनको मुखैमा आफ्नै बाबु समक्ष प्रस्ताव गरिन् ‘म पनि नेता बन्छु।’

परिवारले उषाको प्रस्तावलाई समर्थन संकेत जनायो, एक सर्तमा। सर्त थियो, पढाइ बिगार्न पाइन्न। नेता बन्नका लागि परिवारले दिएको यो ‘ग्रिन सिग्नल’ थियो उषाका लागि। अनि परिवारको सर्तमा मञ्जुर हुन हतारो गरिनन् उनले। ‘म पनि राजनीतिमा आउँछु र नेता बन्छु भनेर प्रसताव गरेँ,’ उषाले नागरिकसँग टेलिफोनमा भनिन्, ‘पढाइ नबिगारेर राजनीति गर्न भन्नुभयो, अनि मेरो राजनीतिका सुरुवाती पाइला बढाएँ।’

नेता बन्ने उपद्रो चाहनालाई समर्थन गरेका बाबु राजुले आफूलाई भने अधिवेशनमा मौन राखिदिए। कारण, एकै परिवारबाट धेरैजनाको प्रतिनिधित्व हुन नहुने भन्ने मानसिकता कांग्रेसीहरुमा व्याप्तै छ। अनि बाबु राजु आफू ‘ब्याक’ भए, छोरी उषालाई क्षेत्रीय प्रतिनिधिको उम्मेदवार बनाए। छोरी उषा क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत भइन्। ‘एउटै घर परिवारबाट दुईजना क्षेत्रीय प्रतिनिधि हुँदा केही असहमति देखिने जस्तो भयो,’ उषा भन्छिन्, ‘अनि बाबाले मलाई उम्मेदवार बनाउनु भयो, आफू ब्याक हुनुभयो।’

यो उनको राजनीतिक करिअरको पहिलो अनि ठूलो सफल ‘ईनिङ’ थियो। क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएकी उषालाई अर्को ईनिङमा बाजी मार्नु थियो। प्रदेश महाधिवेशन प्रतिनिधि बनेर प्रदेश नेतृत्व चयनको ‘हकदार’ बन्ने योजना मुताबिक उषा प्रदेश महाधिवेशन प्रतिनिधिको खस आर्य महिला तर्फको उम्मेदवार बनिन्। ‘क्षेत्रीय प्रतिनिधि चुनिएपछि मलाई कांग्रेस राजनीतिमा थप उर्जा मिल्यो,’ उनी भन्छिन्, ‘अनि म प्रदेश महाधिवेशन प्रतिनिधिका लागि चुनावमा होमिएँ।’

तर उनका लागि यो ईनिङ कठिनपूर्ण लागिरहेको थियो। क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चुुनिएकी उनलाई यसपाला भने चुनावी मैदानमा भिड्नु थियो। एक जना प्रतिनिधि निर्वाचित हुने कोटामा उषासहित अर्की एक उम्मेदवार थिइन्। ‘उहाँ (अर्की प्रतिष्पर्धी) म भन्दा धेरै सिनिएर हुनुहुन्छ, तथापि मैले उहाँसँगै निर्वाचनमा भिड्ने निर्णय लिएँ,’ उषा भन्छिन्, ‘यसर्थ पनि मलाई सजिलो लागिरहेको थिएन।’

चुनावी मैदानमा भिडेको पहिलो अनुभवले उषालाई उत्साहित बनायो अनि केही निराश पनि। ‘भोट माग्ने क्रममा कसैले युवा मान्छे राजनीतिमा आउनु पर्छ पनि भन्नु भयो, अनि कसैले पढाइ बिग्रन्छ किन आएको? भनेर प्रश्न पनि गर्नुभयो,’ उषाले भनिन्, ‘तैपनि म बिचलित भने भइँन।’

अन्ततः उषाको यही साहसले उनलाई बागलुङ १ क बाट विजयी गरायो। कूल ४ सय ६३ मतमध्ये उषाले २ सय ८६ मत प्राप्त गर्दै सबैभन्दा कान्छी प्रतिनिधिका रुपमा विजयी माला पहिरिइन्।

त्यसो त, उनका अनुसार उनको राजनीतिक यात्रा जित्नका मात्रै लागि तय भएको थिएन, नेता बन्नका लागि थियो। फलतः नेता बन्नका लागि पटक पटकका हार स्वीकार्ने सामथ्र्य राख्न सक्थिन् उनी। ‘म जति पटक हारेँ पनि जीत खोजिरहन्थेँ, हारबाट नथाक्ने दृढता बोकेर पार्टी राजनीतिमा लागेको थिएँ,’ उनले भनिन्, ‘तर पहिलो पटकमै जितेँ।’

१२ कक्षामा अध्ययनरत उषाले अब कांग्रेसको प्रदेश नेतृत्व चयनका लागि मताधिकार प्राप्त गरेकी मात्रै छैनन्, उनलाई कांग्रेसको प्रदेश समितिको ‘हिस्सा’ बन्ने अधिकार पनि मिलेको छ। तर प्रदेश समितिमा उम्मेदवार बन्ने÷नबन्ने अहिले निर्णय गरिसकेकी छैनन् उनले। ‘आजका मितिसम्म प्रदेश समितिका लागि उम्मेदवार बन्ने निर्णय गरिसकेको छैन,’ उनले भनिन्, ‘हेरौँ परिस्थति कस्तो बन्छ?’

पहिलो प्रयासमै उँचो नेता बन्ने लय पकडेकी उषाको परिवारमा चल्ने राजनीतिक ‘गफगाफ’ ले  कांग्रेस राजनीतिको पाठ सिकाइरहेको थियो। त्यसमाथि गगन थापा, विश्वप्रकाश शर्मा लगायतका युवा नेताहरुका ‘युवा उत्साह केन्द्रीत’ भाषणहरुले प्रभावित बनाइरहेका हुन्थे। ‘गगन अंकल, विश्वप्रकाश अंकलहरुले नेतृत्व तहको राजनीतिमा युवा शक्ति आउनु पर्छ भनेर गरेका भाषणहरु सुन्थेँ, हेर्थेँ,’ उनले भनिन् ‘उहाँहरुको भाषणले मलाई कांग्रेसको राजनीतिमा आउन झन् उत्साह थपिरहन्थ्यो।’

प्रदेश प्रतिनिधि बनेर उँचो राजनीतिक यात्राको मिशनमा रहेकी ‘कान्छी प्रतिनिधि’ उषाभित्र पार्टी भित्रको गुटगत राजनीतिलाई निमिट्यान्न पार्नु पर्छ भन्ने सोच छ। फलतः आगामी प्रदेश महाधिवेशनमा उनले गुटगतका आधारमा नभई व्यक्ति हेरेर मतदान गर्ने प्रणः गरेकी छिन्। ‘मलाई पार्टी भित्रको गुट उपगुटको कुरा सुन्दा साह्रै नमज्जा लाग्छ,’ उनले भनिन् ‘म यो गुटउपगुटमा नरही व्यक्ति हेरेर मतदान गर्नेछु।’

प्रकाशित: ९ मंसिर २०७८ १२:५९ बिहीबार

चुनाव युवा शक्ति