राजनीति

कांग्रेस महाधिवेशनले उब्जाएको प्रतिशोध : ‘आगामी चुनावमा खतरा’

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्यूठानको जिल्ला नेतृत्वका लागि मंगलबार मतदान भयो। जिल्ला नेतृत्वका लागि खसेको कूल १ हजार ६९ मतमध्ये गणना हुन मात्रै ६४ मत बाँकी थियो। ६४ मत गणना हुन बाँकी छँदा संस्थापन ईतरका सभापति पदका उम्मेदवार बिष्णु कुमार गिरीको जीत निश्चय भैसकेको थियो।

यो बेला उनि अर्का प्रत्यासी संस्थापन पक्षका शिबराज रिजालभन्दा ६६ मतले अघि थिए। हार निश्चय भैसकेपछि संस्थापन पक्षका एक कार्यकर्ताले मतपत्र च्यात्ने प्रयास गरे। तर प्रहरीले नियन्त्रणमा लियो। प्रहरीले नियन्त्रणमा लिएपछि बिबादले उग्ररुप लियो। कांग्रेसका दुई पक्षका कार्यकर्ताहरुबीच हानाहान भयो। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस सहित हवाई फायर गर्यो।

संस्थापन र ईतर पक्षबीच भएको उक्त झडपका क्रममा कांग्रेस कार्यकर्ता तथा प्रहरी गरी १० जना घाइते भए। ‘उक्त घटनामा प्रहरी र पार्टीका कार्यकर्ता गरी १० जना घाइते हुनुभयो,’ कांग्रेस प्यूठानका नवनिर्वाचित एक पदाधिकारीले भने, ‘यीमध्ये दुई जना प्रहरी र चार जना कार्यकर्ता गम्भीर घाइते हुनुभयो, र उहाँहरुलाई उपचारका लागि जिल्ला बाहिर पठाइयो।’

यससँगै मतगणना स्थल स्वर्गद्वारी क्याम्पसमा समेत भौतिक क्षति पुगेको ती पदाधिकारीले जानकारी दिए। बिबादका बिच सम्पन्न प्यूठान जिल्लाको अधिवेशनबाट संस्थापन ईतरका गिरी सभापतिमा निर्वाचित भए।

कांग्रेस महाधिवेशन अन्तर्गत रुपन्देहीमा भएका क्षेत्रीय अधिवेशनमा आक्रमणका दुई घटना भए। रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशनका क्रममा संस्थापन ईतर समूहका दिर्घबहादुर केसीमाथि आक्रमण भयो। अनुहारमा गम्भीर चोट लागेका उनको अहिले काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचार भैरहेको छ। क्षेत्रीय नेतृत्व तथा महाधिवेशन प्रतिनिधि चयनका लागि भएको निर्वाचनमा संस्थापन ईतर समूहले अग्रता लिइरहेको थियो। झण्डै डेढ सय मत गणना हुन बाँकी छँदा संस्थापन ईतर समुहको बाहुल्यता देखिने भएपछि महाधिवेशन प्रतिनिधिका उम्मेदवार केसीमाथि अर्को समूहका कार्यकर्ताले आक्रमण गरेको संस्थापन ईतर समुहको दाबी छ। केसी पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भैसकेका छन्।

रुपन्देहीकै क्षेत्र नम्बर ३ अन्तर्गत भएको प्रदेश क्षेत्रीय अधिवेशनका क्रममा भएको आक्रमणमा पनि एक उम्मेदवार गम्भीर घाइते भए। आक्रमणमा परेर प्रदेश क्षेत्र (ख) का सचिव पदका उम्मेदवार शैलेश पन्त सहित ५ जना घाइते भए।

गत ४ गते दाङमा भएको प्रदेश सभा क्षेत्रीय अधिवेशनका क्रममा पराजित एक उम्मेदवारले कांग्रेस जिल्ला सचिव शंंकर डाँगीलाई आक्रमणको प्रयास गरे। आफूलाई हराएको भन्दै डाँगीप्रति क्रुद्ध बनेका ती उम्मेदवार अर्को दिन सार्वजनिक स्थलमै  जाईलागे। ‘अरु मान्छेहरु नभैदिएको भए घटनाले ठूलो रुप लिने थियो,’ क्षेत्र नम्बर ३ का क्षेत्रीय सदस्यका एक उम्मेदवारले भने ‘आक्रमणको प्रयास भएको भएपनि अरु मान्छेहरुले रोके र ठूलो घटना हुन पाएन।’

कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत तल्लो तहका अधिवेशनका क्रममा भएका आक्रमणमा यी ठूला घटनाहरुले कांग्रेसभित्र प्रतिशोध बढाइदिएको छ। मुलतः संस्थापन पक्ष र संस्थापत ईतर पक्ष बिचको आन्तरिक प्रतिष्पर्धाले ‘दुश्मनी’ कै रुप लिएपछि कांग्रेसलाई दीर्घकालीन असर पुग्ने ‘लख’ पार्टी केन्द्रीय नेताहरुले काट््न थालेका छन्। अझ मुलतः महाधिवेशन लगत्तै आउन थालेका स्थानीय तह तथा संसदीय चुनावमा यी घटनाले कांग्रेसलाई ठूलो नोक्सानी पुग्ने कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको बुझाइ छ। ‘अधिवेशनका क्रममा भएका यस्ता घटनाले नेपाली कांग्रेस जस्तो स्वच्छ पार्टीको छवि धमिलियो, यस्ता घटना कांग्रेसको इतिहासमा कहिल्यै भएका थिएनन्’ नागरिकसँग पौडेलले भने, ‘यसले पार्टीलाई दीर्घकालसम्म असर पुग्ने खतरा बढेर गएको छ।’

उनका अनुसार आक्रमणका यी घटनाले पार्टी कार्यकर्ताहरुमा ‘बदलाव’ को भावना विकास गरेको भन्दै पार्टीभित्र कटुता श्रृजना भएको छ। ‘पार्टीभित्र ठूलो कटुता श्रृजना भयो, लगत्तै हुने आम निर्वाचनमा यसको प्रत्यक्ष असर पर्छ नै अब,’ पौडेलले भने, ‘सभापति जिते पनि अधिवेशन शान्तिपूर्ण तरिकाले होओस् भन्ने चाहनु भएको छैन।’ देउवा जसरी पनि आफू पुनः सभापति बन्नैपर्छ भन्ने मानसिकतामा मात्रै रहेको भन्दै पौडेलले यो सोचले पार्टीका कार्यकर्ताभित्र ईख बढेको बताए। ‘जसरी पनि मै सभापति हुनुपर्छ भन्ने सोचले मात्रै सभापति अगाडी बढ्नु भयो,’ पौडेलले भने, ‘पार्टी र राज्य सत्ताको नेतृत्व गरेको मान्छेले अधिवेशनहरु शान्तिपूर्ण बनाउनु पर्छ भन्ने उहाँले सोच्नु भएन।’

पौडेलले अधिवेशनका क्रममा भएका आक्रमण सम्मका घटनाले कांग्रेसलाई आगामी चुनावमा असर पर्ने बिश्लेषण गरिरहँदा संस्थापन पक्षले भने यस्ता घटनाले सिंगो पार्टीलाई असर नपर्ने दाबी गर्छ। कांग्रेसका सहमहामन्त्री प्रकाश शरण महतले केही जिल्लामा भएका आक्रमणका ‘एकाध’ घटनाले सिंगो कांग्रेसनै कमजोर बन्न पुग्यो भनेर विश्लेषण गर्न नहुने बताउँछन्। ‘केही एकाध घटनाहरु भए, तर यी एकाध घटनाका कारण सिंगो कांग्रेसलाई कमजोर बनायो भनेर विश्लेषण गरिनु जायज हैन,’ महतले भने, ‘बरु यी घटनाहरुबाट उत्पन्न परिस्थतिलाई सहज व्यवस्थापन गरेर कसरी पार्टी भित्रको एकतालाई बजबुत बनाउने भन्ने बारेमा सोचिनु पर्छ।’

पार्टीका तल्लो तहका अधिवेशनका क्रममा भएका आक्रमणका घटनासँगै डडेल्धुरा कांग्रेसमा देखिएको बिमतीले पनि केन्द्रीय नेतृत्वलाई थप विभाजित बनाएको छ। सकृय सदस्यतामा केन्द्रले अन्याय गरेको भन्दै डडेल्धुरा कांग्रेसको ठूलो हिस्सा अहिले पार्टी केन्द्रीय कार्यालयमा अनसनमा छ। सभापति देउवाकै गृह जिल्लामा देखिएको यो बिबाद पनि कांग्रेसका लागि आगामी चुनावमा घातक बन्न सक्ने बरिष्ठ नेता पौडेलले देखेका छन्।

‘पार्टीको सभापतिकै गृह जिल्लामा भएको यो बिबादले भोलिको आम चुनावमा कस्तो असर पार्ला?’ पौडेल भन्छन् ‘आफ्नै गृह जिल्लामा भएको यो बिबादप्रति सभापतिजी गम्भिर हुनु भएन, यसले भोलि निम्तन सक्ने खतराप्रति उहाँ सचेत बन्नु पर्दैन?’ उनीहरुको अनसनलाई पौडेल समूहले भने समर्थन गरिरहेको छ। तर देउवा समूहले भने उक्त आन्दोलनलाई गलत मान्छ।

सहमहामन्त्री महतले त सभापति देउवाको बद्नाम गर्नका लागि उनकै गृह जिल्लामा अनावश्यक बिबादको नाटक रचिएको बताए। ‘यो आन्दोलन सभापतिज्यूको बद्नाम गर्नका लागि रचिएको नाटक मात्रै हो,’ महत भन्छन्, ‘त्यहाँ कुनै बिबाद छैन।’ सभापति देउवालाई पुनः सभापति बन्न रोक्नका लागि बिबादको बखेडा झिकिएको बुझाई उनको छ।

महतका अनुसार जिल्लाबाटै सिफारिस भएका सकृय सदस्यहरुको सूचिलाई केन्द्रीय समितिले अनुमोदन गरेर जिल्लामा पठाएको हो। ‘जिल्लाबाटै आएका सकृय सदस्यहरुको सूचिलाई केन्द्रीय समितिले अनुमोदन गरेर पठाइ सकेपछि किन बिबाद गर्नु पर्यो?’ उनले भने, ‘यहाँनेर बिबाद गर्नुपर्ने, आन्दोलनै गर्नुपर्ने त कुनै पनि कारण छैन।’

त्यसो त, जिल्लाका तल्लो तहका अधिवेशनहरुमा देखिएको पार्टीको गुटगत प्रतिष्पर्धाले पनि जिल्ला तहमा प्रतिशोध बढाएको छ। एकले अर्कालाई निषेधै गरेर अगाडी बढ्ने योजना मुताबिक अधिवेशनमा होमिएका संस्थापन र संस्थापन ईतर समुहबीच आगामी चुनावमा पनिमा यसको प्रभाव पर्ने खतरा देखिएको छ।

प्रकाशित: ८ मंसिर २०७८ १२:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App