राजनीति

कांग्रेस महाधिवेशनः तल्लो तहबाटै गुट

नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि अधिकांश वडा तथा नगर/गाउँपालिकास्तरीय अधिवेशन सम्पन्न गरेको छ। केही वटा तथा नगर/पालिकाका अधिवेशन विवादकै कारण ढिलो गरी हुँदैछ।

विवादको मुख्य कारण नीति तथा विचारमा होइन, गुटगत असमझदारी हो। कांग्रेसभित्र देखिएको संस्थापन र संस्थापनइतर समूहबीच एकले अर्कालाई पेल्ने रणनीतिमा लागे। आफ्नो बाहुल्य रहेका क्षेत्रमा फर्जी क्रियाशील सदस्य बढाउनेदेखि मनोमानी ढंगले सदस्यता वितरण गर्नेसम्म कांग्रसभित्रको गुट हावी रह्यो।

तल्लो तहबाटै दुई कित्तामा विभाजन भएको कांग्रेसले यसपालि पनि पुरानै परम्परा अंगाल्यो। पार्टीको नीति र विचार केन्द्रीत बहस हुने ठाउँमा व्यक्ति र गुटमाथि बहस र छलफल भए। उम्मेदवार पनि त्यसरी नै छनोट भए र हारजितको परिणाम पनि त्यसरी नै आयो। यसले के संकेत गर्छ भने कांग्रेसमा पार्टीको मूल नीति र विचार सहायक हुँदै गयो र व्यक्ति तथा गुट मुख्य हुँदै गयो। नेपाली कांग्रेसजस्तो लामो इतिहास बोकेर आएको लोकतान्त्रिक पार्टीमा यो स्वभनीय नभएको कार्यकर्ताहरुको भनाइ छ। ‘उम्मेदवारहरु विभाजित भएर आए,’ नेपालगन्जका विकास थारुले भने, ‘आफ्नो मताधिकार प्रयोग गर्न पनि बाध्य भएर एकतिर भाट हाल्नु पर्यो।’ ‘पार्टीभित्रको आन्तरिक गुटलाई प्रश्रय नदिइ सहमति वा गुटबिनाको चुनाव भएको भए राम्रो हुन्थ्यो,’ उनी भन्छन्।

यसले तत्काल व्यक्तिलाई केही लाभ वा फाइदा पुगे पनि अन्ततः यसले सिंगो पार्टीलाई नै बेफाइदा र अफ्ठ्यारो मोडमा पुर्याउने निश्चित छ। जबसम्म पार्टीको नीति र विचार प्रमुख बन्दैन तबसम्म पार्टी विधि, विधानसँग चल्दै र सदृढिकरण पनि हुन नसक्ने उनको भनाइ छ।

अहिले भइरहेको अधिवेशनमा समूहगतमा विभाजन हुँदा सक्षम नेतृत्व पार्टीले पाउनबाट चुकेको छ। पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका वडा, नगर तथा पालिकामा गुटगत मानसिकता हावी हुँदा सक्षम व्यक्ति नेतृत्वसम्म पुग्नबाट वञ्चित भएका छन्।

समूह र व्यक्ति केन्द्रीत कार्यकर्ता विभाजित हुँदा पार्टीलाई जीवित र चलायमान पार्ने नेतृत्व पाउने अवसर गुम्ने नेपाली कांग्रेस बाँकेकी नेतृ उमा थापाले बताइन्। ‘पार्टीको मूल नीति र विचारलाई सहायक बनाएर समूह र व्यक्ति केन्द्रीत हुँदा सक्षम नेतृत्व पाउन सकिँदैन,’ उनले भनिन्, ‘कतिपय ठाउँमा यसरी जाँदा असक्षम व्यक्ति नेतृत्वमा पुगेको छ।’ त्यस्तो नेतृत्वले कसरी पार्टीलाई संगठित र सदृढिकरण गर्ला भन्दै उनले भनिन्, ‘पार्टीलाई जीवन्त राख्न समूह र व्यक्तिभन्दा पार्टी मुख्य हुनुपर्छ।’

तल्लो तह मानिएका अधिवेशनहरुको अवस्था हेर्दा यसले त्यहाँ मात्र होइन, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रमा समेतलाई असर पुर्याउने देखिन्छ। ति महाधिवेशन तथा अधिवेशनलाई लक्षित गरेर नै तल्लो तहमा गुट बढी हाबी भए। मतदाता तल्लो तहबाट छनोट हुने हुँदा पार्टीभित्रका गुटगत नेतृत्व त्यहाँसम्म प्रभाव पार्छन्। क्रियाशील सदस्यलाई आफू अनुकूल प्रभावमा पार्दा आफ्नो पद सुरक्षित हुने अपेक्षा गुटगत नेतृत्वको छ। तर यो राम्रो होइन र हुँदैन। क्रियाशील सदस्यलाई आफूले चाहेको व्यक्तिलाई मतदान गर्न दिनुपर्ने नेपाली कांग्रेस बाँकेका युवा नेता पोषण केसीले जनाए।

‘नेपाली कांग्रेसका अधिकांश क्रियाशील सदस्यले त आफूले रोजेको नेतृत्वलाई मतसमेत दिन पाएनन्,’ उनले भने, ‘जसको मुख्य कारण नै गुट हो।’ आफूले चाहेका व्यक्तिलाई मत दिन नसक्ने गुटगत मानसिकताबाट लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस कहाँ पुग्ला? यसको समीक्षा गर्नुपर्ने बेला आएको छ।

प्रकाशित: ८ मंसिर २०७८ ११:१२ बुधबार

नेपाली कांग्रेस क्रियाशील