१४औँ महाधिवेशन अन्तर्गत सकृय सदस्यता सम्बन्धी बिवादले पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा कांग्रेस भित्र दुई कित्ता बन्यो। जिल्ला कार्य समितिले सिफारिस गरेका कुल ५ हजार ४ सय ८ जनाको नामावलीलाई केन्द्रीय समितिले घटाईदियो। जिल्ला कार्य समितिले सिफारिस गरेको सकृय सदस्य संख्या मध्य ४ सय ६० जना सदस्यको नाम काटेको कांग्रेसले ३ सय १२ जना सदस्य थप गरेर जिल्लामा पठायो। जबकी केन्द्रले थपेर पठाएका यि ३ सय १२ जना जिल्ला कार्य समितिबाट सिफारिस गरे भन्दा बाहिरका थिए।
आफ्नो सिफारिसलाई केन्द्रले लत्याएर सिफारीसै नगरिएकाहरुलाई सदस्यता दिलाएपछि कांग्रेसको जिल्ला नेतृत्वको बहुमत संख्या असन्तुष्ट बन्यो। तर यो असन्तुष्टिलाई केन्द्रीय नेतृत्वले सम्बोधन गरेन , उल्टै पेलेरै वडा देखि जिल्ला अधिवेशन सम्पन्न गरिदिएपछि डडेल्धुरा कांग्रेसको ठूलो जत्था अहिले केन्द्रीय कार्यालय सानेपामा धर्ना बसिरहेको छ। १ मंसिरदेखि सुरु भएको यो धर्नाको नेतृत्व कांग्रेस डडेल्धुराका सभापति कर्ण मल्लले गरिरहेका छन्।
‘हामीहरुले राखेको माग जायज छैन, गल्ती छ भनेर नेतृत्वले भन्छ भने हामीहरु अनसनबाट पछि हट्न तयार छौँ,’ सभापति मल्लले भने ‘कुन जिल्लामा जिल्ला कार्य समितिको बैठकको निर्णय बेगर अधिवेशनहरु भएका छन्? नेतृत्वले यसको जवाफ दिने कि नदिने?’ तर आफ्नै गृह जिल्लामा देखिएको यो बिवाद समाधानका लागि सभापति तथा प्रधानमन्त्री देउवाले अहिले सम्म चासो नै दिएका छैनन्। उल्टै जिल्ला कार्य समितिको ठूलो हिस्साको असहमतीलाई बेवास्ता गर्दै धमाधम अधिवेशनहरु उनै देउवाको निर्देशनमा भैरहेको यो समुहको दाबी छ। देउवाकै योजना मुताबिक बिबाद ल्याईएको भन्दै आफ्नो आन्दोलनलाई यो समुहले देउवा बिरोधी भनिरहेको छ।
२२ भदौमा डडेल्धुरा कांग्रेसको जिल्ला कार्यसमितिको बैठक बस्यो। केन्द्रबाट ‘फर्जी’ सदस्य थप गरिएको बिबादले उक्त बैठकमा स्थान पायो। बैठकमा जिल्ला सभापति मल्ल सहित जिल्ला कार्य समितिका २० मध्य ७ जना बाहेक अन्य पदाधिकारी तथा सदस्यहरु वडा अधिवेशन स्थगित गर्नु पर्ने निचोडमा पुगे। उक्त बैठकको निर्णयमा जिल्ला अधिवेशनका लागि खटिएका निर्वाचन अधिकृतले हस्ताक्षर गर्न मानेनन्। उनि बैठकबाटै बाहिरिए। ‘अनि उहाँले फेसबुकमार्फत २५ भदौमा वडा अधिवेशन हुने भन्दै निर्वाचन तालिका सार्वजनिक गर्नुभयो,’ मल्ल भन्छन् ‘हामीहरुले यसको बिरोध गर्यौँ, जिल्ला कार्य समिति बैठकले अधिवेशन स्थगित गर्ने भनेर गरेको निर्णयका बारेमा कांग्रेसका मुख्य निर्वाचन अधिकृत महादेव यादवलाई पनि जानकारी गरायौँ।’
यादवले अधिवेशन केहि दिन स्थगित गर्ने आश्वासन दिएको भएपनि संसथापन पक्षले प्हरी लगाएर वडा अधिवेशन गराएको दाबी सभापति मल्लले गरे। ‘सशस्त्र प्रहरी र नेपाल प्रहरीको ठूलो जत्था उतारियो,’ मल्लले भने ‘प्रहरीको पहराभित्र वडा अधिवेशन गराईयो, यहाँ सम्मकी वडा वडा सभापतिहरुलाई कार्यालय बाहिर निकालेर समेत अधिवेशन गराईयो।’ उनका अनुसार यो अधिवेशन अवैध थियो। ‘नेपाली कांग्रेसको बिधान र नियमावली अनुसार जिल्ला कार्य समितिको निर्णय तथा शुभेच्छुक संस्थाहरुको सुझावका आधारमा अनुमोदन गराएर मात्रै अधिवेशन गराईनु पर्ने हो,तर जिल्ला समितिलाई नटेरेरै अधिवेशन गराईयो, यो कसरी बैध हुन सक्छ?’ मल्ल भन्छन्।
जिल्ला कार्य समितिले २९ गते ६३ पेज लामो उजुरी केन्द्रीय कार्यालयमा दियो। तर यो जुरी उपर पनि सभापति देउवा मौन नै बसे। अनि जिल्लामा असन्तुष्ट समुहले अनसन थाल्यो। ६ असोज देखि सुरु भएको अनसन ११ औँ दिन १७ असोजमा अन्त्य भयो। अनसन अन्त्यको कारण थियो, संस्थापन ईतरले माग सम्बोधनका लागि पहल गर्ने बचन। त्यो बेला कांग्रेस नेताहरु शेखर कोइराला,अर्जुननरसिंह केसी, गुरु घिमिरे डडेल्धुरा पुगेरै माग सम्बोधन हुने आश्वासन दिएका थिए। ‘केन्द्रीय नेताहरु आएर हाम्रो माग सम्बोधन गरिदिने आश्वास दिएपछि हाम्रो अनसन स्थगित भयो,’ मल्ल भन्छन् ‘तर माग भने सुनुवाई नै भएन।’
जिल्लामा अनसन थालेको यो समूहले आफ्नो अनसनलाई १ मंसिर देखि सानेपा केन्द्रीत गर्यो। यो अनसनलाई पनि देउवाले मतव राखेनन्। संस्थापन समुहले ३ गते प्रदेशसभा क्षेत्रको अधिवेशन सम्पन्न गराईसक्यो भने सोमबार जिल्ला अधिवेशन गराएको छ। जिल्ला अधिवेशन चल्दा कांग्रेसको जिल्ला नेतृत्वको ठूलो हिस्सा भने सानेपा अनसनमा छ। ‘जिल्लामा भएका अधिवेशन कांग्रेसका हैनन्, एउटा गुटका अधिवेशन हुन्,’सभापति मल्लले भने ‘हामीहरुले यि अधिवेशनलाई पार्टीका अधिवेशन मान्दैनौँ।’ यसैगरि प्रदेशसभा क्षेत्रका सभापतिहरुको सहभागीता बिनै पनि प्रदेशसभा क्षेत्रका अधिवेशनहरु गराईए।
‘प्रदेशसभा क्षेत्रका दुबै जना सभापतिहरु हामी अनसनमै छौँ, तर जिल्लामा भने प्रदेश क्षेत्रको अधिवेशन भैसके,’ डडेल्धुरा प्रदेशसभा क्षेत्र क का सभापति मानबहादुर बुढा मगरले भने ‘यो जस्तो अराजक अरु के हुन्छ ?’ मगर सानेपामा अनसनरत छन्। सानेपा केन्द्रीत अनसन थालेका असन्तुष्ट समुहले सभापति देउवाले आँफूहरुलाई भेट्नै नचाहेको दाबी गरेका छन्। उनिहरुले आफ्नो माग सभापतिलाई राख्न चाहेको भएपनि देउवाले समय दिनै नचाहेको उनिहरुको दुखेसो छ।
‘हामीहरुले सभापति देउवासंग भेट्का लागि धेरैपटक समय माग्यौँ, तर उहाँले हामीहरुले वास्ता नै गर्नुभएन,’ प्रदेश क्षेत्र क का सभापति मगरले भने ‘हामी माथ देउवाबाटै अपराध भएको छ।’ यो समुहलाई संसथापन ईतर समुहले भने साथ दिएको छ। तर देउवाले भने यो समुहले राखेको मागलाई मतलवै गरेका छैनन्। उल्टै पेलेरै अधिवेशन गर्न आफ्नो समुहलाई निर्देशन दिएको उनिहरुको भनाई छ। ‘हामीहरुले लिखित मौखिक रुपमा पटक पटक हाम्रा माग सम्बोधनका लागि जानकारी गरायौँ,’ जिल्ला सभापति मल्लले भने ‘तर आफ्नै जिल्लामा देखिएको यो बिकराल समस्या प्रति देउवा अनुदार देखिनु भयो।’
समस्या समाधानका लागि यो समुहले प्रमुख निर्वाचन अधिकृतलाई सोमबार भेटेको छ। उसले माग कार्यान्वयनका लागि ध्यानाकर्षण गराएको जिल्ला सभापति मल्लले बताए। ‘यदि बिधि र नीति नियम विपरित हाम्रो माग छ भने हामीहरुले अहिलेनै अनसन छोडेर बस्छौँ भनेका छौँ,’ उनले भने ‘हेरौँ, उहाँले कसरी लिनुहुन्छ?’ १ मंसिर देखि पार्टी केन्द्रीय कार्यालयमा अनसन थालेका डडेल्धुराका कांग्रेसीहरुले माग सम्बोधन नभए आन्दोलन नरोकिने चेतावनी समेत दिएका छन्। प्रदेश क का सभापति बुढा मगरले भने ‘हाम्रो माग सम्बोधन नभए सम्म हामी आन्दोलनमै छौँ, र सभापति देउवाले यो पनि ख्याल गर्नु पर्यो कि यसले आगामी चुनावलाई कति सम्म असर पार्छ भन्ने।’
प्रकाशित: ६ मंसिर २०७८ १४:१३ सोमबार