राजनीति

बाँकेको ५ वटा प्रदेश सभा क्षेत्रमा संस्थापन र एउटा क्षेत्रमा संस्थापन इतरको जित

नेपाली कांगे्रेसको १४औं महाधिवेशन अन्तर्गत बाँकेका ५ वटा प्रदेश सभा क्षेत्रमा संस्थापन (देउवा) पक्षले जितेको छ। कूल ६ वटा प्रदेश सभा क्षेत्रमध्ये संस्थापनले ५ र संस्थापन इतर(कोइराला/पौडेल) पक्षले एउटा क्षेत्र जितेको हो। निर्वाचन कार्यक्रम अन्तर्गत दुई वटा क्षेत्रमा निर्विरोध र चार वटामा मतदान गराइएको थियोे। संस्थापन इतर पक्षले बाँके प्रदेश सभा १(ख) बाहेक अन्य सबै क्षेत्रमा हार बेहार्नु परेको छ।  

प्रदेश सभा क्षेत्र नम्बर १ (क) को सभापतिमा लक्ष्मण थारुसहित संस्थापन पक्षको प्यानलै निर्वाचित भएको छ। लक्ष्मणले संस्थापन इतरका जुगलाल थारुलाई पराजित गरे। प्रदेश सभा १(ख) मा भने सभापतिमा बलराम शर्मासहित उनको प्यानलै निर्वाचित भएको छ। शर्माले संस्थापन पक्षका महाबीर ओलीलाई पराजित गरेका हुन्।  

यस्तै प्रदेशसभा २ (क) मा सभापति ज्ञानेन्द्रकुमार चौधरीसहित उनको प्यानल निर्वाचित भएको छ। चौधरीले संस्थापन पक्षकै शिवकुमार बर्मालाई पराजित गरे। चौधरी जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख पनि हुन्। उनी यसअघि संस्थापन इतर पक्षमा रहेपनि प्रदेश सभा क्षेत्रमा सभापतिको उम्मेदवारसँगै संस्थापन (देउवा) पक्षमा खुलेका हुन्। चौधरीलाई संस्थापन पक्षले आफ्नो आधिकारिक उम्मेदवार बनाएर जिताएको उक्त पक्षले बताइरहेको छ।  

संस्थापन पक्षका कांग्रेस केन्द्रिय सदस्य किशोरसिंह राठौर, कांग्रेस नेता एवम् पुर्वमन्त्री गजेन्द्र हमाल, लुम्बिनी प्रदेशका मन्त्री एवम् कांग्रेस नेता सुरेन्द्र हमाल लगायतले चौधरीको खुलेरै प्रचार गरेका थिए। यस्तै प्रदेश सभा क्षेत्र नम्बर २ (ख) को सभापतिमा जितेन्द्रबहादुर हमालसहित संस्थापन पक्षको प्यानलै निर्वाचित भएको छ। हमालले निकटतम प्रतिद्वन्द्वी  संस्थापन इतरका अखबर अलि दर्जीलाई हराएका हुन्।

बाँकेको प्रदेश सभा ३ (क) र (ख) मा संस्थापन पक्षकै निर्विरोध निर्वाचित भए। प्रदेश सभा क्षेत्र नम्बर ३ (क)को सभापतिमा केशवकुमार शाह र प्रदेश सभा ३ (ख)को सभापतिमा राजेन्द्रकुमार आचार्य निर्विरोध निर्वाचित भएका हुन्।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेको ३ वटा प्रतिनिधी सभा क्षेत्रमा बुधबार उम्मेदवारी मनोनयन र बिहीबार मतदान कार्यक्रम राखिएको निर्वाचन अधिकृत रेवती रमण भट्टराईले जानकारी दिए। बाँकेको प्रतिनिधी सभा क्षेत्र नम्बर १, क्षेत्र नम्बर २ र क्षेत्र नम्बर ३ मा बुधबार बिहान १० बजेबाट एकैसाथ मतदाता नामावली प्रकाशन, उम्मेदवारी मनोनयन लगायत निर्वाचन कार्यक्रम सुरु हुने उनले बताए।

प्रकाशित: ६ मंसिर २०७८ १२:४८ सोमबार