राजनीति

सुनसरीमा देउवा पक्ष कमजोर, संस्थापन इतर समूह बलियो

नेपाली काँग्रेसको सुनसरीमा पार्टी सभापति शेरबहादुर देउवा पक्ष कमजोर देखिएको छ। यहाँ संस्थापन इतर पक्षीय (वरिष्ठ नेता रामचन्द्र पौडेल(शेखर कोइराला) बलियो देखिएको छ।

१४ औं महाधिवेशन अन्र्तगत शनिबार भएको प्रदेश सभा निर्वाचनमा जिल्लाका आठवटा निर्वाचन क्षेत्रमध्ये तीनवटामा देउवा पक्षीयको नेतृत्व विजयी भएको छ। अन्य पाँचवटा निर्वाचन क्षेत्रमा संस्थापन इतर पक्ष विजयी भएको छ।

काँग्रेसको गाउँ÷नगरको अधिवेसनमा पनि देउवा पक्षीय कमजोर देखिएको थियो।  यहाँ १२ वटा स्थानीय तह रहेकोमा ११ वटामा भएको निर्वाचनमा तीनवटा स्थानीय तहमा देउवा पक्षीयले जितेको थियो भने एउटामा विजयी नेतृत्व ‘क्लियर’ खुलेका छैनन्। भोक्राहा नरसिंहमा दुई पक्षीय विवादले गर्दा निर्वाचन अहिलेसम्म हुने सकेको छैन्।

प्रदेश सभाको निर्वाचनमा देउवा पक्षको अपेक्षाकृत सुधार भएपनि इतर समूहभन्दा कमजोर नै रहेको हो। यहाँ हेबी वेटका नेता बिजयकुमार गच्छदार, ज्ञानेन्द्रबहादुर कार्की, मिन विश्वकर्मा, संघीय सांसद तथा पूर्व राज्यमन्त्री सीताराम मेहता, नेपाली काँग्रेस प्रमुख प्रतिपक्ष दल प्रदेश नं. १ का संसदीय दलका नेता राजीव कोइराला, नेपाल विद्यार्थी संघका केन्द्रीय सभापति राजीव ढुंगानालगायतको गृह जिल्ला हो। जसमा राजीव कोइरालाबाहेक अन्य सवै संस्थापन पक्षका नेता हुन्।

निर्वाचनमा क्षेत्र नं. १ को प्रदेशसभा ‘क’ र ‘ख’ मा संस्थापन इतर समूह अनिल श्रेष्ठ र मुरारी भट्टराईको प्यानल नै विजयी भएको छ। प्रदेश प्रतिनधीमा पनि संस्थापन इतर समूहकै प्यानल विजयी भएको छ। संस्थापन पक्ष देउवाबाट उम्मेदवार बनेका मदन ढकाल र अजयकुमार राई पराजित भए।

क्षेत्र नं. २ ‘क’ मा संस्थापन पक्षीयका सुवेक्छु देवानको नेतृत्व टीम विजयी भएको छ। देवानले संस्थापन इतरका धनबहादुर पुरी नेतृत्व टीमलाई पराजित गरेको हो। यहाँ प्रदेश प्रतिनिधी तीन जना संस्थापन इतर समूह विजयी भएका छन्।

क्षेत्र नंं. २ ‘ख’ मा देवानगञ्जका श्यामलाल मेहता सर्वसम्मतबाट चयन भएका छन्। पछिल्लो समय उनी संस्थापन इतर समूहमा लागेका छन्। यहाँ मेहताबाहेक अन्य पदमा पनि दुई पक्षीयलाई समेटिएको छ भने प्रदेश प्रतिनिधीमा पनि दुवै पक्षलाई समेटिएको छ।

क्षेत्र नं. ३ ‘क’ बाट संस्थापन इतर समूहका दिपक ढकाल सर्वसहमत विजयी भएका छन्। अन्य टीम र प्रदेश प्रतिनिधीमा संस्थापन र संस्थापन इतर दुवै समूहलाई समेटेर सर्वसहमत गरिएको नेता ओम थापाले बताए।

यस्तै, क्षेत्र नं. ३ ‘ख’ मा पनि चिरण चौधरी सभापतिमा सर्वसहमत चयन भएका छन्। अन्य पदाधिकारी र प्रदेश प्रतिनिधी पनि सर्वसहमत नै चयन गरिएको छ। यद्यपी, विजय गच्छदारको गृह नगर समेटिएको स्थान रहेकाले प्रायः अधिकतर प्रदेश प्रतिनिधी उनै पक्षीय रहेका छन्।

क्षेत्र नं. ४ ‘क’ को सभापति पदमा उपेन्द्र कट्वाल बिजयी भएका छन्। उनी देउवा पक्षीय हुन्। उनले संस्थापन इतरका नवराज बस्नेतलाई हराए। अन्य पदाधिकारी पनि कट्वाल समूहले जितेको छ। प्रदेश प्रतिनिधी पनि यहाँ देउवा समूहकै बढी छन्। यस्तै, क्षेत्र नं. ४ ‘ख’ मा संस्थापन इतरका भिखारी मण्डलले हारुण अन्सारीलाई चार मतको अन्तरले हराएका छन्। सभापतिबाहेक अन्य पदमा भने अन्सारी समूह विजयी भएका छन्।

प्रकाशित: ५ मंसिर २०७८ १२:४१ आइतबार

नेपाली कांग्रेस