राजनीति

उदयपुरका ७५ मध्ये ७० वडामा माओवादी अधिवेशन सम्पन्न

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) उदयपरुले जिल्लाभरी वडा अधिवेशन शनिबार एकैदिन सुरु भएको छ। जिल्लाका ७५ वडा सबैमा एकैदिन अधिवेशन गर्ने केन्द्रीय निर्देशन अनुसार अधिवेशन आयोजना गरिएको पार्टीले जनाएको छ।

जिल्ला समन्वय कमिटी अध्यक्ष विनोद कटुवालका अनुसार प्र्राविधिक कठिनाईका कारण सदरमुकाम त्रियुगा नगरपालिकाका ४ र कटारी नगरपालिका २ बाहेक सबै वडामा अधिवेशन सुरु भएको छ। कटारी २ लगायत बाँकी वडाको अधिवेशन ५ गते विहानै सुरु हुने अध्यक्ष कटुवालले बताए।

त्रियुगा नगरपालिकाका १६ वडामध्ये ४ वटाबाहेक सबैमा अधिवेशन सम्पन्न भएको छ। त्रियुगाका १, ७, ९ र १३ नं (वडाबाहेक) सबै वडामा अधिवेशन चलिरहेको र अधिकतम वडामा सर्वसम्मत कमिटी गठन भईरहेको खवर प्राप्त भएको नगर कमिटी सचिव गीता खड्काले बताइन्। उनका अनुसार ४ गते सम्पन्न गर्न नसकिएका वडा अधिवेशन आइतबार विहानै सुरु हुनेछ।

सदरमुकाम गाईघाटसमेत समेटिएको वडा भएकाले सबभन्दा महत्वपूर्र्ण मानिएको त्रियुगा ११ को अधिवेशन सौहार्दपूर्ण रुपमा सम्पन्न भइसकेको छ।

त्रियुगा गनरपालिकाका १६ वटै वडा, चौदण्डीगढी नगरपालिकाका १० र बेलका नगरपापिलका ९ वटै वडा कमिटीको अधिवेशन पनि चलिरहेको छ। ४ गाउँपालिका रहेको उदयपुरमा लिमचुङबुङका ५ वटै वडामा अधिवेशन चलिरहेको र ४ नंं वडाका अधिवेशन सकिएको छ।

अधिवेशनले शिवकुमार खड्काको अध्यक्षतामा २९ सदस्यीय कमिटी चयन गरेको छ। अधिवेशन आयोजक कमिटीका संयोजकसमेत रहेका खड्कालाई सर्वसम्मत अध्यक्षमा चयन गरिएको निर्वाचन समिति संयोजक भोटराज राईले बताए।

उनका अनुसार कमिटीको उपाध्यक्षमा राम बराईली, सचिव सोनामसिंह दनुवार, सहसचिव मनिषा राई र कोषाध्यक्षमा बिमला बस्नेत छानिएका छन्।

अधिवेशनले ९ जना नगर प्रतिनिधि र पुराना बामपन्थी विश्वेश्वर राईको संयोजकत्वमा ६ सदस्यीय सल्लाहकार कमिटी पनि गठन गरेको छ। त्यस्तै २ जना जेष्ठ नागरिक प्रतिनिधिको पनि चयन गरेको पार्टीले जनाएको छ।

उता लिमचुङबुङ गाउँपालिका ४ बलम्तामा सम्पन्न.अधिवेशनले गणेश राईको सर्वसम्मत कमिटी चयन गरेको पार्टीका गाउँपालिका अध्यक्ष होम किरातीले बताए। उनका अनुसार अन्य वडाहरु १ नंं. बाँसबोटे, २ ताम्लिछा, ३ बाराहा र ५ जाँतेमा अधिवेशन चलिरहेको छ। ती वडाहरुमा कमिटी चयन गर्न केही समय लाग्ने किरातीले बताएका छन््। ५ नं. वडा जाँतेमा भने अध्यक्षका आकांक्षी आधादर्जन बढी देखिएपछि नेतृत्व चयन हुन ढिला भइरहेको छ। गाउँपालिका कमिटी सदस्य दिनेश राईका अनुसार त्यहाँ ८ जनाले अध्यक्षमा दाबी गरिरहेका छन्।

अन्य गाउँपालिकाहरु उदयपुरगढीका ८ वडामध्ये ६ बाहेक सबैमा कमिटी सर्वसम्मत गठन भइसकेको छ। रौताका ८, ताप्लीका ५ वडामा पनि अधिवेशन चलिरहेको खवर प्राप्त भएको छ।

कटारी नगरपालिकाका १४ मध्ये १३ वडाको अधिवेशन चलिरहेको र कमिटी चयनको नतिजा आउन बाँकी रहेको छ। त्यस्तै चौदण्डीगढीका १० तथा बेलका नगरपालिकाका ९ वटा सबै वडामा अधिवेशन चलिरहेको छ। सबैको नतिजा थाहा पाउन भने भोलि विहानसम्म कर्नुपर्ने अध्यक्ष कटुवालले बताए।

प्रकाशित: ४ मंसिर २०७८ १३:५४ शनिबार

त्रियुगा नगरपालिका सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)