राजनीति

कांग्रेस म्याग्दीको सभापतिमा गर्बुजा सर्वसम्मत चयन

नेपाली कांग्रेस म्याग्दीको सभापतिमा खमबहादुर गर्बुजा (खम्बिर) सर्वसम्मत चयन भएका छन्। सदरमुकाम बेनीमा बुधबारदेखि सुरु भएको सातौं जिल्ला अधिबेशनबाट नयाँ नेतृत्वका लागि सभापति पदमा गर्बुजाको मात्र उमेद्वारी परेको थियो। 

बेलायती गोर्खा सैनिकका सेवानिबृत्त गर्बुजालाई सभापतिका आँकाक्षी मानिएका निर्वतमान सभापति रेशमबहादुर बानियाँले समेत सहमति र सहकार्यको राजनीतिलाई प्राथमिकता दिदैं सघाएपछि निर्विरोध भएका हुन्। गर्बुजा यसअघि पनि जिल्ला सभापति थिए।

जिल्लाको रघुगंगा गाउँपालिका वडा नं ४ दग्नाम निवासी गर्बुजा बि.स. २०७० र ७४ को संसदीय निर्वाचनमा नेपाली कांग्रेसबाट उमेद्वार बनेर पराजित भएका थिए। सभापति गर्बुजाले प्रतिनिधिसभाको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका साझा उम्मेदवारसँग कडा प्रतिस्पर्धा गरेका थिए। नेपाली कांग्रेसबाट आगामी प्रतिनिधिसभा सदस्य पदका लागि समेत सभापति गर्बुजालाई आकाँक्षी मानिएको छ। गर्बुजा सभापति शेरबहादुर देउवा निकट हुन्। 

त्यसैगरी अधिवेशनमा पार्टीको उपसभापतिमा माधबप्रसाद रेग्मी, हरिकुमार श्रेष्ठ, मिनबहादुर कार्की, कर्णबहादुर भण्डारी केबी, डमबहादुर पुन र कमल छन्त्याल रहेका छन्। सचिव पदमा अजय मिलन श्रेष्ठ, भरबहादुर रकाल, दुर्गाराम सुबेदी, हिराबहादुर पुन, सहसचिवमा श्रीराम पौडेल, कोमलप्रसाद उपाध्याय र धुब्रराज कार्कीले उम्मेदवार दिएका छन्। 

सभापतिमा निर्विरोध भएपनि पदाधिकारी, कार्यसमिति सदस्य सहित महाधिवेशन प्रतिनिधिमा भने आवश्यक भन्दा धेरैले मनोनयन दर्ता गरेको निर्वाचन समितिका सदस्य प्रकाश सुबेदीले जानकारी दिनुभयो। अधिवेशनमा ७ सय ५० जना प्रतिनिधिले सहभागिता जनाएका छन्। त्यस्तै मनोनयन दर्तामा नौ जना जिल्ला कार्यसमिति सदस्य र तीन जना महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत भएको निर्वाचन समितिका सदस्य प्रकाश सुबेदीले जानकारी दिए। 

महिला सदस्यतर्फ बेनी नगरपालिकाकी मनकुमारी तुलाचन, अन्नपूर्ण गाउँपालिकाकी पुष्पा बानियाँ बरुवाल, मालिका गाउँपालिकाकी मनरुपा पुन, चमु पुन, मंगलाकी युगकुमारी सेन, धवलागिरीकी रामदेबी पुन, खसआर्य तर्फका सदस्यमा लक्ष्मीकुमारी केसी, आदिवासी जनजाती महिला सदस्य तुलसीदेबी पुर्जा र ललिता तिलिजा सर्वसम्मत भएका हुन्।  

महाधिवेशन प्रतिनिधितर्फ दलित कोटामा यामबहादुर हर्मेल, श्रीलोकचन्द्र विश्वास विक र अपाङ्ग (अन्य) सुरेन्द्र खत्री चयन भएका छन्। दुई जना उपसभापतिमा डमबहादुर पुन, हरिकुमार श्रेष्ठ, माधवप्रसाद रेग्मी, मिनबहादुर कार्की, कर्णबहादुर भण्डारी केबी र कमल छन्त्यालले मनोनयन दर्ता गरेका छन्। 

जिल्ला सचिवको दुई पदमा निर्वतमान सहसचिव भरत रकाल र प्रबक्ता अजयमिलन श्रेष्ठ, शिक्षक संघका निर्वतमान सभापति दुर्गाराम सुबेदी र हिराबहादुर पुनले उम्मेदवारी दिएका छन्। त्यस्तै सहसचिवमा श्रीराम पौडेल, ध्रुबराज कार्की र कोमलप्रसाद उपाध्यायको उमेद्वारी परेको छ। पदाधिकारी, जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि प्रतिनिधिमा समेत सर्वसम्मतिका लागि नेतृत्वलाई दवाव दिएको बेनी नगर सभापति रबिन्द्र कार्कीले बताए। अधिवेशनमा सहभागी प्रतिनिधिले एकता र सहकार्यको अधिवेशन बनाउँदै अगाडी बढ्न समेत नेतृत्वलाई दवाव दिएका छन्।

प्रकाशित: १ मंसिर २०७८ १२:१५ बुधबार

कांग्रेस म्याग्दीको सभापतिमा गर्बुजा सर्वसम्मत चयन