राजनीति

एमाले महाधिवेशन: एघार जिल्लाबाट प्रतिनिधिको विवरण आउन बाँकी

नेकपा (एमाले) को दसौँ राष्ट्रिय महाधिवेशनका लागि ११ जिल्लाबाट अझै प्रतिनिधिको विवरण आउन बाँकी रहेको छ। ती जिल्लामा प्रतिनिधि छनोट भइसके पनि प्राविधिक कारणले विवरण अझै नआएको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए।

उनका अनुसार कैलाली, कञ्चनपुर, बाजुरा, ताप्लेजुङ, पाँचथर, सुनसरी, सप्तरी, सिराहा, महोत्तरी, रौतहट र धनुषाबाट निर्वाचित भएका प्रतिनिधिको विवरण अझै प्राप्त नभएको हो। 'महाधिवेशनका लागि सबै जिल्ला, विभाग र जनसङ्गठनमा प्रतिनिधि छनोट सम्पन्न भइसकेको छ', उनले भने,'तर केही प्रक्रिया पुर्‍याउनुपर्ने भएकाले ती जिल्लाबाट विवरण आउन ढिलाइ भएको हो।'

यस्तै २२ जनसङ्गठनमध्ये छ वटाबाट प्रतिनिधिको विवरण नआएको उनको भनाइ छ। एमालेले कात्तिक ३० गतेसम्म प्रतिनिधिको विवरण पठाउन निर्देशन दिए पनि ती जिल्ला र जनसङ्गठनबाट विवरण नआएको हो। उनले बिहीबारसम्म सबै जिल्ला र जनसङ्गठनको विवरण आउने बताए। एमालेमा एक निर्वाचन क्षेत्रबाट एक महिला, एक दलितसहित पाँच र जनसङ्गठनबाट पाँचजनाका दरले प्रतिनिधि छनोट गरिएको छ।

यही मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि एमालेले कात्तिक २७ गते देशभर एकैसाथ प्रतिनिधि छनोट गरेको थियो। महाधिवेशनका लागि धेरै जसो जिल्ला कमिटीमा सर्वसम्मत प्रतिनिधि छनोट गरिएको एमाले प्रचार विभाग उपप्रमुख थापाले बताए।

चितवनमा हुने महाधिवेशनमा देशभरिबाट एक हजार ९९९ प्रतिनिधि सहभागी हुने भएका छन्। महाधिवेशनले १५ केन्द्रीय पदाधिकारीसहित २२५ केन्द्रीय कमिटी सदस्य र लेखा आयोग तथा अनुशासन आयोगमा १५/१५ जना निर्वाचित गर्नेछ। महाधिवेशन गर्न एमाले नेता रामबहादुर थापाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ।

प्रकाशित: १ मंसिर २०७८ ०८:०९ बुधबार

एमाले महाधिवेशन एघार जिल्लाबाट प्रतिनिधिको विवरण आउन बाँकी