राजनीति

कांग्रेस अधिवेशनः मतदानस्थल तोकियो, दुई हजार क्षेत्रीय प्रतिनिधि

नेपाली कांग्रेस यतिबेला महाधिवेशनको संघारमा छ। वडास्तरीय अधिवेशन टुंग्याएको कांग्रेसले आगामी मंसिर पहिलो साता जिल्ला, क्षेत्र र प्रदेश सभा अधिवेशन टुंग्याउने चरणमा छ। अधिवेशनको लागि कांग्रेसले विभिन्न तहको अधिवेशनको लागि मतदानस्थल तोकिदिएको छ।  

कास्कीका तीनैवटा निर्वाचन क्षेत्रमा २ हजार भन्दा बढी क्षेत्रीय प्रतिनिधिहरु मतदानमा सहभागि हुने कास्की कांग्रेसले जनाएको छ। नेतृत्वको लागि उम्मेदवारहरु चुनावी लबिङमा सक्रिय छन्। जिल्ला, क्षेत्र र प्रदेश अधिवेशनमा मनोनयनको लागि समेत मिति तय गरिएको छ। अधिवेशनका लागि कास्कीमा निर्वाचन अधिकृतका रुपमा खटिएका रामचन्द्र पौडेल(आरसी पौडेल)ले सोमबार कास्की कांग्रेसका पदाधिकारी, क्षेत्र र प्रदेश सभाका सभापतिहरुसँग बैठक गरी मतदानस्थल तोकेको कास्की कांग्रेस प्रवक्ता नवीन सिग्देलले बताए ।  

कास्की कांग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको बैठकले जिल्ला, क्षेत्र र प्रेदश सभा अधिवेशनको अघिल्लो दिन उम्मेद्वार मनोनयन दर्ता गर्ने निर्णय गरेको छ। प्रवक्ता सिग्देलका अनुसार, मंसिर ३ गते हुने प्रदेश सभा अधिवेशनका लागि २ गते मनोनयन दर्ता गर्नुपर्नेछ। मंसिर ६ गते हुने क्षेत्रीय अधिवेशनका लागि ५ गते र १० गतेको जिल्ला अधिवेशनका लागि ९ गते उम्मेद्वार मनोनयन दर्ता गर्नुपर्ने नेपाली कांग्रेस कास्कीले जनाएको छ।  

बैठकले मंसिर ६ गते हुने कास्की क्षेत्र नं १ को क्षेत्रीय अधिवेशनको मतदानका लागि तालचोकस्थित सुभम पार्टी प्यालेस, मंसिर ३ गते हुने १(क) को मतदानका लागि सोही सुभम पार्टी प्यालेस र १(ख)को मतदानका लागि माटेपानीस्थित एसआर केसी क्याटरिङलाई मतदानस्थल तय गरिएको छ। त्यस्तै, क्षेत्र नं २ को क्षेत्रीय अधिवेशनको मतदान नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा हुनेछ। २(क)को पोखरा विरौटा र २(ख)को पोखरा चिप्लेढुङ्गा पार्टी कार्यालयलाई मतदानस्थल तोकिएको छ। उता क्षेत्र नं ३ को अधिवेशनको मतदानस्थल हेमजास्थित पार्टी कार्यालयलाई तोकिएको छ। ३(क)को लागि हेमजास्थित पार्टी कार्यालय र ३(ख)को लागि नागडाडाँस्थित पार्टी कार्यालयलाई तोकिएको छ। मंसिर १० गते हुने जिल्ला अधिवेशनको मतदान पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने छ।  

प्रकाशित: २९ कार्तिक २०७८ १०:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App