राजनीति

एमाले महाधिवेशनः उदयपुर १ मा चुनाव, २ मा सर्वसम्मत प्रतिनिधि छनौट

नेकपा (एमाले)को आसन्न महाधिवेशनमा उदयपुरबाट प्रतिनिधि छनौट कार्य सकिएको छ। पार्टी अध्यक्ष केपी ओलीले सर्वसम्मत प्रतिनिधि चयन गर्न आव्हान गरे पनि निर्वाचन क्षेत्र नं. २ मा सर्वसम्मत भए पनि १ मा भने चुनावी प्रक्रिया अपनाएर छनौट टुंग्याइएको छ।

निर्वाचन क्षेत्र १ बाट इश्वरमणि राउत, दुर्गाकुमार थापा, विमल कार्की, कालु लामा, कुशल बस्नेत र प्रमेश घिमिरे खुल्लातर्फ प्रतिनिधि छानिएका छन्। राउत पार्टी अध्यक्ष, थापा बेलका नगरप्रमुख हुन् भने कार्की प्रदेश सांसद हुन्। त्यस्तै महिलातर्फ सृजना दनुवार र महेश्वरी राई निर्वाचित भएका छन्। खुल्लातर्फ ६ जनाको कोटा रहेकोमा २७ जनाले उम्मेदवारी दिएका थिए भने २ महिला कोटाका लागि १० जना प्रतिस्पर्धी चुनावी मैदानमा उत्रिएका थिए।  

पार्टी जिल्ला सदस्य कुशलबाबु बस्नेतका अनुसार प्रतिनिधि छान्न सम्पन्न चुनावमा १ हजार ८ सय ६९ सदस्यले मतदात गरेका थिए। जसमध्ये सबभन्दा बढी दुर्गाकुमार थापाले १ हजार ८६ मत पाएका छन् भने दोस्रो ठूलो मत पाउने प्रमेश घिमिरेलाई ९ सय २२ परेको छ। इश्वरमणि राउतलाई ७ सय ८६ मत पर्दा बिमल कार्कीले ७ सय ८५ मत पाए भने कुशल बस्नेतले ६ सय ५१ र कालु लामाले ६ सय २४ मत प्राप्त गरेका छन्।

महिलातर्फ सिर्जना दनुवारले ८ सय मत पाउँदा महेश्वरी राईले ७ सय २१ मत पाएर महाधिवेशन प्रतिनिधि हुने मौका पाएका छन्। महिलातर्फ १२ जनाले उम्मेदवारी दिएकोमा प्रदेश सांसदसमेत रहेकी अम्बिका थापा र अर्का एकले उम्मेदवारी फिर्ता लिएपछि १० जनाबीच प्रतिस्पर्धा भएको थियो। चुनावी प्रक्रियामार्फत प्रतिनिधि छान्नुपर्दा पार्टीका घगडान मानिएका ३ नेताहरु महाधिवेशनमा भाग लिनबाट वञ्चित हुन पुगेका छन्। 

जिल्ला पार्टीको १५ वर्ष नेतृत्व गरेका पूर्व अध्यक्ष (तत्कालीन सचिव) मणिराज पौडेल, कोकेकालदेखि जिल्ला सदस्य रहेका पूर्व जिल्ला विकास समिति उपसभापति पदम राई र जल्दाबल्दा युवा नेता भागवत राउत पराजित भएर प्रतिनिधि हुन पाएनन्। पौडेल र राईलाई पुस ५ गते पहिलो संसद बिघटन गरेपछि अध्यक्ष ओलीले केन्द्रीय सदस्यमा मनोनित गरेका थिए।  

महाधिवेशन प्रतिनिधि छनौट चुनावमा पौडेललाई १ सय ५९ मत मात्र पर्‍यो भने राईलाई ३ सय ५२ र राउतले ५ सय ९६ मत पाएका छन्। पुराना नेताहरु चन्द्रनारायण चौधरी, धनपति आचार्य, नारदराज थापा, राजेन्द्र कटुवाल, शम्भु पौडेललगायत पनि प्रतिनिधि हुनबाट बञ्चित भए। महिलातर्फ कान्ता राई, गंगा राई, गीता रेग्मी, पूर्णकला बन्जरा, भवानी थापा, मणिका दुलालजस्ता पुराना र प्रतिबद्ध नेतृहरु पनि प्रतिनिधि हुन छुटेका छन्। सकेसम्म सर्वसम्मत चयन गर्ने प्रयास संभव नभएपछि चुनावमा जानुपर्दा पुराना र प्रतिबद्ध नेताहरु महाधिवेशन प्रतिनिधि हुन नपाएको बस्नेतले बताए।  

उता २ नं. क्षेत्रमा एकदिनअघि नै सर्वसम्मत प्रतिनिधि चयन कार्य सम्पन्न भएको छ। प्रतिनिधि चयन गर्नुपर्ने कार्यतालिका कात्तिक २७ गते रहेकोमा २६ गते नै ४ खुल्ला र २ महिला प्रतिनिधि सर्वसम्मत चयन भएका हुन्। निर्बिरोध प्रतिनिधि हुनेमा खुल्लातर्फ शैलेस लामा, अम्मर रायमाझी, ज्ञानेन्द्र श्रेष्ठ र उद्धवसिंह थापा छन् भने महिलातर्फ भिमकुमारी राउत र कला घले छानिएका छन्।  

श्रेष्ठ र राउत कटारी नगरपालिकाका मेयर तथा उपमेयर हुन्। थापा ताप्ली गाउँपालिका अध्यक्ष हुन् भने घले प्रदेश सांसद तथा ओली कदमपछि पुनर्गठित सरकारमा १ नं. प्रदेशको भूमि सुधार तथा गरिवी मन्त्रीसमेत बन्ने मौका पाएकी नेतृ हुन्।  जिल्लाभर ८ हजार ५ सय संगठित सदस्य रहेको उदयपुरमा १ नं. क्षेत्रमा ५ हजार ५ र २ नं. मा ३ हजार ४ सय ९५ जना रहेको पार्टीले जनाएको छ। जसमध्य नविकरण गरेकालाई मात्र मतदानमा भाग लिन दिइएको जिल्ला सदस्य बस्नेतले बताए।

प्रकाशित: २८ कार्तिक २०७८ ०९:११ आइतबार

एमाले महाधिवेशनः २ मा सर्वसम्मत प्रतिनिधि छनौट