राजनीति

कांग्रेस पनि जुट्दै,२८ गते बैठक आह्वान

सत्तारुढ नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन तयारी समिति गठनसहितका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ।

पटकपटक तोकिएको मितिमा महाधिवेशन नभएपछि पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको तीव्र आलोचना भइरहेका बेला उनले यही कात्तिक २८ गते केन्द्रीय समितिको बैठक बोलाएका हुन्।

बैठकले कात्तिक ११ गते निर्वाचन समितिले सार्वजनिक गरेको संशोधित कार्यतालिका अनुसार महाधिवेशन तयारीलगायतका समितिहरू गठन गर्ने नेताहरूले बताएका छन्। बैठकले महाधिवेशनमा पेस गर्ने पार्टीका विभिन्न दस्तावेज लेखनका साथै आर्थिक र अन्य समिति गठन गर्नेछ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्नेगरी नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। विधानअनुसार चार वर्षभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने भए पनि साढे पाँच वर्ष गुज्रिसकेको छ।

निर्वाचन समितिले केन्द्रीय नेतृत्व चयन प्रक्रिया मंसिर २१ बाटै सुरु गर्ने जनाएको छ।सातवटै प्रदेशको अधिवेशन मंसिर १६ र १७ गतेका लागि तोकेको निर्वाचन समितिले रौतहट र रसुवाबाहेक ४६ जिल्लामा प्रदेशसभा निर्वाचन क्षेत्र अधिवेशन मंसिर ३ का लागि तय गरेको छ।

प्रतिनिधिसभा सदस्यका लागि एक निर्वाचन क्षेत्र भएका जिल्ला र क्षेत्रको अधिवेशन मंसिर ६ र जिल्ला अधिवेशन १० गते गर्ने नयाँ कार्यतालिकामा उल्लेख छ। त्यस्तै, सोलुखुम्बु, दार्चुला र म्याग्दीको प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २७ र जिल्ला अधिवेशन मंसिर १ गतेका लागि तोकिएको छ भने जुम्लाको जिल्ला अधिवेशन पनि सोही दिन हुनेछ। अहिलेसम्म कुनै तहको पनि अधिवेशन सुरु नभएको प्रदेश २ का रौतहटबाहेकका सातसहित १२ जिल्लाको वडा अधिवेशन कात्तिक २७ गते तोकिएको छ।

कात्तिक ३० गते पालिका तहको अधिवेशन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको निर्वाचन समितिले मंसिर ३ गते प्रदेशसभा क्षेत्र, मंसिर ६ गते प्रतिनिधिसभा क्षेत्र र एकमात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन गर्न भनेको छ। बाँकी जिल्लामा मंसिर १० गते जिल्ला अधिवेशन गर्न भनिएको छ।

योसँगै मंसिर ३, ६ र १० गते ५८ जिल्लामा एकैसाथ प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला अधिवेशन हुनेछ। १४औं महाधिवेशनबाट नयाँ नेतृत्व र नयाँ नीतिसहित कांग्रेस स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचनमा होमिने रणनीतिमा छ।

महाधिवेशनमा वर्तमान सभापति देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वउपसभापति गोपालमान श्रेष्ठ र प्रकाशमान सिंह, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेता शेखर कोइराला, सुजाता कोइराला र कल्याण गुरुङले सभापतिका लागि उम्मेदवार बन्ने बताउँदै आएका छन्।

प्रकाशित: २२ कार्तिक २०७८ ००:४२ सोमबार

नेपाली कांग्रेस प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको १४औं महाधिवेशन