राजनीति

डडेलधुरा, बैतडी र बझाङलाई विपदग्रस्त क्षेत्र घोषणा गर्नेः खाँण

कार्यवाहक प्रधानमन्त्री एवम् गृहमन्त्री बालकृष्ण खाँणले बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्याएको सुदूरपश्चिमका डडेलधुरा, बैतडी र बझाङलाई विपदग्रस्त क्षेत्र घोषणा गर्ने बताएका छन्।

बुधबार हेलिकप्टरमार्फत् ती जिल्लाहरुको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेपछि उनले बझाङमा आयोजित एक कार्यक्रममा विपदग्रस्त क्षेत्र घोषणा गर्ने बताएका हुन्। कार्यवाहक प्रधानमन्त्री खाँणले बाढिपहिरो प्रभावित पूर्वी पहाडी जिल्लाहरु इलाम, पाँचथरलगायतका प्रभावित जिल्लालाई पनि विपदग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने अवस्था रहेको बताए। उनले पीडितहरुलाई राहत दिने, घाईतेहरुको उपचारको व्यवस्था गर्ने र हराईरहेकाहरुको खोजी गर्ने कार्यलाई सरकारले निरन्तर रुपमा अघि बढाईरहेको पनि स्मरण गराए। सरकारले बाढी पहिरोमा परी मृतक भएकाहरुलाई १ लाख, हराईरहेकाका परिवारलाई २ लाख र घाईतेहरुको उपचारको व्यवस्था सरकारले गरिरहेको उनले जानकारी दिए।

कार्यवाहक प्रधानमन्त्री खाँणले बाढीपहिरोले भत्काएको सडक, सिँचाईलगायतका पूर्वाधार निर्माणको कामलाई पनि तत्काल अघि बढाउने प्रतिवद्धता व्यक्त गरे। उनले पहाडी जिल्लाहरुको भौगर्भिक अवस्थाको अध्ययन गरेर विपद आउन नदिने खालको कार्यक्रमहरु ल्याउन सरकार लागिपर्ने पनि बताए।

प्रकाशित: १७ कार्तिक २०७८ १३:१५ बुधबार

गृहमन्त्री बालकृष्ण खाँण