राजनीति

नेपालको प्रजातन्त्र कम्पनीको रुपमा विकसितः पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालको प्रजातन्त्र कम्पनीको रुपमा विकसित भएको बताएका छन्। बुधबार ‘नेपालको राजनीतिक सन्दर्भ (घट्नाक्रमहरुको संगालो)’ पुस्तक बिमोचन कार्यक्रममा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले नेपालको प्रजातन्त्र कम्पनीको रुपमा विकसित भएको टिप्पणी गरेका हुन्।

उनले प्रजातन्त्र दलहरुको बाँडफाँडमा परेको बताउँदै राजनीतिक दलहरुले हरेक विषयको निर्णय गर्दाखेरी आफ्नो भागमा के पर्छ भन्ने स्वार्थले हेर्ने गरेको उल्लेख गरे। प्रजातन्त्र जनतालाई नभई केवल दलहरुलाई मात्रै आएको उनको भनाइ छ। उनले भने, ‘डेमोक्रेसी कम्पनीको रुपमा विकसित भयो। डेमोक्रेसी पब्लिक गुटको रुपमा, सार्वजनिक सेवाको रुपमा होइन कि कम्पनीको रुपमा विकसित भएको छ। यो कल्चरको रुपमा विकसित हुनुपर्ने। संस्कारको रुपमा विकसित हुनुपर्ने। यो त जिन्दगीको दैनिक व्यवहारको रुपमा विकसित हुनुपर्ने। प्रजातन्त्र दलहरुको माझमा बाँडफाँडमा परेको प्रजातन्त्र छ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले राजनीतिक दलहरुले जनतालाई तर्साउदै हिँडेको पनि बताए। राजनीतिक दलहरुले जनतामाथि आफ्नो अधिपत्य जमाउनका लागि थर्काउने र तर्साउने गरेको उजले बताए। राजनीतिक दलहरुको यस्ता गलत प्रवृत्तिका कारण नै प्रजातन्त्रले सही दिशाबोध गर्न नसकेको उनले बताए।

उनले वर्तमान संविधानको कार्यान्वयन गर्नका लागि राज्य आर्थिक रुपले सुदृढ हुनुपर्नेमा जोड दिए। 

प्रकाशित: १७ कार्तिक २०७८ ०९:४० बुधबार

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ पुस्तक बिमोचन