राजनीति

कांग्रेसमा महामन्त्रीका आकांक्षी थपिँदै

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा कोको प्रत्यासी बन्छन् भन्ने टुंगो लागेको छैन। वर्तमान सभापति शेरबहादुर देउवासहित नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाका साथै नेता शेखर कोइरालाले नेतृत्वका लागि आकांक्षा देखाएका छन्।

संस्थापन इतरका नेता पौडेल, सिंह, शशांक, शेखरसहितका नेताहरू सभापतिका लागि एउटामात्र उम्मेदवारी दिने बताउँदै आए पनि उम्मेवदार को बन्ने भन्ने सहमतिमा पुगेका छैनन्। महाधिवेशनको मिति नजिकिँदा उनीहरूबीच साझा उम्मेदवार तय गर्नुको साटो थप तिक्तता बढ्दै गइरहेका बेला कांग्रेसको अर्को महत्वपूर्ण पद महामन्त्रीका आकांक्षी पनि आआफ्नो तयारीमा जुटेका छन्।

संशोधित विधानअनुसार आगामी महाधिवेशनमा दुई महामन्त्रीका लागि हुने निर्वाचनमा नयाँ र पुराना पुस्ताका नेता प्रतिस्पर्धाको तयारीमा छन्। पार्टी प्रवक्तासमेत रहेका नेता विश्वप्रकाश शर्मा, गगनकुमार थापा, प्रदीप पौडेल र धनराज गुरुङले उम्मेदवारी घोषणा गरिसकेका छन्।

तर उनीहरूले आफ्नो सभापतिको उम्मेदवार को हो भनेर अहिलेसम्म स्पष्ट पारेका छैनन्। १३औं महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीको उम्मेदवार बनेका थापा अहिले उक्त समूहबाट टाढिएका छन्। संस्थापन इतर समूहसँग निकटता बढाएका थापा सोही समूहबाट महामन्त्रीको उम्मेदवार बन्ने पक्षमा छन्।

सिटौला समूहसँग निकट रहेका नेता प्रदीप पौडेलले पनि महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्। संस्थापन इतर समूहमा रहेका नेता धनराज गुरुङले महामन्त्रीको उम्मेदवारी घोषणा गरेका थापा, पौडेल र शर्माभन्दा आफू वरिष्ठ (सिनियर) रहेको भन्दै उम्मेदवारी दिने बताएका हुन्। १३औं महाधिवेशनसँगै शेरबहादुर देउवासँगको सम्बन्ध सुमधुर बनाएका प्रवक्ता शर्माले पनि महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्। तर, संस्थापन पक्षबाट उनको उम्मेदवारी त्यति सहज नभएको बताइएको छ।

संस्थापन पक्षबाट महामन्त्रीमा सहमहामन्त्री प्रकाशशरण महतले उम्मेदवारी दिने बताउँदै आएका छन्। उनी जिल्ला भ्रमणमा निस्कने तयारीमा छन्। उनी सभापति देउवाका विश्वासपात्र हुन्। देउवाले नै उनलाई महामन्त्रीको तयारीमा जुट्न भनेको निकटस्थको दाबी छ।

संस्थापन पक्षबाटै महामन्त्रीमा केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पूर्वमन्त्री एनपी साउद पनि महामन्त्रीका आकांक्षी छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेर कांग्रेस छिरी सहमहामन्त्री बनेका सुनिल थापा पनि महामन्त्रीका आकांक्षी हुन्।

रक्षामन्त्रीसमेत रहेका केन्द्रीय सदस्य मीनेन्द्र रिजालले पनि महामन्त्रीको प्रत्यासी बन्ने बताउँदै आएका छन्। संस्थापन इतर समूहबाट रिजालसहित बलबहादुर केसी, दिलेन्द्रप्रसाद बडु, दीपक गिरी, चन्द्र भण्डारी, महेश आर्चायसहितका नेताहरू पनि महामन्त्रीको आकांक्षी छन्।

सभापतिमा साझा उम्मेदवारबारे सहमति हुँदा सभापतिकै आकांक्षीहरू तल्लो तहका पदमा उम्मेदवार हुने नेताहरूको विश्लेषण छ। त्यस्तो अवस्थामा पूर्वसहमहामन्त्री रामशरण महत, अर्जुननरसिंह केसीसहितका नेताहरू नै महामन्त्रीको उम्मेदवार बन्नसक्ने र अहिले महामन्त्रीको उम्मेदवारी घोषणा गरेका कतिपय नेताहरू सहमहामन्त्रीमा समेटिने सम्भावना रहेको निकटस्थको विश्लेषण छ। 

कांग्रेसको निर्वाचन समितिले १४औं महाधिवेशन मंसिर २४ देखि काठमाडौंमा गर्ने घोषणा गरेको छ। अहिलेसम्म दुई जिल्लाको क्रियाशील सदस्यता टुंगो लगाउन नसकेको कांग्रेसले महाधिवेशनका लागि आवश्यक तयारी भने गरेको छैन।

प्रकाशित: १५ कार्तिक २०७८ ०२:५४ सोमबार

नेपाली कांग्रेस १४औं महाधिवेशन