राजनीति

सरकारले तीन बुँदे भाँड्न खोजेको छ : विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ ले आँफूसँग भएको तीन बुँदे सहमति सरकारले भाँड्न खोजेको बताएका छन्। सरकारले सहमति भाँड्न खोजेर मुलुकमा अशान्ति निम्त्याउन चाहेको भन्दै तत्काल सहमति कार्यान्वयनका लागि चेतावनीसमेत दिए।

तीन बुँदे भाँडेर नेकपालाई घेराबन्दी गर्न खोजेको भन्दै उनले सरकारको यो घेरा सहजै तोड्ने चेतावनी दिए। ‘हामीसँग सरकार आँफैले गरेको सहमति कार्यान्वयन गर्न चाहन्न,’ नेकपाको राष्ट्रिय युवा संगठनको राष्ट्रिय सम्मेलनलाई शनिबार घोराहीमा सम्बोधन गर्दै चन्दले भने ‘सरकारले नेपालमा अशान्ति निम्त्याउन खोजेको छ।’  

तीन बुँदे कार्यान्वयनका लागि आफूले आग्रह गर्दा हामीहरुसँग हतियार रहेको भनेर सरकारले आशंका गरिरहेको उनको भनाइ छ। तर तीन बुँदे सहमतिपछि मात्रै हतियार भए नभएको कुरा खोल्ने चन्दको भनाइ छ। ‘सुरुमा त तीन बुँदे सहमति भएको हो नि, पहिला त्यो तीन बुँदे कार्यान्वयन गरौँ, अनि हतियार भए, नभएको भनौँला नि,’ उनले भने ‘फेरि प्रचण्डले सबै हतियार बुझाई सकेका हुन् नि, हामीसँग कहाँबाट हतियार आउने? छैन भन्दा पनि विश्वास मान्दैनन्।’

एक अर्को प्रसंगमा पार्टी एकताका लागि गुहार मागिरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय प्रणाली खारेजको नीति बोकेर आउन सुझाव दिए। ‘उहाँले भेट्यो कि पार्टी एकता गरौँ भन्नु हुन्छ, मैले पनि ल ठिक छ भनेर सर्त राखेको छु’, उनले भने, ‘संसदीय व्यवस्था छोडेर आउनुस्, अहिले भर्खरै एकता गरौँ भनेको छु।’

चुनाव हार्ने डर र पार्टी ठूलो बनाउने मात्रै नियतका साथ पार्टी एकिकरणका लागि प्रस्ताव गरिएको भए माओवादीसँग कुनै पनि हालतमा पार्टी एकता नहुने उनको भनाइ छ। ‘उहाँलाई चुनाव हार्ने डर छ, अनि चुनाव जित्नका लागि भन्नु भएको हुन सक्छ, अनि पार्टी ठूलो बनाउनका लागि भन्नु भएको होला,’ उनले भने ‘उहाँलाई चुनाव जिताईदिन र फेरि उहाँलाई ठूलो बनाउन हामी एकता गर्दैनौँ, एकताका लागि जनतालाई ठूलो बनाउने अभियानमा उहाँ जोडिनु पर्यो।’

उनले संसदीय व्यवस्थाका बिषयमा जनमत संग्रहका लागि माग गरिरहेको भन्दै यसो भएमा आफूहरु पनि चुनावमा सामेल हुने उनको भनाइ छ। ‘संसद, मन्त्रीका लागि हामी चुनाव लड्दैनौँ, हामीले त त्यो देखेरै अघाईसक्यौँ, अनि त्यस्तो चुनाव हामी कसरी लड्छौँ?’, उनले भने, ‘संसदीय व्यवस्थाका बिषयमा जनमत संग्रह हुन्छ भने हामी चुनाव लड्छौँ।’

प्रकाशित: १३ कार्तिक २०७८ १३:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App