राजनीति

गोरखा कांग्रेसको राजनीतिमा पैसा हावी!

नेपाली कांग्रेस गोरखाको १४ औँ अधिवेशनमा धनाढ्यहरु हावी भएको कार्यकर्ताले गुनासो गरेका छन्। वडादेखि, प्रदेश, क्षेत्र, जिल्ला र महाधिवेशन प्रतिनिधि पदमा पराजितहरुसँग जिल्ला समितिले बुधबार गरेको अन्तक्र्रियामा सहभागी अधिकांशले निष्ठा भन्दा पैसा हावी भएको भन्दै चिन्ता जनाए।  

‘पार्टीमा नवधनाढ्य प्रवेश गरिसके, अहिले त क्रियाशील हुनेबित्तिकै महाधिवेशन प्रतिनिधिमा उठेका छन्, त्यहाँ काम के गर्ने, भूमिका के भन्ने पत्तो छैन’ लामो समयदेखि गोरखा कांग्रेसको राजनीतिमा सक्रिय सिपी पोखरेलले भने। नेतृत्वसँग विवेक भएन भने कार्यकर्तामा बिचलन आउन सक्ने बताउँदै उनले अहिले पार्टीको नेतृत्वमा पुगेकाले चार वर्ष पार्टीका लागि काम गर्नुपर्ने बताए। उनले भने, ‘चुनाव जितेका साथीहरुले पार्टीका लागि योगदान गर्नुहोस्, निर्वाचनमा पनि आफैँ जाने होइन।’

अर्का नेता भेजराज पाण्डेले भने, ‘भूगोल, क्षेत्र हेरेर अधिवेशनमा विभेद गरिएको छ।’ जिल्लाको भौगोलिक क्षेत्र अनुसार पनि राजनीतिक सन्तुलन मिलाउनुपर्ने र सबैलाई मिलाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।

‘कांग्रेस धनीको पार्टी हो कि गरिबको?’ रामप्रसाद लामिछानेले महाधिवेशन प्रतिनिधिको निर्वाचन स्मरण गर्दै भने ‘कसका लागि त्यति धेरै तामझाम गरेर पैसा खर्च गरेको? बिपीको समाजवाद यो होइन होला।’

‘अब हामी स्थानीय, प्रदेश र संघीय निर्वाचनमा केन्द्रीत हुनुपर्छ’, अर्का महाधिवेशन प्रतिनिधिका उपमेद्वार हरि देवकोटाले भने, ‘वैचारिक दृष्टिकोणले मात्र सबैलाई पार्टीभित्र समेट्न सकिँदैन, सामाजिक रुपमा पनि पार्टीले काम गर्नुपर्छ।’

डिलबहादुर थापाले काँग्रेस प्रजातान्त्रिक पार्टी भएर पनि अझै यसको अधिवेशन व्यवहारमा प्रजातान्त्रिक हुन नसकेको आरोप लगाए। गोकुल पन्तले काठमाडौँबाट चुनावको समयमा आएकाहरुले जित्ने, मतदातालाई लाखौँ लाख खर्च गरेर किनबेच गर्ने प्रवृत्ति आन्तरिक चुनावमा हुनु राम्रो नभएको बताए।

महाधिवेशन प्रतिनिधिका अर्का उमेद्वार बिष्णु लामिछानेले नेताहरुले यो ठिक यो बेठिक भनेर भोट हाल्न लगाएको आरोप लगाए। ‘खुलेआम चलखेल भयो, यो सुधार गर्नुपर्छ भएन भने अबको स्थानीय चुनावमा ठुलो क्षति व्यहोर्नुपर्छ।’ आसेपासेलाई भन्दा पार्टीमा योगदान गरेकाको कदर गर्न अनुरोध गर्दै उनले चलखेल नगर्न केन्द्रीय सदस्यहरुलाई सुझाव दिए।  

कुलप्रसाद न्यौपानेले केन्द्रीय नेताहरुले पनि वडादेखि चुनाव लड्नुपर्ने व्यवस्था भएको भए गुट उपगुट अधिवेशनमा हावी नहुने बताए। ‘चाकडी गर्न सकेनौं, हामीले हार्यौँ’ उनले भने, ‘हामीले भन्दा जितेका साथीहरुले चार वर्ष धेरै पार्टीको लागि काम गर्नुपर्छ।’

पार्टीले हार्दा बाहिर बस्नेहरुलाई कुनै प्रवाह नहुने, ठूला नेतालाई कुनै असर नपर्ने तर गाउँमा बस्ने मजदुरी, किसानी गर्ने कांग्रेस कार्यकर्तालाई पर्ने उनले बताए।  

‘मैले खुवाउन सकिन, खर्च गर्न सकिन त्यही भएर जित्न सकिनँ,’ दण्डपाणी पन्तले भने। ललिता अधिकारीले पार्टी बलियो बनाउन भित्रका व्यक्तिहरु नै सुध्रिनुपर्ने आवश्यक रहेको बताइन्।

धारणा राख्ने अधिकांशले निष्ठावान र पार्टीमा योगदान गरेका व्यक्तिहरुको सही मूल्याङ्कन हुन नसकेको, महाधिवेशनमा शिर्ष नेताहरुले गुट उपगुट, आफू निकटका लागि काखी च्यापेको आरोप लगाए।

अबको निर्वाचनहरुमा कांग्रेसलाई बिजयी बनाउने सबैलाई समेटर अघि बढ्नुपर्ने, क्षमता भएकाहरुलाई पार्टीले काम गर्ने ठाउँ दिनुपर्नेमा अधिकांशको जोड थियो।  

‘पार्टी भित्रको आन्तरिक चुनाव भएकाले बिजयी हुन नसकेका साथीहरुको सुझाब लिन पहिलो बैठक उहाँहरु सँग गरेका हौँ’ कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले भने। धेरैजना सँगको अनुभव, सुझाब र सल्लाह अनुसार जिल्ला पार्टीले आफ्नो गतिविधी अगाडी बढाउने बताउँदै उनले कांग्रेसलाई बलियो बनाउन जित्ने, हार्ने सबैको भूमिका बराबर हुने बताए। ‘चुनाव एउटा प्रक्रिया हो, हारजित हुन्छ,’ उनले भने, ‘अब हामी सबै मिलेर जनताका लागि, कांग्रेसका लागि काम गर्ने हो।’

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, कमला पन्त लगायत जिल्ला समितिका पदाधिकारीको उपस्थिती रहेको थियो।

प्रकाशित: १० कार्तिक २०७८ १३:११ बुधबार

नेपाली कांग्रेस