शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ठूल्ठूला व्यक्तिहरुको व्यक्तिगत चाहना सम्बोधन गराउने खालका राजनीतिक दबाबहरु आफूमाथि आउने गरेको खुलासा गरेका छन्।
मन्त्री पौडेलले माथिल्लो तहबाट बेलाबेलामा बोलाउने गरेको र जाँदाखेरी शैक्षिक प्रणाली सुधार्ने भन्दा पनि ठूल्ठूला व्यक्तिहरुको व्यक्तिगत चाहना सम्बोधन गराउने गरी दबाब आउने गरेको बताएका हुन्।
सत्तारुढ दलका विद्यार्थी संगठनका नेताहरुसँग बुधबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भएको सामूहिक भेटमा उनले आफूले ती राजनीतिक दबाबहरुलाई पदमा रहन्जेल प्राथमिकता नदिने समेत बताए। मन्त्री पौडेलले आफ्नो पहिलो पहलकदमी सार्वजनिक शिक्षाको सुधारमा केन्द्रित हुने योजना पनि सार्वजनिक गरे।
उनले निजी क्षेत्रको नियमन गर्ने र प्राविधिक शिक्षालाई परिणाममुखी बनाउन समेत आफू लागिपर्ने बताए।
‘पोलिटिकल प्रेसर पनि शिक्षा प्रणाली सुधार्नेभन्दा ठूल्ठूला वरिष्ठ व्यक्ति र व्यक्तित्वहरुको चाहना बढी भएको आउँछ। बोलायो, दौडँदै गयो। केही कुरा भन्नु हुन्छ कि भन्यो, चाहना अर्के छ’, मन्त्री पौडेलले भने, ‘अहिले मेरो प्राथमिकताको विषय भनेको सार्वजनिक शिक्षालाई म यहाँ रहँदासम्म सुधार गर्ने, अगाडि बढाउने। निजी क्षेत्रको बारेमा सरकारले नै पोलिसी ल्याएको हुनाले निजी क्षेत्रलाई पनि नियमन गर्ने र सँगै लिएर जाने, उसलाई नीति दिने, नियमन गर्ने।’
मन्त्री पौडेलले ‘राष्ट्रपति शैक्षिक कार्यक्रम’ र ‘पढदै : पढाउँदै कार्यक्रम’ तत्काल अघि बढाउने गरी तयारी भईरहेको र त्यसमा आवश्यक सुझाव दिन विद्यार्थी संगठनका नेताहरुलाई आग्रह गरे। छलफलमा सत्तारुढ दलमा आवद्ध नेपाल विद्यार्थी संघका सभापति राजीव ढुंगानाले निजी क्षेत्रले जथाभावी शुल्क विद्यार्थीहरुबाट असुली रहेको उल्लेख गर्दै तत्काल नियन्त्रण गर्न मन्त्री पौडेलको ध्यानाकर्षण गराए। अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सार्वजनिक क्षेत्रको शैक्षिक सुधारको कार्यक्रमलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिइन्।
मन्त्री पौडेलसँगको भेटमा सत्तारुढ दलमा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल छैठौंका सुर्य पौडेललगायतका नेताहरु सहभागी थिए।
प्रकाशित: १० कार्तिक २०७८ १२:३१ बुधबार