राजनीति

पाँच वर्षमा परिषद्लाई युवाको अभिभावकीय बनाएँः ढुंगेल

राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षबाट माधवप्रसाद ढुंगेलको बिदाई भएको छ। करिव पाँच वर्ष परिषद्को उपाध्यक्षमा रहेका ढुंगेलको नयाँ सरकार परिवर्तन भएसंगै बिदाई भएको हो। परिषद् स्थापनाकालदेखि कार्यकारी उपाध्यक्ष रहेको गत कात्र्तिक १ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई परिषद्बाट हटाउने निर्णय गरेको थियो।

आज परिषद्मा आयोजित बिदाई कार्यक्रममा उनले आफू परिषद्को उपाध्यक्ष भएयता युवाको नेतृत्व विकास र उद्यमशीलताका क्षेत्रमा काम गरेको बताए । उनले पाँच वर्षको अवधिमा परिषद्ले सम्पादन गरेका कार्यक्रमको फलस्वरूप समस्त नेपाली युवाको एक अभिभावकीय निकाय तथा पहिलो सम्पर्क विन्दुको रूपमा स्थापित हुन सफल भएको बताए। “आज हरेक नेपाली युवाको सरोकारको पहिलो निकाय तथा आशा र भरोसाको केन्द्र परिषद् बनेको छ”, उनले भने,“अब आउने नेतृत्वले परिषद्लाई युवाको नेतृत्व विकासको थलो रुपमा लैजानु पर्दछ।”

उनले युवामा स्वदेशमा नै केही न केही काम गर्ने जोशजागर आफूले पाएको समेत बताए। “पाँच वर्ष मेरो कार्यालय युवाको नेतृत्व विकासमा नै केन्द्रित रह्यो”, उनले भने,“नेपाली युवामा मुलुकमा केही गर्नुपर्दछ भन्ने आकांक्षा मैले पाए। ति युवालाई तालिम दिनुपर्दछ। अनि उनीहरु मुलुकमा नै स्वरोजगार हुन सक्दछन्।”

निर्वतमान कार्यकारी उपाध्यक्ष ढुंगेलले परिषद् अहिलेसम्म गरेका कामबाट युवालाई आकार दिन सकिने बताए। उनले अब आउने नेतृत्वले युवालाई सीप र रोजगारसंग जोडेर स्वदेशमा नै स्वरोजगारको सिर्जना गर्नतर्फ ध्यान दिनुपर्ने बताए।

विवाद कार्यक्रममा परिषद्का प्रशासकिय अधिकृत डा. बाबुराम ढुंगानाले ढुंगेलको कार्याकालमा युवालाई नेतृत्व विकास गर्न सकिएको बताए। उनले थोरै बजेटमा पनि युवाका क्षेत्रमा धेरे काम गरेको उल्लेख गर्दै सहुलियपूर्ण कर्जा, नमुना युवा संसद जस्ता लोकप्रिय कार्यक्रम संचालन भएको बताए।

परिषद्का कार्यकारी सदस्य तिलोत्तम पौडेलले युवा क्षेत्रमा अहिलेसम्म भएको उपलब्धिको रक्षा गर्दै थप उपलब्ध हासिल गर्न सबैको सहयोग जरुरी रहेको बताए।

दुई पटक परिषद्को उपाध्यक्ष भएका ढुंगेलको कार्यकालमा अहिलेसम्म सहुलितपूर्ण कर्जा, विना धितो ऋण प्रवाह, नमुना युवा संसद, युवा नवप्रद्र्धधन केन्द्र युवा क्षेत्रमा भएका मुख्य काम हुन्। सहुलितपूर्ण कर्जा एक लाख १२ हजार, युवा उद्यम समूहलाई ५ लाखका दरले उद्यमका लागि हालसम्म ३९७ समूहलाई विना धितो विना व्याज ऋण प्रवाह गरिएको छ।

यस्तै विगत चार वर्षदेखि युवालाई संसदीय व्यवस्थाबारे जानकारी गराउने उद्देश्यले नमुना युवा संसद अभ्यास कार्यक्रम हुँदै आएको छ। हालसम्म ९१ स्थानीय तह, ७ प्रदेश र १ संघीय तह गरी जम्मा १८४ वटा तहमा नमुना युवा संसदको अभ्यास भएका छन्।

यस्तै देशभरका युवालाई जोड्नका लागि युवा क्लब संजाल समेत परिषद्ले गरेको छ।

यस्तै एक शिक्षण संस्था एक उद्यम कार्यक्रमको थालनी, विभिन्न क्षेत्रमा क्रियाशिल युवाहरुको अलग अलग सञ्जाल बनाई व्यापक युवा परिचालनको ढाँचा, एक स्थानीय तह, एक वडा, एक युवा क्लब, एक उद्यम कार्यक्रम मोडेल, राष्ट्रपति युवा महिला उद्यमको मोडेल कार्यक्रम पाँच वर्षमा संचालन भएका छन्।

यस्तै ढुंगेलको पालामा नै २०१६ मा नेपालको युवा विकास सुचाङ्कमा ०.६४७ रहेकोमा २०२० मा आइपुग्दा उक्त सूचकाङ्कमा सुधारआई ०.६८९ पुगेको छ। सोही तथ्याङ्क अनुसार सन २०१० मा १४५ औं स्थानमा रहेको नेपाली युवाको अवस्था सन २०१६ मा आइपुग्दा ६८  वटा देशलाई उछिनेर ७७ औँ स्थानमा पाइपुगेको छ। यस्तै अन्तर्राष्ट्रिय युवा कमिटीद्वारा परिषद्का कार्यकारी उपाध्यक्ष ढुंगेललाई विश्व युवा पुरस्कार–२०१८ बाट सम्मानित गरेको छ।

यस्तै नेपालको संविधान युवामैत्री भएकाले वर्ल्ड फ्युचर काउन्सिलबाट नेपाललाई सन् २०१९ को फ्युचर पोलेसी सिल्भर अवार्ड प्राप्त गरेको छ।

प्रकाशित: ८ कार्तिक २०७८ १२:३७ सोमबार

राष्ट्रिय युवा परिषद कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेल मन्त्रिपरिषद् बैठक