तीनदिन भोजपुरमा रहेको टोलीलाई खोटाङ र भोजपुरको सङ्गमस्थल चखेवाभञ्ज्याङमा आयोजित एक कार्यक्रमबीच काँग्रेस भोजपुरका जिल्ला सभापति बालकृष्ण थापाले खोटाङ सभापति विष्णुकुमार राईलाई झण्डासहित टोली हस्तान्तरण गरेको नेविसङ्घका जिल्ला सभापति राजकुमार राईले जानकारी दिए। उनका अनुसार बाँझेच्यानडाँडाको चखेवाभञ्ज्याङदेखि सुरु भएको विचार यात्रा भदौ १२ गते लामीडाँडाको रभुवामा पुगेर समापन हुने छ।
बिपी कोइरालाको शतवार्षिकीको अवसरमा सुरु गरिएको विचार यात्राअन्तर्गत खोटाङ आइपुगेको टोलीले बाँझेच्यानडाँडाको चखेवाभञ्ज्याङमा बिपी खानेपानी तथा सहिद कालुमान गुरुङ स्मृति पार्क शिलान्यास गरेको छ। केन्द्रीय समितिका नीति तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक मधु आचार्यको टोलीले शिलान्यास गरेको हो।
बाँझेच्यानडाँडाबाट यात्रा थालेको टोलीले निर्मलीडाँडामा कार्यकर्ता भेटघाट, दोर्पाचिउरीडाँडामा बिपी जागरणसभा तथा साकेला शिली प्रदर्शन, दिक्तेलबजारमा बिपी कोइरालाको जीवनीमा आधारित वृत्तचित्र प्रदर्शनी तथा बिपी विचार गोष्ठी, नुनथलामा कार्यकर्ता भेटघाट, अर्खौलेको बिजुलेभञ्ज्याङमा सहिद पद्मप्रकाश पुरी स्मृति पार्कको शिलान्यास, लामीडाँडामा नेपाल महिला सङ्घको आयोजनामा तीज विशेष कार्यक्रम तथा रभुवामा बिदाइ कार्यक्रम गरिने जिल्ला सभापति विष्णुकुमार राईले जानकारी दिए।
उनले भने, “बिपी विचार यात्राको माध्यमबाट नयाँ पुस्तालाई काँग्रेसको सिद्धान्तका साथै राष्ट्र र जनताका लागि निर्वाह गर्नुपर्ने जिम्मेवारीतर्फ अग्रसर गराइने छ।”
भदौ १२ गते ओखलढुङ्गा प्रस्थान गर्ने टोलीले रामेछाप, बनेपा हुँदै काठमाडौँमा पुगेर बिपीको जन्मदिन भदौ २४ गते समापन कार्यक्रम गर्ने छ।
प्रकाशित: ८ भाद्र २०७१ ०२:४० आइतबार