राजनीति

राहत सहयोगको सदुपयोग हुनेछ: प्रधानमन्त्री कोइराला

काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालाले बाढी पहिरो पीडितका लागि दाताहरुले उदारतापूर्वक दिएको  सहयोग रकमको  सदुपयोग गरिने बचन दिएका छन्।

प्रधानमन्त्री कोइरालाले सो कुरा आज बिहान प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा सहयोग गर्न आउनु भएका दाताहरु समक्ष बताएका हुन्। 
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित अलग अलग कार्यक्रममा  गणेशमान सिंह फाउण्डेशन र  मदन मेमोरियल कलेज, विनायकनगर, नयाँ बानेश्वरका तर्फबाट प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा राहत सहयता रकम प्रदान गरिएको थियो।
गणेशमान सिंह फाउण्डेसनले राहत कोषमा ९ लाख रुपैयाँ प्रदान गरेको छ भने मदन भण्डारी मेमोरियल कलेजले ५० हजार १ सय रुपैयाँ प्रदान गरेको छ।
गणेशमान सिंह फाउण्डेसनका तर्फबाट प्रधानमन्त्री दैवि प्रकोप राहत कोषमा सहयोग रकमको चेक फाउण्डेशनका अध्यक्ष, नेपाली कांग्रेसका उपसभापति र उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले हस्तान्तरण गरेका थिए। त्यस्तै मदन भण्डारी मेमोरियल कलेजका तर्फबाट मानार्थ क्याम्पस प्रमुख डा. ध्रुव कार्कीले सहयोग रकमको चेक प्रधानमन्त्री कोइरालालाई प्रदान गरेका थिए।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा फाउण्डेसनका अध्यक्ष प्रकाशमान सिंहले मुलकमा प्राकृतिक विपत्ति आइलागेर जनता पीडित भएको बेला सक्दो सहयोग गर्नु सबैको कर्तव्य हो भने। उनले बाढी र पहिरो पीडितलार्ई सघाउन युथ अफ काठमाडौंले “बाढी पीडितको निम्ति हाम्रो विन्ति”को नारा  सहित सांगीतिक कार्यक्रम गरेर सहयोग रकम संकलन गरिएको बताएका थिए। सहयोग रकम हस्तान्तरण कार्यक्रममा फाउण्डेसनका उपाध्यक्ष घनेन्द्रपुरुष ढकाल, महासचिव माथवर सिंह बस्नेत र युथ अफ काठमार्ण्डौका संयोजक प्रभासमान सिंह सहित विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेकेा थियो।
प्रधानमन्त्री कोइरालाले पहिरो र बाढी पीडितलाई आएको राहत रकम र राहत सामग्री दुरुपयोग हुन नदिन सरकार प्रतिबद्ध रहेको बताएका थिए।

प्रकाशित: ७ भाद्र २०७१ २३:३२ शनिबार