राजनीति

किसानलाई क्षतिपूर्तिसहित राहत दिन माग

विगत केही दिनदेखि लगातार परेको अविरल वर्षाका कारण क्षति भएको जनधनको क्षतिपूर्ति दिन किसान महासंघले माग गरेको छ। अखिल नेपाल किसान महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै पीडित किसानलाई क्षतिपूर्तिसहित राहत दिन माग गरेको हो।

नेपालको मुख्य खाद्यबालीको रुपमा रहेको धान भित्राउने समयमा जलवायु संकटका कारण आएको बेमौसमी अविरल वर्षा, बाढी, पहिरो र डुवानले खेतको धान बालीको क्षति, काटेर सुकाएको धानको डुवान गर्नुका साथै बाढी–पहिरोले खेतवारी बगाएका, कृषि उत्पादन, फार्म तथा पशुपालन व्यवसायमा क्षति भएका घटनाहरुले दुखी बनाएको उल्लेख गर्दै महासंघले क्षतिको मुल्यांकन गरी तत्काल उचित राहत, पुर्नस्थापन र क्षतिपुर्ती दिन माग गरेको छ। महासंघले जनताको खाद्य सम्प्रभुताको संवैधानिक हक सुनिश्चित गर्न पनि माग गरेको छ।

विज्ञप्तिमार्फत् महासंघले  भनेको छ, ‘आजको सूचना र प्रविधिको युगमा पनि किसानलाई मौसमको पूर्वानुमान र जलवायु संकटसँगको अनुकुलनमा पूर्वसूचना र सजगतामा आगामी दिनमा किसान केन्द्रित भई सूचना प्रवाहित गर्ने विषयमा सरकारले गम्भिररुपमा ध्यान दिन जोडदार माग गर्दछौं।’

प्रकाशित: ३ कार्तिक २०७८ १४:२३ बुधबार

अखिल नेपाल किसान प्रेस विज्ञप्ति