राजनीति

असन्तुष्टलाई फकाउँदै यादव

मन्त्री चयनलाई लिएर सुरु भएको आक्रोश मत्थर बनाउन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले असन्तुष्ट नेताहरूलाई फकाउन सुरु गरेका छन्।

अघिल्लो हप्ता बालकुमारीस्थित पार्टी कार्यालयमै अध्यक्ष यादवविरुद्ध नाराबाजी गरिएको थियो। प्रदीप यादवका समर्थकहरूले पार्टी कार्यालयमै अध्यक्ष यादवविरुद्ध नाराबाजी गरेका थिए। त्यसअघि प्रदीपका समर्थकले वीरगन्जमा अध्यक्ष यादवको पुतला जलाएका थिए।

मन्त्री चयन गरेको विषयमा प्रदीप यादव र प्रमोद साह आक्रोशित भएका छन्। यसैगरी लुम्बनी प्रदेशबाट कसैलाई पनि मन्त्री नबनाएको भन्दै नेताद्वय इस्तियाक राई र अमृता अग्रहरी पनि असन्तुष्ट छन्। 

स्रोतका अनुसार अध्यक्ष यादवले असन्तुष्ट नेताहरूलाई फोन गरेर फकाउन थालेका छन्। आफूलाई अध्यक्षले फोन गरेर घुमाउरो किसिमबाट गल्ती भएको जनाएको प्रमोद साहले बताए। ‘अध्यक्षज्यूले नहुनुपर्ने भयो। तपाईंलाई सरकारमा पठाउन सकिनँ भन्नुभयो’, साहले भने, ‘यसबाट अध्यक्षज्यूले कतैबाट गल्ती गराइयो भन्ने महसुस गरेको जस्तो देखियो।’

सरकारमा जसपाले पाएका ४ सिटमध्ये यादवले ३ सिटमा यादव समुदायकालाई पठाएका छन्। एकजना राजेन्द्र श्रेष्ठमात्र गैरयादव समुदायका छन्। यादव समुदायकालाई मात्र सरकारमा प्राथमिकता दिएको भन्दै गैरयादव समुदायका नेताहरू असन्तुष्ट भएका छन्। अध्यक्ष यादवले उनीहरूलाई पनि फकाउन प्रयास गरेका छन्। मन्त्री चयन गर्न जसपा कार्यकारिणी समितिले डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राईलाई जिम्मेवारी दिएको थियो। 

अध्यक्ष यादवले दुईजना नेतासँग सल्लाह नगरी एकलौटी किसिमबाट निर्णय गरेको आरोप लागेको छ। एक नेताले भने, ‘बाबुराम भट्टराईलाई खुसी बनाउन अध्यक्षले राजेन्द्र श्रेष्ठलाई पठाउनुभयो। बाँकी ३ जना नेता अध्यक्ष यादवका खल्तीका मान्छे हुन्।’

कार्यकारिणी समितिको बैठकमा अधिकांश सदस्यले यसपटक शीर्ष तहका नेतालाई सरकारमा नपठाउन र चुनावमा सहयोग पुग्नेगरी नयाँ र युवालाई प्राथमिकता दिन अध्यक्षलाई सल्लाह दिएका थिए। 

पार्टी अध्यक्ष सरकारमा नगए शीर्ष नेताहरूलाई पनि सरकारमा नपठाउन उनीहरूको सुझाव थियो। तर कार्यकारिणी समितिको सुझावविपरीत अध्यक्ष यादवले दुई शीर्ष नेता राजेन्द्र श्रेष्ठ र महेन्द्र यादवलाई सरकारमा पठाए। ‘यसबाट पनि अध्यक्षविरुद्ध असन्तुष्टि थपियो’, स्रोतले भन्यो।

अध्यक्ष यादवले सुरुमा मन्त्रीको सूचीमा सर्लाहीका सांसद प्रमोद साहको नाम राखेका थिए। तर अन्तिम समयमा उनको नाम हटाएर महेन्द्र यादवको नाम राखे। यसबाट प्रमोद अध्यक्ष यादवसँग निकै चिढिए। महन्थ ठाकुरबाट उपेन्द्र यादवतिर कित्ता परिवर्तन गर्ने बेला नै अध्यक्षले मन्त्री बनाउने आश्वासन दिएका थिए। यसैगरी प्रदीप यादवलाई पनि मन्त्री बनाउने आश्वासन अध्यक्ष यादवले दिएका थिए। तर अन्तिम समयमा दुवैको नाम हटाइयो।

प्रकाशित: २ कार्तिक २०७८ ०१:२१ मंगलबार

जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव