राजनीति

प्रदेश १ सरकारको निर्णयमा पौडेल र कोइराला चुप बसेः राजीव कोइराला

प्रदेश नं. १ बाट नेपाली काँग्रेसका तर्फबाट मुख्यमन्त्रीको दावी गरि रहेका राजीव कोइरालाले पार्टी सभापतिको निर्णयमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कोइराला परिवारका नेता चुप बसेको बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश नं. १ मा मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिएको विषयमा पौडेल र कोइराला पक्ष चुप भएकाले गर्दा पार्टीको विषयमा चिन्ता नलिएको बताए।

नेपाल प्रेस यूनियन सुनसरी शाखाले शनिबार इटहरीमा चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अधिकतर वक्ताले प्रदेश नं. १ मा १ नं. प्रदेश सरकारको नेतृत्व नेकपा एसलाई दिने पार्टी सभापति देउवाको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका थिए। 

कार्यक्रमका प्रमुख अतिथि कोइरालाले अधिकार वक्तको भनाईपछि भने, ‘तपाईंहरु भर्खरै राजनीतिमा आउनुभएको छ। किन छुचो हुनुहुन्छ। परिस्थितीसँग मै लड्छु।’ उनले प्रदेश सरकारको सवालमा पौडेल र कोइराला पक्षले बोल्नुपर्ने बताए।

‘हामी कतिवटा गुटमा छौँ भन्ने प्रष्ट थाहा छ, यो बेला पौडेल र कोइराला गुटको चैँ टन्सिल बढेको छ, पार्टीको विषयमा उहाँहरुलाई चिन्ता हुनुपर्दैन?’, नेता कोइराला संस्थापन इतर समूहका हुन्।  

उनले नेपाली जनताले कम्युनिष्टलाई बहुमत दिएपनि अहिले कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने बाध्यात्मक स्थिति भएको बताए। ‘आज संविधान बनाउनेहरूलाई नै कांग्रेसले संविधान सिकाउनुपरेको छ,’ उनले भने, ‘प्रदेश नं. १ मा पनि मुख्यमन्त्री भिम आचार्यले मार्ग प्रशस्त गर्नुपर्छ। संविधान विपरीत कार्य नगरौं।’

उनले झैझगडा नगरि सभ्य ढंगले सवै दलले राजनीति गर्नुपर्ने सुल्झाए। ‘अहिले पनि प्रदेशमा एमालेकै सरकार छ तर बहुमत पुग्छ कि पुग्दैन,’ उनले भने, ‘प्रदेश सरकार कसले बनाउने भन्ने विषय गठबन्धनको विषय हो।’ प्रदेश नं. १ मा विपक्षी गठबन्धनसँग बहुमत सांसद संख्या छ। ५० जना विपक्षी गठबन्धनमा हुँदा एमालेतिर ३९ सांसद मात्रै छन्।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सिताराम मेहताले पार्टीका निम्ति अहोरात्र खट्नेहरूलाई नै आज कांग्रेसले समेट्न नसकेकाले सबैलाई समेटेर लैजानुपर्ने बताए।

प्रकाशित: २३ आश्विन २०७८ १३:१३ शनिबार

प्रदेश १