राजनीति

नेपालको गुप्त प्रतिवेदन विदेश पुर्याउने काम गर्दै एनजिओ आइएनजिओ : बिजुक्छेँ

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले नेपालमा सञ्चालित गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था(एनजिओ÷आइएनजिओ)ले नेपालको गुप्त प्रतिवेदनहरु विदेश पुर्याउने काम गरिरहेको आरोप लगाएका छन्।

अध्यक्ष बिजुक्छेँले देशको सार्वभौमिकतामाथि आँच पुग्ने देशघाती एमसीसी सम्झौता खारेज गर्नुपर्नेमा जोड दिँदै एनजिओ र आईएनजिओहरुले नेपालका शासक दलहरुलाई आफूअनुकुल प्रभावमा पारिरहेको समेत बताए।वागीश्वरी कलेजको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा क्वालिटेटिभ एण्ड क्वान्टिटेटिभ विषयमा भएको तीनदिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले विकसित देशहरुले विकासको नाममा नेपाललाई दिइरहेको सहायताले देशलाई परनिर्भरतातर्फ धकेलिरहेको बताए। 

सो क्रममा उनले नेपालका सांसद, बुद्धिजीवीहरुलाई समेत प्रभावमा पार्दै एमसिसी नेपालको संसदबाट अनुमोदन गर्न विभिन्न षड्यन्त्रहरु भइरहेको समेत खुलाए। कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाभित्र सञ्चालित कलेजहरुलाई अनुसन्धानको केन्द्रको रुपमा स्थापित गर्न प्रयास गरिरहेको जानकारी दिए।

उनले पनि नेपालमा सञ्चालित गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारीको गतिविधिले विकासको नाममा दास बनाइरहेको र देशलाई उपनिवेश बनाउने खतरा रहेको औंल्याए। अरुको भरमा काम गर्ने मानसिकताले परनिर्भरतातर्फ धकेल्ने उनको भनाइ छ।

वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छाले शिक्षण—सिकाइको क्रियाकलापमा अनुसन्धानको महत्वबारे प्रष्ट पार्दै शिक्षक—कर्मचारीहरुले आफूमा भएको ज्ञान विद्यार्थीमार्फत उजागर गर्नुपर्ने बताए। कार्यक्रममा बागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले अनुसन्धानको महत्वलाई बुझेर बागीश्वरी कलेजले यस वर्ष २६ लाख बजेट विनियोजन गरेको जानकारी दिए।

प्रकाशित: २२ आश्विन २०७८ १२:३६ शुक्रबार

विश्वविद्यालय अनुदान आयोग नारायणमान बिजुक्छेँ