राजनीति

प्रहरीको मनोबल उच्च राख्न प्रधानमन्त्री देउवाको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरी अपराधको सञ्जाल र अवाञ्छित गतिविधि निस्तेज गर्न सक्षम रहेको बताएका छन्।

बुधबार प्रहरी दिवसका अवसरमा उनले निष्पक्ष अनुसन्धान र कानुन कार्यान्वयन कानुनी राज्यको आधार भएको तथा निष्पक्ष अनुसन्धानले पीडितलाई न्याय दिलाउनुका साथै राज्यमा दण्डहीनताको अन्त्य गर्नसमेत मद्दत पुग्ने तर्क गरेका थिए।  

‘कुनै पनि स्वार्थ तथा शक्तिबाट प्रभावित नभई निष्पक्ष अनुसन्धान कार्यमा नेपाल प्रहरीले सम्झौता गर्दैन भन्ने विश्वास लिएको छु,’ उनले भने, ‘हालको परिस्थितिको कुनै पनि पर्वाह नगरी संगठनका प्रत्येक सदस्यहरू पेशागत कर्तव्य पालनामा अझ उच्च मनोबलका साथ कार्य सम्पादनमा खटिने अपेक्षा लिएको छु।’  

उनले प्रहरी संगठनले थालेका सुधारका रचनात्मक कार्यलाई सफल तुल्याई नेपाल प्रहरीको संस्थागत विकासमार्फत् प्रभावकारी ढंगबाट प्रहरी सेवा प्रवाह गर्न आग्रह गरेका थिए। ‘कुनै पनि स्वार्थ तथा शक्तिबाट प्रभावित नभई निष्पक्ष अनुसन्धान कार्यमा नेपाल प्रहरीले सम्झौता गर्दैन भन्ने विश्वास लिएको छु,’ उनले भने, ‘विज्ञान र प्रविधिको तीव्र विकास भइरहेको वर्तमान अवस्थामा संगठित एवम् विद्युतीय सञ्जालमा आधारित भएर विश्वभर फैलिरहेको अपराधका नयाँ प्रवृत्ति र शैलीहरूप्रति नेपाल प्रहरी ज्यादै चनाखो र प्रभावकारी हुनु जरुरी रहेको छ।’  

समारोहमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल सरकारको एउटा अभिन्न अंगको रूपमा रहेको नेपाल प्रहरीले नागरिकको जीवन रक्षाको साथै शान्ति सुरक्षा सुव्यवस्था कायम गर्न, देशमा अमन चयन कायम गर्न, संविधानको रक्षा र विधिको शासनको पालना गराउन अंग्रपक्तिमा रहेर काम गर्दै आएको जनाएका थिए। 

‘अपराध नियन्त्रण र अनुसन्धान एवम् शान्ति सु–व्यवस्था कायम गर्न सबै सुक्षा निकायहरूलाई आधुनिकीकरण गर्न, साधन स्रोत सम्पन्न बनाई नयाँ चुनौतीको सामान गर्न सक्षम बनाउन वर्तमान सरकार संवेदनशील र गम्भीर रहेको छ,’ उनले भने, ‘बाढी, पहिरो तथा प्राकृतिक विपद् उद्धार, राहत र व्यवस्थापनदेखि कोभिड–१९ को महामारीको समयमा संक्रमणको प्रवाह नगरी अग्रपंक्तिमा नेपाल प्रहरीले आम नागरिकको जीवन रक्षाका लागि निर्वाह गरेको महत्वपूर्ण भूमिका निर्वाह गरेको हुँदा आगामी दिनमा नेपाल सरकार अझै प्रहरीमैत्री हुने र प्रहरीको क्षमता वृद्धिका लागि प्रतिबद्ध रहनेछ।’  

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी गतिशिल संगठन भएकोले यसको समुचित कार्य विशिष्टीकरण प्रहरीको ध्येय हुनुपर्ने बताएका थिए। ‘हाम्रो कर्मक्षेत्र पनि समाज र नागरिक नै हो,’ उनले भने, ‘यो कर्तव्यबाट न हामी विमुख हुन नै सक्छौं न समाजले हाम्रो विकल्प नै खोज्न सक्छ। 

यो अनन्त र अटुट सम्बन्धलाई प्रगाढ र विश्वसनीय बनाउनु हाम्रो व्यवसायिक धर्म हो।’ उनले प्रहरी प्रधान कार्यालयसँग आन्तरिक लिखतको रूपमा ‘नेपाल प्रहरीको कार्ययोजना २०७७’ रहेको उल्लेख गर्दै प्रहरी फिल्ड तहका प्रहरी कर्मचारीको मनोबल तथा प्रहरी कार्य प्रवाह सुदृढीकरण गरी प्रहरी सेवाको विश्वसनीयता अभिवृद्धि गर्न काम अगाडि बढाइएको बताएका थिए।  

समारोहमा प्रधानमन्त्री देउवाले प्रथम महिला प्रहरी सेवा निवृत्त प्रहरी सहायक निरीक्षक चैतमाया डंगोललाई ‘लाइफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गरेका थिए। त्यस्तै कर्तव्य पालनाको क्रममा वीरगति प्राप्त गर्ने यस वर्ष घोषित ३३ जना अमर प्रहरीमध्ये सात जना अमर प्रहरीका परिवारहरूलाई कदरपत्र प्रदान गरेका थिए। 

उनले नुवाकोट विदुर नगरपालिका–२ का अमर प्रहरी प्रहरी जवान मनोजकुमार हमालका छोरा हार्दिक हमाल र दोलखा लामिडाँडा–८ का अमर प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काकी छोरी सञ्जीवनी खड्कालाई अच्युत–मिना अमर प्रहरी परिवार पुरस्कार तथा वैतडी शिवनाथ–२ का अमर प्रहरी शेरसिंह साउदको छोरा अनिल साउद र सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ का अमर प्रहरी जवान रामबहादुर चौधरीकी छोरी नीमृत चौधरीलाई अच्युत–मिना अमर प्रहरी परिवार छात्रवृत्ति प्रदान गरेका थिए।

प्रकाशित: २१ आश्विन २०७८ ०५:१९ बिहीबार

उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवा